… जो ठमेलमा हराएर उदाए ठमेलमै
अशोक सिलवाल / म्हैपी, काठमाडौं ।
कविलासबासी काठमाडौंलाई ‘नेपाल’ भन्ने गर्थे । त्यहाँबाट ‘नेपाल’मा अन्नपात सप्लाई हुन्थ्यो । दक्षिणपट्टि लिखु र उत्तरपट्टि तादी नदीको बीचमा लमतन्न परेको नुवाकोटको कविलास डाँडोमा १६ साउन २०१९ मा जन्मेका दीपक महत केही बर्षअघि उनैले नामाकरण गरेको ‘ओखती डाँडो’मा उभिएर भन्दै थिए, ‘जीवनलाई स्वस्थ बनाउने सबैभन्दा अचुक उपाय भनेको चाँडै सुत्नु र चाँडै उठ्नु हो ।’
उनले भन्ने गरेको ओखती डाँडो बालाजुनजिक रहेको विष्णुमती किनारको म्हैपीको डाँडो हो । बर्षौं उनले त्यहाँ प्रभाती एक्सरसाइज गरे । त्यसले उनको शरीर विज्ञानमा औषधीकोे काम गरेको उनको ठम्याई छ ।
रानीबारीमा ढाढैबाट प्रस्ट देखिने ठुलै घर भएका उनी अतिततिर फर्कदैं भन्छन्, ‘अहिले काठमाडौंमा घर हुनेको त्यति महत्व छैन तर म सानो छँदा काठमाडौंमा डेरा हुनेको समेत भव्य महत्व हुन्थ्यो ।’ भरिया र चिउरेहरु क्षेत्रपाटी, सोह्रखुट्टेपाटि, साउनेपाटी, बगेनापाटीजस्ता विभिन्न पाटीमा बस्थे । तीबाहेककाहरु होटलको चलन नभएकोले डेरामा थुप्रन्थे रे । भन्दै थिए, ‘पाहुनाहरुलाई स्वीकार गर्दै डेरा चलाउन गाह्रो थियो ।’
‘एक पटक परिस्थितिले गल्कोपाखामुनिको गैरीधाराछेउको एउटा पाटीमा पनि बास बसेको थिएँ’, उनले सम्झे, ‘म ११ बर्षको हुँदा कविलास घरबाट मामाघर झिल्टुङ एक्लै गएको र केहि दिनपछि झिल्टुङबाट पनि काठमाडौं हानिएको त दाजुहरु बस्ने गरेको ठमेलको डेरामा तालाबन्द । कहाँ गएको हो पत्तै छैन । सोधीखोजी गर्दा माहिला दाजु जितेन्द्र महत ‘अभिलाषी’ काठमाडौं बाहिर गएको खबर पाएपछि आत्तिएर त्यति बेला ‘ठमेल डाँडो’ भनिने अस्कल र सरस्वती कलेजको बीचमा पर्ने गल्कोपाखामाथि पुगेर गाउँको मान्छे पाइन्छ कि भनेर खोज्दा मलाई चिनेका तर मैले नचिनेको गाउँकै ढाक्रेहरु फेला परे । र, उनीहरुकै सल्लाहले उनीहरु बास बस्ने गल्कोपाखामुनिको गैरिधाराछेउको एउटा पाटीमा उनीहरुसँगै बिताएको रात जीवनकै विशेष रात रहेको महसुस हुन्छ । गाउँकै ढाक्रेहरु भए पनि आफुले नचिनेको कारण रातभरी उनीहरुप्रतिको शंका र विश्वास अनि आशा र निराशाको दोधारमा त्यो रातभरी निद्रा नलागेको अझै सम्झना छ ।’
कतिपय स्थानीयहरु ढिकीमा रातभरि चिउरा कुट्थे । हरेक दिन ८–१० भारी चिउरा काठमाडौं उक्लिन्थ्यो । सदरमुकाम त्रिशुलीभन्दा कविलासबासीका लागि काठमाडौं नजिक थियो । किनमेल गर्न गाउँले काठमाडौं आउँथे । काउली र लसुनजस्ता आधुनिक तरकारी काठमाडौंबाट कविलास पुग्थ्यो । तत्कालीन कविलासको समाजिक आर्थिक चक्र कृषिमा आधारित थियो ।
