देश–दुनियाँलाई दार्खाको सन्देशः हिँडे पुगिन्छ
राजन सिम्खडा
गणेश हिमालको दक्षिण काखमा रहेको रमाइलो गाउँ दार्खामा प्रत्येक वर्षझैं महान् चाड दसैंको रमझम होला । म भने जीवनमै पहिलोपल्ट त्यस्तो रौनकबाट निकै टाढा छु ।
सन् १९९७ को सेप्टेम्बर । आफ्नो महत्वपूर्ण चाड घरमा मनाउन नपाएको पीडा मनभरि बोकेर धौलागिरि र नीलगिरि हिमालको उत्तरी अनकन्टार पठारको ट्रेकिङमा गाइडको रूपमा खटिएको छु । सामुन्नेमा हाँसिरहेको धौलागिरि (८१६७ मिटर) र अर्कोतिर टलक्क टल्किएर बसेको नीलगिरि (७०६१ मिटर) ले पर्यटकलाई आकर्षित गरिरहेका छन् । मेरो मन भने आफ्नै जन्मभूमि दार्खामै पुगिरहेको छ ।
इन्डियन र युरोसियन प्लेटको घर्षणबाट उत्पन्न ती हिमालका बीचबाट कालीगण्डकी नदी कलकल बगिरहेको छ । यो विश्वमै दुर्लभ मानिने शिला शालिग्राम पाइने एक मात्र नदी हो । जसलाई हिन्दुहरु विष्णु भगवानको अवतार मान्दछन् ।
धौलागिरि र नीलगिरिभन्दा पनि पुरानो मानिन्छ कालीगण्डकी । म भर्खर यौवनावस्थामा टेक्दै गरेको ठिटो । मनमा खिन्नता छ तर अनकण्टार पठारमा बिल्कूलै नयाँ अनुभव सङ्गाल्दै छु । उत्तरतिर हिमाल हेरेर हुर्किएको म दक्षिणतिर हिमालहरू देखिरहेछु र कालीगण्डकीको उल्टो धारतिर अघि बढिरहेछु । भूगर्भअध्येता अमेरिकी दुई पर्यटकका साथ कुक, पोर्टरहरूसहित हिमालपारिको जिल्ला मुस्ताङको ३७ दिने क्याम्पिङ टे«किङमा छु म । म मात्रै होइन, भूगर्भअध्येता दम्पती डेमियान हड्किन्सन र कार्मेला गार्जियानेका लागि पनि यो नौलो अनुभव हो ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको नेपाली भूमि मुस्ताङको हजारौं वर्ष पहिले र अहिलेको भौगोलिक विविधता र परिवर्तनबारे अध्ययन गर्न आएका हुन् उनीहरू । कुनै बेला समुद्रको पिँधमा रहेको मुस्ताङ क्षेत्रमा पहाड र हिमाल कसरी बने ? खोला कहाँबाट निस्कियो ? वातावरणीय प्रभाव कस्तो प-यो ? यस्तै यस्तै प्रश्नको उत्तर खोज्दै उनीहरू अर्को गोलाद्र्धबाट यहाँसम्म धाएका छन् । विभिन्न उपकरणका माध्यमबाट यस क्षेत्रको माटो, ढुङ्गा, पानी र वनस्पतीको अध्ययन गर्न उनीहरू तल्लीन छन् । म भने आफ्नै दुनियाँमा हराइरहेको छु – रमणीय दार्खाकै दसैंको रमझम सम्झेर । पर्वतको कुश्मादेखि कालीगण्डकीको किनारैकिनार बागलुङ, बेनी, जोमसोम, कागबेनी, छुक्साङ, तेताङ हुँदै अघि बढ्दा बाटोमा देखिने गज्जबको ‘ल्यान्डस्केप’सँग पर्यटकहरू भुतुक्कै हुन्थे तर मेरो मन रोमाञ्चित बन्न सकिरहेको थिएन । समुद्रको पिँधमा ज्वारभाटा उठेर बनेका जस्ता देखिने ढुङ्गा अनि कालो, रातो आदि रङ्गीचङ्गी माटो मिसिएको अनौठो भूमि । ठाउँठाउँमा हिंड्न अत्यन्तै अप्ठ्यारो । पहराबीचको बाटो । कतै भीरमा माथिबाट सररर खसिरहेका ढुङ्गा, गेगर छल्दै अघि बढ्नुपर्ने । जोखिमयुक्त बाटो छिचोल्दै अगाडि बढ्दा बीचबीचमा पाटनजस्ता फराकिला क्षेत्र भेटिने । ओल्लो छेउमा बसेर हेर्दा पल्लो कुना नदेखिने । तिनै विशाल मैदान र अप्ठेरो बाटो छिचोल्दै हामी दसैंको महाअष्टमीका दिन डाकमार पुग्यौं ।
