ह्याप्पी बर्थ डे केपी ओली

(नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ ‘प्रधानमन्त्री‘मा अहिलेसम्मका प्रधानमन्त्रीहरुमाथि अनेक कोणबाट टिप्पणी, विश्लेषण, संस्मरण र अन्तरवार्ताहरु समेटिन्छ । यो अंकमा प्रधानमन्त्री केपी ओली । धन्यवाद । सं)

कमल ढकाल

आज म त्यो जन्मदिन सम्झिरहेछु, भरतमोहन अधिकारीको जन्मदिन अर्थात २२ बैशाख २०७५ । त्यो दिन भरतमोहन अधिकारीलाई थाहा थिएन, उहाँको जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले केक काट्दै हुनुहुन्छ भनेर । प्रधानमन्त्री केपी ओली सरप्राइज दिन खुव मन पराउनु हुन्छ । उहाँले धेरैलाई धेरै प्रकारको सरप्राइज दिनु भएको छ । उहाँलाई सरप्राइज दिएर मान्छे हाँसेको हेर्न खुव मन पर्दाेरहेछ ।

मन्चमा बसेपछि मैले प्रधानमन्त्री केपी ओलीलाई भनें, ‘हजुरको बोल्ने पालो आएपछि केक काट्ने हो, आज भरतमोहन अधिकारीको जन्म दिन हो, केक काटेर हजुरले उहाँलाई सरप्राइज दिने हो ।’

प्रधानमन्त्रीलाई अलि अलि ज्वरो पनि आएको थियो । मृगौलाको रोगले उहाँलाई कुन बेला गलाउने हो भन्ने त्यो समय थियो । ज्वरो जितेर कार्यक्रममा आउनु भएको उहाँले भन्नुभयो, ‘हुन्छ नि । तर, मैले उहाँको आज जन्मदिन भनेर माधव नेपाललाई भनिसकेँ । अब उहाँले माइकमा पहिले ह्याप्पी बर्थ डे भन्नु हुनेछ ।’

‘केही छैन हजुर । केकको कुरा त उहाँ (माधव)लाई थाहा छैन नि’, मैले भनें ।

‘अँ हो त्यो त’, उहाँले भन्नुभयो ।

नभन्दै पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले भन्नुभयो, ‘ह्याप्पी बर्थ डे भरतमोहन अधिकारी ज्यु ।’

भरतमोहन अधिकारीले लेखेको र घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको ‘संसददेखि संविधानसम्म’को लोकार्पण कार्यक्रम चल्दै गयो । प्रधानमन्त्रीले बोल्ने पालो आएपछि अकस्मात केक आयो र उहाँले ह्याप्पी बर्थ डे भन्दै भरतमोहन अधिकारीलाई केक काटन लगाएर खुवाउनु भयो ।

कार्यक्रममा बोल्दै उहाँले घोष्ट राइटिङलाई ब्यास लेखनसँग जोड्दै ‘ब्यासको जन्म भएकै कारण ब्रिटिशहरुले घोष्ट राइटिङ भनेर जन्माएको’ भन्नुभयो । ब्यास नजन्मेको भए यो लेखनको नाम घोष्ट राइटिङ वा के रहन्थ्यो भनेर ठट्यौली पनि गर्नु भयो । आफुले हरेक कार्यक्रमहरुमा नेपाल देशलाई माया गर्ने र देशको बारेमा जोड्दै बोल्ने उहाँको चलन प्रधानमन्त्री भएर नाकावन्दीको विरोध गर्दै भारतसँग नझुक्ने अडानदेखि नै जनताले प्रत्यक्षत थाहा पाए । किताबको लोकार्पणलाई पनि उहाँले जन्मको बारेमा जोड्दै ब्यास अनि ब्रिटिशको बारेमा ब्याख्या गर्नु भयो ।

हाम्रो धेरै किताबकोे जन्म प्रधानमन्त्री केपी ओलीको हातबाट भयो । अर्थात लोकार्पण ।

डा. भिष्म प्रसाईको पुस्तक ‘आफैलाई फर्केर हेर्दा’ वा सुनिता दनुवारको ‘आँशुको शक्ति’ वा प्रदीप ज्ञवालीले लेखेको ‘विना शालिकका नायकहरु’ उहाँले नै ‘यो किताब आजदेखि जन्मियो’ भनेर आधिकारिक रुपमा भन्नुभएको छ ।

जन्म आफैमा कर्ममा लम्बिएको दिन हो । २००८ साल फागुन ११ को यो दिन पनि विशेष महत्वको छ । तेह्रथुमको ईवामा जन्मेर, चार बर्षको उमेरमा आमा गुमाएको एक सामान्य बालख आज देशको बागडोर दुई दुई पल्ट सम्हाल्न आइपुग्नु आफैमा उहाँको जन्मबाट कर्ममा लम्किएको उदाहरण हो । एकेडेमिक भन्दा स्वअध्ययनले पनि मान्छे कति विराट बन्न सक्दो रहेछ भन्ने उदाहरण उहाँमा प्रशस्त भेटिन्छ । आफुभित्रको आत्मविश्वासले मान्छेलाई कहाँबाट कहाँ पुराउँछ । अनि अरु त अरु रोगहरुलाई समेत कसरी जित्न सकिन्छ भन्ने उदाहरणको रुपमा प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनमनले मानेको छ । कतिपल्ट सेलिब्रेटी बन्नु भयो होला, कतिपल्ट ह्या केही हैन भने होलान् । नेता भनेको नै फुलले र कालो झन्डाले रंगिने चिज हो । समाजको घृणा र प्रेम दुबै छातीभित्र राखेर हिड्ने नेताभित्रको दृढता आफैभित्र हिँडिरहेको छ । केपी ओली पनि एक दृढ अठोट भएको र त्यहि लिएर अगाडि बढिरहेको प्रधानमन्त्री हुनुहुन्छ ।

देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउनु पर्दछ भनेर नारा दिएको मात्र हैन, गरेर देखाउने प्रण बोकेका प्रधानमन्त्री केपी ओलीलाई यो बिशेष दिनमा अशेष शुभकामना छ । तपाईको शेष जीवनले तपाइले भने जस्तै देश समृद्ध नेपाल सुखी नेपाली बनोस् । धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button