सामाजिक रुपमा मिश्रित जातिको बसोबास भए पनि गाउँ महत र मिश्र परिवारको डोमिनेशनामा थियो । ०४६ सालको आन्दोलनअघि र पछि समेत गाउँ प्रमुख महत वा मिश्र मात्र हुन्थे ।
उनले चौरमा सिलोटले कोर्दै बाह्रखरी चिने । बाह्रखरी चिन्दाचिन्दै गाउँमा स्कुल बन्यो । अहिले उच्चमावि भइसकेको त्यही राष्ट्रिय प्राविमा उनले कक्षा ५ सम्म पढे ।
नाताले उनको काका पर्ने डम्बरसिहं महतसँग गाउँका बच्चाहरु डराउँथे । उनले टेक्ने लौरोको एक छेउ बाघको टाउको आकारको थियो । बच्चाहरुलाई अत्याउन उनी त्यही टाउको देखाउँथे । आम बच्चाजस्तै उनी पनि त्रसित हुन्थे । यसरी डम्बरसिहं गाउँमा बालबालिकाका लागि हिन्दी चलचित्र सोलेको गब्बरसिहंजस्ता भयानक पात्र भएका थिए ।
४ कक्षामा पढ्दाको कुरा हो । स्कुलको हाफटाइममा वरिपरि रहेका बारीतिर अम्बा चोर्नु नियमितताजस्तो भएको थियो । उनी अम्बा चोरेर खाने क्रममा डम्बरसिंहकै बारीको बोटैमा थिए । अम्बा टिप्दै खाँदै थिए । अम्बाको बोटमुनि डम्बरसिंह एकाएक आइपुगे । लोटामा पानी लिएर आएका डम्बर शौच गर्न बसे । सासै रोकेर दीपक बोटमै बसिरहें । । तर, बुढाले छिटै शौच गरिसक्ने छाँट आएन । कुर्दाकुर्दा दिक्क भएपछि रुखबाट डम्बरकै अगाडि फाल हालेर कुलेलाम ठोके ।
गाउँका भुराहरुलाई तर्साउने बुढा त्यो दिन आफै तर्सेर ‘को हो ?’ भन्दै लौरो झट्कार्दै थिए । त्यति बेलासम्म दीपकभित्रको त्रास हाँसोमा बदलिसकेको थियो । उनले कक्षामा पुगेर डम्बरसिंह उर्फ गब्बरसिंहलाई छक्याएको पुरुषार्थको कथा सुनाए ।
वीररसले भरिएका उनका कुरा सुनेर साथीहरु जिल्लै परे ।
तर, उनको जीवन वियोगबाट सुरु भएको थियो । उनी ७ बर्षका छँदा आमाको मृत्य भयो । आमाको मृत्युमा उनले दाइदिदी रोएको त देखे । त, उनले रुन जानेनन् । उनले डालो बोके । तर, किरिया गरेनन् ।
बुबाको मृत्यु उनी ११ बर्षको हुँदा भयो । उनी घाट गएनन् । छहरेको ब्रम्हक्षेत्रमा बुवाको शव जलिरहेको दृश्य घरमाथिको डाँडाबाट उनले पुरै समय हेरे ।
गाउँका पुरुष जति मलामी गएका थिए । बाँकी रहेका महिलाले उनलाई हेर्दै ‘बिचरा !’ भन्दै गरेको ‘च्व च्व !’ उनलाई बाबुआमाको मृत्युभन्दा भयानक लाग्यो । उनले बाबुआमा बिनाको जीवनलाई स्वीकारिसकेका थिए तर आफन्तले विचरा वा टुहुरो भन्दा उनलाई बेस्सरी दुख्थ्यो ।