भ्रमण दलमा सामेल हामी नेपालीले महाअष्टमीका दिन एउटा मरन्च्याँसे च्याङ्ग्रा ‘मारेर’ चित्त बुझायौं । एक–दुई दिन डाकमारमै बसेर दसैं मनाउने सल्लाह ग¥यौं । तर पर्यटकहरूले त्यसरी बसेर दशैं मनाउन दिएनन् । हामीले हिंड्नलाई पैसा तिरेको हो, बस्नलाई होइन भने । महानवमीको बिहानै लोमान्थाङ जानुपर्ने भयो । पर्यटकहरूलाई हाम्रालागि दसैं कति ठूलो चाड हो भन्ने बुझाउन सकिएन ।
नेपालमा घटस्थापनादेखि पूर्णिमासम्मका पन्ध्र दिन हामी निकै उल्लासमय परिवेशमा दसैं मनाउँछौं । ऋण–धन गरेरै भए पनि मिठो–मसिनो खान्छौं । राम्रो लगाउँछौं । हाम्रालागि वर्षायामपछिको यही शारदीय चाड साँच्चै गज्जबको अवसर बन्ने गर्छ – आफन्तजन र इष्टमित्रसँग भेटघाट हुने र आपसी शत्रुता, रिसराग त्यागेर मनको मैलो पखाल्ने । आसुरी शक्तिविरुद्ध दैवी शक्तिको, असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने यो चाडको पौराणिक, सांस्कृतिक र आध्यात्मिक महत्व बाइबलका पाना पढेर हुर्किएका उनीहरूले बुझुन् पनि कसरी ? हुन त यो हाम्रो समस्या थियो, उनीहरुक होइन । नीलगिरि हिमालको आधार क्षेत्रबाट कुनै पन्छी आकाशमा कावा खाँदै स्वाट्ट तल वनतर्फ झरेझैं मेरो मन घरिघरि गणेश हिमाल काखको उही दार्खा गाउँकै सेरोफेरोमा पुगिरहन्थ्यो ।
म कल्पना गरिरहेको हुन्थें– आहा, देशभरका पहाडी भेगका गाउँहरूमा जस्तै दार्खामा पनि दसैंको रमझम छाइरहेको होला ! घटस्थापनादेखि शक्तिस्वरूपा नवदुर्गाको विशेष पूजाअर्चना गरी महाअष्टमीका दिन बोका, कुखुरा, हाँस, राँगो, सुँगुर, कुभिन्डो आदि बलि दिइने क्षण झल्झली आइरह्यो । सिम्ले शिखर चौतारा, घम्सा, बिसान चौतारा माझगाउँ आदि ठाउँमा शुरवीरहरूबीच राँगा मार हान्ने प्रतिस्पर्धा चलेको अनि रोटे पिङ, लिङ्गे पिङमा केटाकेटी, तन्नेरीदेखि बूढासम्म चहैचहै भन्दै मच्चिएको क्षण सम्झँदा मनै फुरुङ्ग हुन्थ्यो । तर के गर्न ु ! दार्खाको दसंैको रमझम ‘आकाशको फल आँखा तरी मर’ सरह भएको छ अनि अनकन्टार पठारमा पर्यटकको अहोरात्र सेवा वास्तविकता । त्यसैले वास्तविकता स्वीकार्दैै अघिल्लो दिन ‘मारेको’ च्याङ्ग्राको बाँकी मासुसमेत बोकेर घरगुम्बा हुँदै लोमान्थाङतर्फ बढ्यौं । आठ–नौ घण्टा लगातार उकाली–ओराली गर्नुपर्ने । दसैं मान्न नपाउनुको पीडा एकातिर छँदैछ, अर्कातिर कहालीलाग्दो भीरको अप्ठ्यारो बाटो । जीवनमै यति