जीवन सङ्घर्ष कि सहज ?

डा. विष्णुबहादुर जीसी
कभर फोटोः अशोक सिलवाल

बाँच्नु जीवन हो र सजिलरी बाँच्न पाउनु प्राकृतिक र नैसर्गिक न्याय पनि हो । तर सबैको लागि यो सौभाग्य मिलेको हुँदैन, सबैको लागि जीवन सहज छैन । यस अर्थमा हामीहरूमध्ये कोही बढी भाग्यशाली छौँ भने कोही कम । साथै धेरै सवालमा सबैको लागि पनि जीवन सहज छैन । त्यसो भनिरहँदा प्राथमिक रुपमा जीवन संघर्षपूर्ण मात्र छ भन्नु पनि अन्याय हुनसक्छ । त्यसैले ‘जीवन संघर्ष की सहज’ कठिन विषयमा कलम चलाउँदा समुद्रको बीचमा हामफाले जस्तो लागेको छस शीर्षकलाई न्याय दिन नसकिएला भनेर चिन्ता पनि बढेको छ । तर पाठकहरूको शुभेक्षाको अपेक्षाको साथमा विषय बुझ्न, जानकारी राख्न, र छलफलका लागि बामे सर्न चाहेको छु । यहाँ संघर्ष भन्नाले चुनौती, मेहनतको रुपमा बुझ्न पनि खोजिएको छ र सहज भन्नाले धेरै समस्याहरुमा नजकडिएको अवस्थालाई बुझ्ने कोसिस गरिएको छ । त्यसैले पाठकहरूले पनि यो विषयलाई शाब्दिक अर्थमा भन्दा मनसायलाई बुझिदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

नेपालको दुर्गम ठाउँ गुल्मीमा जन्मेर काठमाडौँसम्म र काठमाडौँ हुँदै अहिले अस्ट्रेलियामा छोराछोरीहरूसँग बसिरहँदासम्मको समयमा मलाई देशविदेशका धेरै ठाउँहरु भ्रमण गर्ने र त्यहाँको रहनसहन बुझ्ने अवसर मिलेको छ । गुल्मी भन्दा अति दुर्गम हिमाली क्षेत्रमा, हिमालका आधार शिविरहरूमा पनि मैले धेरै समय बिताएको छु साथै, नेपालका दक्षिणी भूभाग लगायत देशको पूर्व पश्चिम क्षेत्रका जिल्लाहरूसँग पनि मेरो लामो अनुभव छ । यसैगरी विदेशमा, उत्तरी ध्रुवमा रहेका देशहरू नर्वेको ओस्लोदेखि दक्षिणमा थाइल्याण्डको फुकेत, सिङ्गापुर, अस्ट्रेलिया, पूर्वमा जापानको टोकियो, ओसाका र पश्चिममा युरोपका धेरै मुलुकहरूमा भ्रमण गर्ने अवसर मिल्दै आएको छ । भ्रमणको सुन्दर पाटो अनुभव र अनुभवको अभिन्न अङ्ग सङ्घर्ष पनि भएकाले मैले माथिका भ्रमणहरूको विवरण समावेश गरेको हुँ र लेखको लागि सहयोगी सामग्री बन्न सकोस् भन्ने अपेक्षा पनि राखेको छु ।

म विदेश भ्रमण र बसाइको क्रममा हिउदको सिजनहरूमा डेनमार्कमा (वर्षभरिमा धेरै अँध्यारो कम उज्यालो हुनेमध्येको देश) सुविधा सम्पन्न होस्टेल र होटलमा बसिरहँदा त्यहाँ अनुभव गरेको सिरेटो, चिसो र अन्धकारमय दिन र रात अहिले पनि सम्झनामा आउँछ । प्रकृतिको उपज यो उपहार वास्तवमा मानिसहरूका लागि कष्टप्रद नै छ । तर डेनिसहरुले गरेको कडा मेहनत, परिश्रम र सिपका कारण जीवन सुविधा सम्पन्न र सहज बनेको छ । म सोच्छु, कुनै समय त्यहाँ बत्ती र अन्य सुविधाहरु नहुँदा मानिसहरुले कसरी जीवन निर्वाह गरे होलान् । आज त्यही देश विश्वको अत्यन्त विकसित देशको रुपमा परिचित छ भने संसारका धेरै अविकसित देशहरुलाई सहयोग बाँडिरहेको छ, पुर्याइरहेको छ । थाइल्याण्डको फुकेतमा अत्यन्त गर्मीका बावजुद पनि त्यो ठाउँलाई सुविधा सम्पन्न बनाई विश्वका धेरै पर्यटकहरुलाई रोमाञ्चित बनाउन सफल भएका छन् थाईहरू । त्यसैगरी सानो मुलुक सिङ्गापुरले प्रतिव्यक्ति सबभन्दा बढी आम्दानी गर्ने मुलुकहरूमध्ये दोस्रो नम्बरमा आफूलाई उभ्याएको छ ।