स्कुल पढ्दाताकाका अनेक तीता सन्दर्भ छन् उनीसँग । उनले लाउने लुगा थोत्रा थिए । पछाडिपट्टि प्वाल परेको कुट्टुको प्वाल लुकाउन पछाडि हात राखेर समेत हिंड्थे । उनी फेसनबेल थिएनन् र उनको डिमान्ड पनि थिएन ।
उनीसँग साढे सात रुपियाँ थियो । कट्टु र सट् सिलाउनु पर्ने थियो । साढे ७ रुपियाँ थियो । तर, त्यतिले पुग्दैन, पन्ध्र रुपियाँ जति लाग्थ्यो भन्ने उनलाई थाहा थियो । तर, उनले सुरुमै कपडा काट्न लगाए । सुरुमा दिदैन कि जस्तो लागेको थियो ।
धेरै समयपछि उनले बाँकी पैसा तिरे । तर, परिवारमा उनले यो कुरा थाहा दिएनन् । कलेज पढ्दा पनि उनीसँग एकजोर लुगा थियो । साथीहरु उनको पाइन्टले आलु काट्छ भन्थे । तर, उनीसँग आइरन थिएन । उनी धोबीकहाँ गएर आइरन गर्थे । हरेक दिन धोइपखाली आइरन लगाएर हिंड्ने भएकोले बाहिर अरुले उनको अभाव देख्दैन थिए ।
गाउँ छाडेर छिमेकी गाविस खरानीटारको अमरज्योति निम्न मावि (हाल उमावि) ६ कक्षा पढे । त्यसपछि चौघडाको क्षेत्रपाल माविमा भर्ना भए । डेरामा बसेर पढेका उनी हरेक शुक्रबार स्कुलबाट सिधै घर आउँथे । आइतबार सिधै घरबाट स्कुल पुग्थे । किताबसँगै एक सातालाई पुग्ने सामल पनि बोकेर लैजान्थे ।
स्थानीय पञ्चायती नेता नरबहादुर राई उनका घरपेटी थिए । राईको भद्रता समकालीन राजनीतिमा चर्चाको विषय थियो । त्यो भद्रताको प्रतिफल उनले पनि प्राप्त गरे । उनका लागि पनि राईकै भाञ्छामा खाना पाक्न थाल्यो ।
स्कुलमा चार शहिदका नामका चारवटा सदनमध्ये उनी शुक्र सदनमा थिए । खेलकुदमा सहभागी नभए पनि सदनको उच्च स्कोरका लागि उनको उपस्थिति महत्वपूर्ण हुन्थ्यो । साहित्य, हिज्जे, आदिमा उनी अब्बल थिए । त्यसरी शुक्र सदन प्राय पहिलो हुन्थ्यो ।
०३७ सालमा उनले एसएसली गरे ।
एसएलसीको रिजल्ट हुनुअघि गाउँमा पढाए पनि । काठमाडौं आएपछि निजी क्षेत्रको पहिलो क्याम्पस रत्नज्योती बहुमुखी क्याम्पस ठमेलमा भर्ना भए । सडक विभाग, जाउलाखेल र पाटनकै जिल्ला शिक्षा शाखामा काम गरे ।
विद्यार्थी राजनीतिमा लागेकोले जागिरलाई समय दिन सकेनन् । शीतलनिवास अगाडिको चारतारे स्तरको होटल काठमाडौं निर्माणाधीन थियो । त्यहाँ स्टोरकिपरको रुपमा काम गरे । तर, त्यहाँ पनि उनी टिक्न सकेनन् । छोटो समय उनले ट्युसन पनि पढाए । त्यसपछि उनी चारखालमा लेखनदाश भए । घुँडामा नेपाली कागज राखेर अनेक कानुनी व्यहोरा लेख्न थाले । त्यो मन लाग्दा गर्न र मन नलाग्दा नगर्न स्वतन्त्र पेशा थियो ।
तर, त्यो काम गर्दा चिनेको मान्छेले देख्छ कि भनेर उनी लजाउँथे । विरासतमा आएको ‘महतकाजी’ मनोविज्ञान थियो त्यो । कहिले एकै दिनमा पाँच सय कमाउँथे त कहिले ५ रुपियाँ मात्र ।