नरमाइलो कहिल्यै लागेको थिएन । लोमान्थाङ पुगेको पहिलो बिहानबाट भने दसैंका मुख्यमुख्य दिन बितिसकेकाले होला, सायद मेरो मन पनि हल्का भयो । सारा थकान र निराशा प्रकृतिको विराट सौन्दर्यभित्र विलिन भए । निराशाको बाक्लो कुहिरो फाट्यो र आशाको नयाँ क्षितिज उघारियो । वास्तवमै लोमान्थाङ पुगेपछि मेरो मनमा अँध्यारो हटेर उज्यालो छाएको थियो । यो पदयात्राक्रममा हामीले अँध्यारो र उज्यालो अन्तर, अझै भनौं उज्यालोको महत्व बुझ्न पाएका थियौं । मुस्ताङका विभिन्न गाउँको भ्रमण गर्नेक्रममा गिन्डियो खोलाकिनार क्याम्प लगाएका थियौं । एक दिन पर्यटकले गाउँभन्दा माथिल्लो भागको पानीको अवस्था अध्ययन गर्ने इच्छा व्यक्त गरे । दुई पर्यटक र म खोलाआसपासकै तेताङ गाउँभन्दा माथिल्लो भूभागमा उक्लियौं । पानीको ‘स्याम्पल’ संकलन गरेर तेताङ फर्कन लाग्दा झमक्कै साँझ प-यो ।
हिंड्दाहिंड्दै त्यो पहाडमा हामीले बाटो बिरायौं । जति प्रयास गर्दा पनि क्याम्प जाने बाटो फेला नपारेपछि एउटा अँध्यारो ओढारमा ओढ्नु न ओछ्याउनु चिसो सिरेटो झेल्दै भोकभोकै त्यो रात बितायौं । भोलिपल्ट हामीले देख्यौं, त्यहाँबाट लगभग ३० मिटरको दुरीमै रहेछ तेताङ गाउँ जाने मूलबाटो ! अँध्यारोले गर्दा त्यति नजिकको बाटो पनि पहिल्याउन नसकेकोमा चुकचुकायांै । त्यो उज्यालो बिहान हामी उज्यालोकै महिमा गाउँदै क्याम्प फर्कियौं ।
०००
यतिबेला हाम्रो देशले पनि निष्पट्ट अँध्यारो छिचोलेको छ र आशाको सुनौलो फाँट हाम्रो अगाडि छ । तर हाम्रासामु सही बाटो पहिल्याएर अघि बढ्नुपर्ने चुनौती छ । सोचविचार गरेर हिंड्न सकेनौं भने फेरि हामी अँध्यारोमै रुमल्लिन सक्छौं । जसरी हामीले मुस्ताङ पदयात्राको क्रममा बाटो बिराउँदा एउटा चिसो रात अँध्यारो ओढारमा कष्टसाथ फ्याउरो र हिमचितुवाको त्राससहित बिताउन बाध्य भएका थियौं ।
अपार सम्पदाले भरिपूर्ण हाम्रो देश लामो समयसम्म अन्धकारमा रुमल्लियो । कहिले राणाशासनको अन्धकार, कहिले निरंकुश पञ्चायती व्यवस्थाको अन्धकार अनि कहिले शाही शासनको अन्धकार । विभिन्न नामका अन्धकारमा रुमल्लिनुपर्दा देशले सही बाटो पहिल्याउनै सकेन । हामीले समृद्धिको बाटो समात्नै पाएनौं । राजनीतिक अँध्यारो नहटेसम्म आर्थिक समृद्धिको बाटो समात्न नसकिँदो रहेछ । २००७ सालदेखि २०६२÷०६३ सम्म जनताले उज्यालोका लागि पटक–पटक आन्दोलन गर्नुप¥यो । तिनै आन्दोलन र हजारौं सहिदको बलिदानको प्रतिफलस्वरूप २०६५ सालमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । जनताद्वारा दोस्रोपल्ट निर्वाचित संविधानसभाबाट २०७२ सालमा नयाँ संविधान जारी भएको छ । नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । सङ्घीय संरचनाअनुसार स्थानीय तह, प्रदेश र सङ्घका निर्वाचनमार्फत सरकारहरु गठन भएका छन् । अर्थात् राष्ट्रमा अन्धकारका मुख्य कारक हटेर सम्भावना र आशाको किरण झुल्किएको छ ।