पूर्वको जापान र पश्चिम युरोपका मुलुकहरूको विकासको त कुनै तुलना नै छैन । यी देशहरूले विषम प्रकृति÷ परिस्थिति लाई आफ्नो अनुकूल मानव हितको लागि प्रयोग गर्न सफल भएका छन् । अर्कोतर्फ प्रकृतिको सुन्दर उपहार काठमाडौँ, पोखरा, हेटौडा, हुम्ला, कालिकोट नामचे, मनाङ, जुम्ला नेपालका आदि आदि ठाउँहरू भने जहाँको त्यही छन्, जस्ताको तस्तै छन् । बरु प्रकृतिमाथि मानिसको अतिक्रमण, दमन मात्र भएको छ । तुलनात्मक रूपमा नेपालका धेरै बासिन्दाहरूले आधुनिक युगको विकासको प्रतिफलको अनुभव गर्न पाएका छैनन् । माथिको तथ्यबाट के बुझिन्छ भने व्यक्ति,समाज, समूह, राष्ट्रले चाहेमा देशभित्रको असहज परिस्थितिलाई सहज बनाउन सकिँदो रहेछ । संघर्षमय जीवन सरल बन्न सक्दो रहेछ । अन्यथा प्रकृति प्रदत्त सुविधा, सहजतालाई पनि निरन्तरता दिन र उपभोग गर्न नसकिदो रहेछ । अब म व्यक्तिगत स्तरको सङ्घर्ष, मेहनत, सहजताका विषयमा भोगेका, देखे बुझेका र पढेका विषयहरु सापटी माग्दै यहाँ उल्लेख गर्न चाहन्छु ।

सुरु आफूबाटस् बाल्यकालमा मातृविहीन हुनु र एकपछि अर्को प्रियजनहरूलाई गुमाउँदा जीवन कठिन महसुस भयोस जीवन अन्धकारमय जस्तो लाग्यो, पानीबिनाको माछा जस्तै । १६ वर्षको उमेरमा घर छोडेर एक्लै चार दिनको पैदल यात्रा र दुई दिनको बसयात्रा पछि काठमाडौँसम्म पुग्नु र अध्ययनलाई निरन्तरता दिइरहनु मेरो लागि चुनौतीपूर्ण नै थियो तथापि यो चुनौतीको पछाडि जीवनका धेरै आशाहरु भने सलबलाइरहेका हुन्थे । त्यसैले चुनौती, सङ्घर्ष कहिलेकाहीँ आशा र उत्प्रेरणाको घ्योतकको कामगर्दो रहेछ । समय बित्दै जाँदा धेरै विषयवस्तुहरूको व्यवस्थापन हुँदै गयो भने आज अहिलेको अवस्थामा छोराछोरीहरूको साथ पाउँदा देश विदेश भ्रमण गर्न र अनुभव गर्न पाउँदा जीवनरसमय सहज भएको छ । अहिले यो लेख लेखिरहँदा मेरो भन्दा अत्यन्त भिन्न अनुभव बटुलेकी साहसी हाम्रै नेपाली चेली झमक घिमिरेले लेखेको ूजीवन काँडा कि फूलू किताबको सम्झना आइरहेको छ, मलाई । उनी विषम परिस्थितिलाई सामना गर्दै अगाडि बढेको प्रसङ्ग कहाली लाग्दो छ । तर सकारात्मक रूपमा गरिएको मेहनतले उनले चाहेका अपेक्षाहरू प्राप्त गर्न सकिन । जीवन अगाडि बढाउने क्रममा उनले दुःखलाई सुखमा परिणत गर्न सकिनस जीवनलाई फुलमा परिणत गर्न सकिनः किताबको निष्कर्ष यही हो भन्ने मेरो ठम्याई छ ।

त्यसैगरी अस्ट्रेलियन नागरिक जस्टिन यरबुरी को फाइटिङ फेट पुस्तकमा वर्णन गरेको आत्मविश्वासको आत्मकथा जो कोहीलाई उदाहरण बन्न सक्छ । मसललाई कमजोर बनाउँदै लगेर अन्तमा बोल्न नसक्ने, अङ्ग प्रत्यङ्गहरु चलाउन नसक्ने र मृत्युको मुखमा धकेल्ने मोटर न्यरोन डिजिज् (एमएनडी) रोगबाट भएको परिवारका धेरै सदस्यहरुको मृत्युको साक्षी बनेका छन् जस्टिन । सन २००२ मा मात्रै, छ हप्ताको अन्तरालमा उनको आमा, हजुरआमा र सानीआमाको मृत्यु भयो । मृत्यु हुनु अघि उनले आफ्नो आमालाई यो रोगको उपचार पत्ता लगाउने विश्वास दिलाएका थिए । यो रोगबाट पछि आफूलाई र सन्तानमा पनि फैलने कुरो उनलाई राम्रो ज्ञान थियो । यो सबै परिस्थितिको जानकार र साक्षात्कार बनेका जस्टिनले कमर्स विषय छोडेर विज्ञान विषयको अध्ययन गर्न थाले । पछि एमएनडी विषयसँग सम्बन्धित अध्ययनका लागि पीएचडी लगायतका धेरै अध्ययनहरु गरेका छन् । उनी युनिभसिंटी अफ वलुङगोङ, अस्ट्रेलियाका प्रोफेसर पनि बने ।