घरमा माओत्सेतुँगको ‘चुनिएका रचनाहरु’ शीर्षकका किताबहरु थिए । ती राता सेन्थेटिक खोलका किताब थिए । त्यो रातो खोललाई च्यातेर पर्सको रुपमा उपयोग गर्थे । त्यसरी उनी साथीहरुको अगाडि विशेष हुन्थे ।
त्यही किताबमा माओको फोटोभन्दा अघिल्लो पारदर्शी पाना हुन्थ्यो । त्यो पनि च्यात्थे । त्यसलाई पनि रातो पर्सभित्र सजाउँथे । तर, किताबमा लेखिएका सामाग्री एसएलसी अगाडि उनले कहिल्यै पढेनन् ।
२०३६ सालमा जनमतसंग्रह हुँदा उनी अलि कन्सस् भइसकेका थिए । उनी बहुदलको पक्षमा लागे । बहुदलको रंग नीलो थियो भने पञ्चायतको पहेंलो ।
उनी र भतिज पर्ने दीवाकर स्थानीय पञ्चहरुको टाउको दुखाईको पात्र बने । नीलोको पक्षमा उनीहरुले गाउँका प्रत्येक भित्ता रंगाए । ढुँगाहरु समेत छाडेनन् । पोस्टर टाँसे । डिस्कस गरेर थाकेनन् । उनीहरु त्यसरी पञ्चायतविरुद्ध लागे ।
जनमतसंग्रह भयो । बहुदल प्रतिकुल परिणाम आएपछि निराशा स्वभाविक थियो । तर, धाँधली गरेर पञ्चायतले जितेको हो भनेर भन्न पनि उनीहरु कहिल्यै थाकेनन् ।
गाता झिकेर बाँकी रहेका राता किताबका भित्री पानाहरु त्यसपछि मात्र उनले पढ्न थाले । उनलाई कसैले काँगेस वा कम्युनिष्ट बन्नु पर्छ भनेका होइनन् । तर, उनले राता किताब जब पढ्न थाले उनी मनैदेखि कम्युनिष्ट क्रान्तिकारी भइसकेका थिए । तर, त्यसअघि राजनीतिक रुपमा सचेत नहुँदै राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मन्डलको एक रुपियाँ तिरेर सदस्य बनेका थिए । सो रकम भद्र पञ्च घरपेटी नरबहादुर राईले हालिदिएका थिए । पछि त्यो संगठनलाई मन्डले पनि भनियो ।
उनी कलेजमा स्वतन्त्र विद्यार्थी युनियनमा सचिव हुँदै अध्यक्षमा निर्वाचित भए । माउ संगठन मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल भएको अखिल छेठौंको तर्फबाट उनी कलेज राजनीति गर्दै थिए । अखिल छैठौको भारतको गोरखपुरमा सम्पन्न अधिवेशनबाट उनी केन्द्रीय सदस्य भए भने देव गुरुङ अध्यक्ष बने । कृष्ण महरा, लेखराज भट्ट, हरिभक्त कडेंललगायत पनि केन्द्रीय सदस्य भए ।
सेक्टर कान्डलाई माओवादी जनयुद्धको भ्रुण पनि भन्ने गरिएको छ । ०४३ बैशाख २४ गते हुने भनिएको पञ्चायती आम चुनाव सक्रिय बहिष्कार गर्ने क्रममा ०४२ साल चैत्र १९ राती काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण छिमेकी प्रहरी पोस्टका नामले स्थापित भएका प्रहरी बीटमाथि एकैसाथ आक्रमण भयो । त्यसको प्रमुख अगुवाई गरेवापत ०४३ वैशाख १८ गते ठमेलको सरस्वती क्याम्पसमा एक कार्यक्रमलाई सम्बोधन गरेर निस्किँदै गर्दा उनी गिरफ्तार भए । राजकाज अपराध अन्तर्गत मुद्धा चलाई करिब २ महिना प्रहरी कस्टडी भयो । २ बर्ष जेलको सजायँ तोकियो ।