यो राजनीतिक अनुकूलतामा अब हामीले हिजोका शासन र शासकलाई सरापेर सुख पाउँदैनौं, समृद्धिको मूलबाटो पहिल्याउनैपर्छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक र आर्थिक रूपमा अपार सम्भावनाले भरिएको मुलुकका जनता ‘गरिब’ रहनु सुहाउँदो कुरा होइन । कृषिप्रधान देशमा जन्मिएका हामीले खाद्यान्नका लागि अरूको मुख ताक्नु परेको छ । स्वदेशमा बाख्रापालन गरेरै पनि धनी बन्न सक्ने मुलुकका युवा वार्षिक डेढ–दुई लाख रूपैयाँका लागि खाडी मुलुकको प्रचण्ड गर्मीमा उँटको पछि लाग्नु परेको छ अथवा निर्माण मजदुर भएर अर्काको देश बनाइरहनुपरेको छ । देशमा अपार जलस्रोत छ तर हाम्रा खेतबारी सुख्खा छन् । कूल क्षमताको दुइ प्रतिशत मात्र जलविद्युत् उत्पादन गरेका छौं, सय वर्षमा । विश्वको दसौं उत्कृष्ट पर्यटकीय गन्तव्य हो हाम्रो मुलुक तर वार्षिक जम्माजम्मी दस लाख पर्यटकमै चित्त बुझाएर बस्नुपरेको छ । यस्तो विडम्बनाको अन्त्य अब गर्नैपर्छ ।
हामीसँग के छैन ? सबथोक छ । कलकल बग्ने खोला । छङछङ झर्ने झरना । चित्ताकर्षक ताल, पोखरी र कुण्ड । लेक, बेसी, उपत्यका, हरिया पहाड, समथर फाँट, सेता हिमाल र गहिरा खोंच । करिब ६ हजार साना–ठूला नदी । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षण केन्द्र । अनेक थरी चरा र पुतली । यार्चागुम्बालगायत कैयन जडीबुटी । प्रकृतिका अनुपम सौगातहरूले भरिपूर्ण छ हाम्रो मुलुक । भारतको पञ्जाब, जापानका खेतीयोग्य उपत्यका, चीनको ह्वाङ हो र इजिप्टको नाइल भ्यालीजस्तै कृषि उत्पादनका दृष्टिले उर्वरा मानिने काठमाडौंको जमिन र तराईको विशाल फाँट हामीसँग छ ।
प्राकृतिक सम्पदाका आधारमा हाम्रो मुलुक असाध्यै धनी छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा (८८४८ मिटर) देखि होचो भूभाग केचनासम्म । कोभन्दा को अग्लो भनी प्रतिस्पर्धा गरेजस्ता हिम शिखरहरु, तरेली परेका हरिया पहाडहरु तथा तराईका समथर फाँटहरु । हाम्रो मुलुक ट्रेकिङ, -याफ्टिङ, आइस स्केटिङ, क्लाइम्बिङ, बन्जी जम्पिङजस्ता साहसिक पर्यटनको खानी हो । हिमाल, पहाड र तराई क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्जहरू आफैंमा बोटानिकल गार्डेन हुन् ।
साँच्चै, प्राकृतिक र सांस्कृतिक विविधताले युक्त हाम्रो जस्तो मुलुक विश्वमै अर्को छैन । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो नेपाल । सदियौं पुराना मानव सभ्यता झल्काउने प्राचीन र ऐतिहासिक सम्पदा यहीं छन् । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी छ हामीसँग । स्वयम्भु, बौद्धनाथ, चाँगुनारायण, जनकपुरधाम, पशुपतिनाथजस्ता विश्वसम्पदा सूचीमा परेका बौद्ध र हिन्दु आस्थाका केन्द्रहरू पनि हामीसँग छन् ।