जेल सुधारको लागि ८ दिनसम्म अनसन बसे । अहिले त उनी जति पनि भोकै बस्न सक्छन् । तर, त्यति बेला घरमा एक छाकी हुँदा बिहानैदेखि भोक लाग्थ्यो । उनीहरुले जेलभित्रको करेसाबारीमा तरकारी लगाएका थिए । भेट्न आउनेलाई जेलबाट उनीहरुले काउली समेत पठाएका थिए ।
जेल बस्दाबस्दै उनलाई विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष पनि बनाइयो । तर, २ बर्ष बिताएर जेलबाट निस्कँदा उनी पार्टी व्यवस्थापनसँग सन्तुष्ट थिएनन् । पार्टीको निर्देशनमा सेक्टर कान्ड भयो । त्यसैले उनीहरु गिरफ्तार भए । जेल परे । तर, पार्टीले त्यसको जिम्मेवारी लिएन । विज्ञप्ति समेत निकालेन रे ।
काठमाडौंमा रहेका अगुवा नेताहरु उनकै शब्दमा ‘हामी जेल परेपछि आत्मसुरक्षाको भावना बोक्दै पलायन भए । ममा जिम्मेवारी लिएर सक्रिय हुने चाहना र नेताहरुप्रतिको विश्वास मर्न थाल्यो ।’
पार्टी जिम्मेवारीबाट टाढा हुँदै निष्क्रिय समर्थन जनाउने स्थितिमा उनी पुगे । ०५२ फागुनदेखि जनयुद्ध गर्ने पार्टीको निणर्य भयो । भन्छन्, ‘तर पनि पार्टीको खास तहसम्मको जिम्मेवारीमा रहिरहेको हुँदा जनयुद्धसँग सम्बन्धित निणर्य अनुसार पार्टीले समर्थन गरेको रिमसँगको सम्बन्ध तथा सम्पर्कको पुलको रुपमा काम गर्ने जिम्मेवारी पुरा गर्दै गइयो ।’
त्यति बेला संचार सम्पर्कको अवस्था अहिलेजस्तो सहज थिएन । उनले पर्यटन व्यवसाय सुरुवात गरिसकेका थिए । रिमसँग संचार सम्पर्क गर्न उनीसँग भएको फ्याक्स मेसिन प्रयोग गर्नु पार्टीको लागि बढी सुरक्षित र गोपनीय हुन सक्थ्यो । त्यसैगरी रिमसँग सम्बन्धित केही विदेशीहरु नेपाल आउँदा उनी आफू पर्यटन क्षेत्रमा भएकोले उनीहरुको बसोबास र आवश्यक व्यवस्थापन उनले नै गर्नु पथ्र्यो । यसर्थ जनयुद्धका अन्तरघोषित कार्यक्रम र त्यसका तयारीबारे उनी पूर्ण जानकार थिए । तर, आत्मसुरक्षालाई प्रधानता दिने पार्टीका अगुवाहरुले जनयुद्ध गरिखान्छन् अनि देश र जनताले मुक्ति प्राप्त गर्छन् भन्ने कुरामा उनलाई कत्ति पनि विश्वास थिएन ।
फलत जनयुद्ध सुरु हुने बेलासम्म पर्खिनु वा जनयुद्धमा सहभागी हुनु उनको लागि सम्भव थिएन । त्यसै अवस्थामा २०५१ कात्तिकमा सम्पन्न हुने गरी देशमा मध्यावधि निर्वाचन घोषणा भयो । जनयुद्ध सुरु भइसकेपछि पार्टी छोड्नु पर्दा थुप्रै समस्या आइपर्न सक्थे । जनयुद्ध सुरु हुनु एक बर्ष अगावै उनले पार्टी परित्याग गरे । मध्यावधि निर्वाचनकै दौरानमा राजनीतिक परिवर्तनको सोचसाथ नेपाली काँग्रस प्रवेश गरे ।