प्राकृतिक र सांस्कृतिक सम्पदाका दृष्टिले ‘सुनको थाल’ भएको हाम्रो राष्ट्रले बाँकी विश्वसँग ‘कनिका भिख’ माग्नु परिरहेको छ । घरभरि कपडा नरे नाङ्गै भनेजस्तो, घर धनधान्यले भरिपूर्ण छ तर घरधनी भोकै बसेजस्तो नियतीमा छौं हामी । यस्तो हुनु पक्कै पनि सुहाउँदिलो कुरा होइन । यस्तो असुहाउँदिलो कुरा कसरी सुल्झाउने भन्ने नै अहिले हाम्रालागि चुनौती हो ।
हाम्रो पौराणिक कथामा नमिल्दो शरीर र बाहन भएका तर अग्रपूजनीय पात्र छन्– गणेश । महादेव र पार्वतीका पुत्र गणेशको शीर हात्तीको छ भने बाँकी शरीर मान्छेको जस्तो । हेर्दा जति नै अनाकर्षक भए पनि हिन्दुहरूको कुनै यज्ञ वा पूजापाठमा सबैभन्दा पहिले तिनैको पूजा–अर्चना हुन्छ । ‘ॐ श्री गणेशाय नमः’ मन्त्र उच्चारण नगरी हिन्दुहरूको कुनै धार्मिक-साँस्कृतिक अनुष्ठान या कर्मकाण्ड सुरु नै हुँदैन । गणेशको पूजाअर्चना गरेर सुरु गरिएको जुनसुकै काम सिद्ध हुने धार्मिक विश्वास छ । नमिल्दो र असुहाउँदो कुराभित्र पनि सुहाउँदा र मिल्दा अपार सम्भावना हुन्छन्, तिनलाई जगाउन सके सबैले कदर गर्छन् भन्ने बिम्व पनि हुन्, गणेश । गणेश अर्थात बिध्नहर्ता, सिद्धिदायक ।
हाँत्तीसुँडे र भुँडे गणेशको बाहन भने मुसा, कस्तो अमिल्दो कुरा ! तर सानो भए पनि चलाख त्यही मुसोको सल्लाह मान्दा गणेशले महादेवबाट ‘पूजापाठ र अनुष्ठानहरूमा सबैभन्दा पहिले पुजिने’ वरदान पाएका हुन् भन्ने पौराणिक आख्यान छ । एकदिन महादेवले आफ्ना पुत्रहरू गणेश र कुमारलाई डाकेर अनौठो आज्ञा गरे, ‘तिमीहरू दुवै सुमेरु परिक्रमा गर्न जाओ । जो पहिले आउला, त्यसलाई म वरदान दिनेछु ।’ महादेवको आज्ञा आफैंमा अमिल्दो थियो । मयुर बाहन भएका कुमारसँग मुसा बाहन भएका भुँडे गणेशको सुमेरु परिक्रमा प्रतिस्पर्धा ! सुन्दै असुहाउँदो प्रतिस्पर्धा ।
पिताको आज्ञा सुन्नासाथ कुमार मयुरमाथि चढेर सुमेरु परिक्रमा गर्न उँडिहाले । गणेशलाई भने के गरौं, कसो गरौं भयो । चिन्ताग्रस्त बन्दै आफ्नो बाहन मुसोलाई भने, ‘हेर् मुसा, कुमार मयुर चढेर सुमेरु परिक्रमा गर्न उडिसके, तँ त्यस्तो छस्, म यस्तो छु । अब कुमारसँग के कसरी प्रतिस्पर्धा गर्ने लौ भन् त !’ जिउले सानो भए पनि बुद्धिले मुसो निकै चतुर थियो । भन्यो, ‘हे प्रभु मेरो सल्लाह मान्नुहुन्छ भने महादेव–पार्वती बसेको स्थानमा गई हात जोडेर प्रार्थना गर्नुहोस् । हे मातापिता मेरो सुमेरु पर्वत पनि हजुरहरू नै हुनुहुन्छ भनेर तीनपल्ट प्रदक्षिणा गर्नुहोस् । हजुरलाई अवश्य वरदान मिल्छ ।’ मुसोको त्यो भनाइले गणेशको मन छोयो र त्यही ‘फास्ट ट्र्याक’ अक्कल अवलम्वन गरे । गणेशले चलाखीपूर्वक आफूहरूकै प्रदक्षिणा गरेको देखेपछि महादेव प्रसन्न भएर आज्ञा गरेछन्, ‘हे गणेश, धन्य रहेछौ । तीन लोक (स्वर्ग, मत्र्य र पाताल) मा जहाँ पनि जुनसुकै शुभ कार्य प्रारम्भ गर्दा पहिले तिम्रो पूजा हुनेछ । तिम्रो पूजा आराधना नगरीकन थालेको कुनै पनि अनुष्ठान सिद्ध हुनेछैन ।’
०००
पौराणिक कालमा गणेशले आफ्ना मातापितालाई सुमेरु मानेर प्रदक्षिणा गरेजस्तै गणेश हिमाल काखमा जन्मे–हुर्केको मेरो आस्थाको सुमेरु भनेको मेरै मातृभूमि नेपाल हो । विश्वका करिब तीन दर्जन मुलुक घुम्दा मलाई आफ्नो देशजति राम्रो र प्यारो अर्को कुनै लागेन । त्यसैले कैयौं दौंतरी र आफन्त विकसित मुलुकमा जमेर बसिरहँदा र नेपालमा अनेकौं अप्ठेरा, असुविधा र अस्तव्यस्त स्थिति हुँदा पनि मलाई आफ्नो देश छाडेर परदेशमा बस्न जान मन लागेन । अहिले पनि मेरा २०–२२ जना भाइभतिजा ‘कुमारहरू’ विदेशमै छन् । उनीहरू मलाई उतै आउन र स्थायी रूपमा बस्न बारम्बार आग्रह गर्थे, गरिरहेका छन् । तर म भने मातृभूमिकै परिक्रमामा रमाएर बसिरहेको छु । किनकि मैले यही भूमिमा स्विट्जरल्यान्डको सुन्दरता देखेको छु, अरब मुलुक र मलेसियामा जस्तै विशाल रोजगारीको सम्भावना देखेको छु ।
नेपालमै एक टुक्रा स्विट्जरल्यान्ड छ । यहीं एक टुक्रा दुबई, एक टुक्रा कतार छ । एक टुक्रा मलेसिया, एक टुक्रा कोरिया छ । एक टुक्रा भारत, एक टुक्रा चीन छ । अस्ट्रेलिया, अफ्रिका, अमेरिका वा युरोप पनि यहीं छन् । ‘नेपाल द वल्र्ड अफ इट्स आवन’ भन्ने नारा म सम्झन्छु, जुन केही वर्षअघि हामीले नै बनाएका थियौं, पर्यटन प्रवद्र्धनका लागि । साँच्चै नेपालभित्र एउटा आफ्नै संसार छ । सुन्दर भविष्यको खोजी गर्दै सारा संसार चहार्दै हिंड्नुभन्दा बरु गणेशजीले मातापितामै संसार देखेझैं म पनि आफ्नै जन्मभूमिमा संसार देखिरहेको छु । यही ‘संसार’ अर्थात् मातृभूमि नेपाललाई आफ्नै जीवनकालमा सभ्य र समृद्ध बनाउने अठोटसाथ पर्यटन क्षेत्रमा समर्पित छु । हाम्रो पुस्ताले आफ्नै जीवनमा समृद्ध नेपाल देख्न सक्छ ? अवश्य सक्छ ।
हो, यो सजिलो छैन तर असम्भव पनि छैन । हामी परिवर्तनको कुरा त गर्छौं र सुरुवात कसले गर्ला भनेर कुरेर बस्छौं ? यसरी त परिवर्तन सम्भव छैन । हामी सबै राष्ट्रपति, प्रधानमन्त्रीदेखि तपाईं र मसम्मका सन्ततीले आ–आफ्नो काम सकारात्मक, सिर्जनात्मक र लगनशील भएर इमानसाथ गर्ने हो भने हाम्रै पालामा समृद्ध बन्नेछ यो सुन्दर नेपाल । त्यत्रो जनसङ्ख्या भएको चीनको नवनिर्माणको गैंची–बेल्चा उठाउने काम देङ स्याओ पिङले गरेका थिए । देङकै भिजनका कारण चीन आज महाशक्ति मुलुक बन्दै छ । देङसँग स्पष्ट भिजन थियो, ‘बिरालो कालो होस् या सेतो, त्यो मुसा मार्ने हुनुपर्छ ।’ अर्थात् विदेशी लगानी पश्चिमको होस् या पूर्वको, त्यसले चीनको आर्थिक समृद्धिमा सहयोग गर्नुपर्छ भन्ने उनको स्पष्ट भनाइ थियो । त्यही कारण आज चीनमा संसारभरबाट लगानी ओइरिएको छ । विश्वबजारमै चीनको प्रभुत्व जमेको छ र विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको छ ।
यसबाट पनि स्पष्ट हुन्छ – मुलुक विकासका लागि राष्ट्रिय मूलबाटो तय गर्ने दायित्व सत्ता सञ्चालनको बागडोर लिएका राजनीतिक नेतृत्वकै हो । आ–आफ्नो क्षेत्रको उन्नति र समृद्धिको खाका कोर्ने कामको नेतृत्व भने विभिन्न क्षेत्रमा सक्रिय विज्ञ र व्यवसायीले नै गर्नेछन् । पर्यटन क्षेत्रमा आबद्ध भएका नाताले मसँग पनि यो क्षेत्रको उत्थानका लागि के–के गर्न सकिन्छ भन्ने सोच छ । पर्यटनकै माध्यमबाट देश समृद्ध बनाउनसक्ने सपना छ । मुलुकभित्र भएका अनगिन्ती सम्भावनालाई सम्भव तुल्याउँदै अघि बढ्नका लागि केही दशकसम्म गर्न सकिने कामको खाका छ । वैदेशिक रोजगारीका लागि दैनिक बाहिरिने हजारौं युवालाई देशभित्रै रोजगारी दिलाउन सक्ने विकल्प छ । खाडी मुलुकका मरुभूमिमा दिनरात पसिना बगाइरहेका नेपाली हातहरूलाई आफ्नै भूमिमा कर्म गर्न प्रेरित गर्ने योजना छ ।
कुराले च्युरा भिज्दैन भनेजस्तै केवल कामनाले समृद्ध नेपाल र सुखी नेपाली सम्भव हुँदैन । कुनै पनि कार्यसिद्धिका लागि सबैभन्दा पहिलो सर्त भनेकै त्यसको आरम्भ अर्थात ‘श्रीगणेश’ गर्नु हो । खै संयोग नै भन्नुपर्ला, गणेश पुराण रचयिता ऋषि मुद्गलको वंशवृक्षको एक पाउला मेरो जिन्दगीमा ‘गणेश’ का प्रसङ्गहरू बारम्बार आइरहे । जीवनका अनेक मोडहरूमा अनेक ‘गणेश’सँग साक्षात्कार भइरह्यो । गणेश शब्दसँग तादात्म्य गाँसिइरह्यो । सङ्क्षेपमा भन्दा, प्रत्येक मान्छेको जस्तै मेरो पनि कथा छ । परिवार छ । पूर्खाप्रति नमन गर्दै म आफ्नो तथा सन्ततीको भविष्य हेरेर काम गर्दै छु । मलाई दुःख सुखमा परिवारको साथ–समर्थन छ । मेरो आफ्नै देश छ । यो सुन्दर देशलाई समृद्ध र सभ्य बनाउने उत्कट अभिलाषा छ । हो, राष्ट्रमा व्याप्त भ्रष्टाचार, गरिबी, दरिद्र मानसिकता, निराशा, जडता, पछौटेपन, अशान्ति, असमानता, अस्थीरता आदि अव्यवस्थाबाट मुक्ति र सुशासन, सुख, शान्ति, समृद्धि एवं खुसी प्राप्त गर्न हामीले अथक यात्रा गर्नु पर्नेछ । चिनियाँ दार्शनिक लाओत्सुको प्रख्यात कथन छ, ‘हजारौं माइलको यात्रा एक कदमबाटै प्रारम्भ हुन्छ ।’ र, मेरो आफ्नै अनुभव र आत्मविश्वासले पनि भन्छ : हिंडे पुगिन्छ ।
(सिम्खडाको चर्चित पुस्तक ‘हिँडे पुगिन्छ’को अंश)