उनलाई लाग्छ, ‘भोलिका दिनमा राजनीति गरियो वा गरिएन भने पनि व्यक्तिको सम्बन्ध जबसम्म उत्पादनसँग जोडिदैन, तबसम्म राजनीति गर्दा वा विशुद्ध पारिवारिक वा सामाजिक जीवन चलाउँदा व्यक्तिको भुमिका कसैका लागि पनि प्रेरणादायी बन्न सक्दैन । बाध्यात्मक रुपमा उसको संलग्नता भ्रष्ट आचरणसँग जोडिन पुग्छ । यसर्थमा श्रमप्रति प्रेम अनिवार्य शर्त हो ।’
तर, कम्युनिष्ट पार्टीमा काम गर्दा उनले एउटा महत्वपूर्ण कुरा सिके, ‘श्रमलाई माया गर्नु पर्छ ।’ तर, उनको व्यक्तिगत स्वभाव कसैको मातहतमा नभई समूहमा अगुवाको हैसियत कायम गर्दै श्रम रुचाउने भएको हुँदा उनको रोजाईमा पर्यटन क्षेत्र पर्यो । कामदारको रुपमा नभएर कम्पनी संचालककै रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरे ।
व्यवसायपूर्वको राजनीतिक सक्रियताको प्रभाव उनको पछिल्लो व्यवसायिक जीवनमा पनि टुटेको छैन । त्यसैको कारण पर्यटन क्षेत्रमा पनि विभिन्न संघ संस्थामा अगुवाको भुमिकामा छन् । एड्भेन्चर थर्ड पोलका प्रबन्ध निर्देशक महत नेपाल पर्यटन व्यवसायी संघ (निट)का अध्यक्ष हुन् । नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल मेनेजमेन्टका पूर्व बोर्ड सदस्य उनी टेकिङ एजेन्सिज एशोसिएसन अफ नेपालका पूर्व अध्यक्ष पनि हुन् । हाल उनी नेपाल पर्यटन बोर्डका सदस्य पनि छन् ।
पर्यटन क्षेत्रमा लागेर क्यानडा, अमेरिका, अष्ट्रेलिया, वेलायत, हङकङ, थाइल्यान्ड, फ्रान्स, भारतलगायतका देश घुमिसकेका उनलाई सानो छँदा बदाम एकदम मन पथ्र्यो । बदामको सिजन हुन्थ्यो । सधैं बदाम प्राप्त गर्ने एउटा उपाय उनको आफ्नै घर थियो । जहाँ बीउको लागि भनेर घ्याम्पोमा बदाम भरिन्थ्यो । घ्याम्पोको मुखमा केही पराल कोचेर माथिबाट गोबर र माटोले लिपेर बन्द गरिन्थ्यो । जसलाई बदामको बीउ छर्ने बेलामा मात्र खोलिन्थ्यो । घ्याम्पोको मुख नचलाई परिवारका सदस्यहरुको जानकारी बेगर बर्षभरि बदाम चपाउने उपाय सोचे । घ्याम्पोको पीँधमा हँसियाको टुप्पोले खोपे । दुईटा औंला छिर्न सक्ने प्वाल पारे । त्यसपछि बदाम चोर्ने दैनिक श्रृंखला सुरु भयो । देख्दा घ्याम्पो जहाँको तहीं र जस्ताको तस्तै थियो ।
बर्षको अन्त भयो । बदामको बीउ खोजियो । त्यो दिन बेलुका घर आइपुग्दा उनको सातो गयो । बदामको बीउ खोज्दा घ्याम्पो रित्तो भएको परिवारका सदस्यले थाहा पाइसकेछन् । परिवारमा भएका सदस्यमध्ये त्यो काम दाजु र भाउजुबाट हुन सक्दैन थियो, उनीबाहेक ।
अर्थ त्यही नै लागेछ । अब त्यस बर्ष बदाम नछरिने भयो । तर, अहिले उनी आफ्ना अनुभवले पर्यटन क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भनेर आइडिया छरिरहेका छन्, पर्यटनका विभिन्न पुस्तासँग । तात्कालीन टुरिज्म डेभलपमेन्ट बैंकका बोर्ड सदस्यसमेत रहिसकेका महत ‘पर्यटन व्यसायी कम बरु अभियन्ता बढी’ भएका छन् । उनी नेपाली पर्यटन क्षेत्रमा एउटा अनिवार्य नाम बनिसकेका छन् ।
नजिकबाट मैले चिनेका उनमा अरु अनेक विशेषता छन्, जसले मलाई इमान्दार रहन, मिहनेत गर्न र कुनै पनि काम मनैदेखि गर्न झन् प्रेरित गर्छन् ।
उनीबारे मार्च २५, २०१५ मा ‘जो ठमेलमा हराएर ठमेलमै उदाए …’ शीर्षकमा मैले फेसबुकमा लेखेको रहेछु, ‘सानो छँदा एक दिन ठमेलमा हराए उनी । बाल्यकालको त्यो अनुभव रोचक मात्र होइन, मार्मिक पनि छ । तर, धेरै बर्षपछि उनी ठमेल अर्थात पर्यटनका हस्ती भइसकेका छन् । पर्यटन अभियन्ता, प्रशिक्षक र व्यवसायी महत टीमवर्कमा विश्वास गर्छन् । त्यसैले उनको प्रभाव लोभलाग्दो छ । के मैले गलत भनें ?’
डिसेम्बर ११, २०२० मा पनि मलाई उनले गलत पुष्टि गरेका छैनन् । धन्यवाद !
सारै संघर्ष सिल जीवन बिताउनु भएको रहेछ दाजुले, यो लेख पढ्दै गर्दा बाल्यकालदेखि हालसम्मको सम्पूर्ण तितामीठा अनुभ हरुको संगालो जान्ने मौका पाए। दाइको अनुभवहरुले उत्कृष्ट मार्ग निर्दृष्ट गर्दै सफलताको शिखर चुमोस, यही नै शुभकामना।
हजुरको समिपमा मैले पनि करिब डेढ बर्ष बिताउने अवसर पाएको थिएं । मैले जिवनमा भेटेको सबै भन्दा ठुलो महापुरुष हजुर नै हो । किताबी ज्ञान विश्वविद्यालय मा सिकेको हुंला तर जिवनको यथार्थ ज्ञान हजुर बाटै सिकेको हुम । हजुर मेरो साक्षात् देवमुर्ति हो । हजुरको समिपमा केहि क्षण बस्न मात्रै पाउदा पनि अनन्त आनन्द आउछ्ं ।
मैले पनि सन् १९९५ देखि १९९७ सम्म दीपक महत ज्यू को ट्रेकिङ कम्पनीमा गाइडको रूपमा काम गर्ने अवसर पाएको थिएँ, उहाँ जस्तो बौद्धिक, मिजासिला र उत्प्रेरक व्यक्ति सायद त्यो बेलाको ठमेलमा कोही कसै सँग थिएन । उहाँ सँग बिताएको त्यो पल अझै सम्म मानसपटलमा रही रहेको छ, …जो ठमेलमा हराएर उदाए ठमेलमै भन्ने उहाँको आत्म वृत्तान्त पढ्ने अवसर पाएँ, उहाँ प्रतिको भरोसा अझै बढेर आयो। उहाँ सँग काम गर्दाको समय मेरो लागि सार्है अविस्मरणीय छ, दीपक सर तपाईँ प्रतिको विश्वास कहिलै काम हुने छैन ।