घरपरिवारको विषम परिस्थिति हुँदाहुँदै पनि हिम्मत नहारी आफ्नो अभियानमा अगाडि बढिरहेको बेला सन २०१६ मा एमएनडी रोगले उनलाई पनि समायो । हिँड्दा हिँड्दै धेरैपटक लडे उनी, बोल्न नसक्ने भए, शरीर शिथिल हुँदै गयो । तर उनको मन, हिम्मत कहिले कमजोर भएनस रोगको उपचार गर्ने आफ्नो अभियानमा अगाडि बढिरहे(जीवनको अन्तिम घडीसम्म । माथि उल्लेखित फाइटिङ फेट पुस्तक उनी मर्नु दुई महिना अघि सन् २०२३ जुन महिनामा प्रकाशित भयो । यो पुस्तक उनले आइबल को इशाराले आइ ट्रयाकिङ सफ्टवेर बाट लेख्ने र अन्त गर्ने काम गरेका थिए । उनको अदम्य साहसले भरिपूर्ण ओजपूर्ण पुस्तकको बारेमा आउने अङ्कहरूमा समीक्षा गर्ने प्रयास गर्नेछु ।

अब म एउटा किशोरीको आत्मकथाको डायरी प्रस्तुत गर्दछु । एनी फ्र्याङ्क, एक यहूदी किशोरीले १२ जुन १९४२ देखि १ अगस्ट १९४४ सम्म लेखेको आफ्नो डायरी हो, द डायरी अफ योङ गर्ल् । दोस्रो विश्वयुद्धका क्रममा नाजीहरूबाट बच्न उनी आम्स्टर्डामको एउटा गोप्य कोठामा लुकेर बसिरहँदा तयार पारेको यो उनको डायरी मिप गिज नामकी व्यक्तिले सुरक्षित राखेकी थिइन्, जसले फ्र्याङ्क परिवारलाई लुक्न सहयोग गरेकी थिइन् । मिप गिजले युद्धपश्चात् एनिका बुबा ओटो फ्र्याङ्कलाई यो डायरी हस्तान्तरण गरिन्, जो परिवारका एकमात्र बाँच्ने सदस्य थिए । ओटो फ्र्याङ्कले उनको डायरीलाई÷लेखाइलाई सम्पादन गरी १९४७ मा पुस्तकको रूपमा प्रकाशित गरे । उनको यो डायरी ÷पुस्तक यहूदी नरसंहार वा नाजी यातना कालको सबैभन्दा महत्त्वपूर्ण र व्यापक रूपमा पढिने दस्तावेजमध्ये एक भएको छ । यातनाको बावजुद उनले तयार पारेको यो डायरीले एनीको गहिरो अन्तर्दृष्टि, साहस, र मानवताको उजागर गर्छ ।

मसँग ठोकिन आएका यी केही लेखक लेखिकाको आत्मवृतान्त संयोग र प्रतिनिधिपात्र मात्र हुन् । विश्वमा यस्ता किसिमका, योभन्दा बढी कठिन, विकराल परिस्थिति भोगेका, भोग्दै गरेका मानिसहरू अहिले पनि जीवन यापन गर्दै नहोलान् भन्न सकिँदैन । हालै नेपालमा रिलिज भएको पूर्णबहादुरको सारङ्गी चलचित्रले पनि नेपालको परिवेशलाई उजागर गरेको छस समाजले कुनै व्यक्ति, वर्गलाई उभिन नसक्ने गरी थिचोमिचो पारेको छ, यहाँ । त्यसैले कुनै न कुनै रुपमा प्रकृतिको कारण, समाजका कारण, आफ्नै कारण वा अन्य कारणहरूबाट थोरै वा धेरै रुपमा मान्छेले चुनौती, संघर्ष को सामना गर्नुपर्ने हुन्छ । त्यसैले दुःख, समस्या, संघर्ष जीवनको अभिन्न अङ्ग हो भन्दा पनि अत्युक्ति नहोला तथापि यसको असल व्यवस्थापनले जीवन सहज पनि हुनसक्छ । साथै चुनौती र सङ्घर्षलाई अभिशापको रुपमा मात्र लिनु पनि हुँदैन किनकि आज विकासले आकाश चुमेको विश्व समस्या र संघर्षको परिणाम पनि हो ।

व्यक्तिको सन्दर्भमा पनि प्रत्येक व्यक्ति फरकरूपमा जन्मेको हुन्छ, हुर्काई फरक हुन्छ, उसको वातावरण र सोचाइ फरक हुन्छ, व्यवहार फरक हुन्छ परिणामस्वरूप उसले प्राप्त गर्ने खुसी फरक हुन्छ अनि सहज जीवन पनि।। । त्यसैले जीवन सधैँ या त सङ्घर्ष या त सहज भन्ने पनि होइन यी दुवैको बीचमा अर्को अर्थात् तेस्रो विकल्पले पनि काम गरिरहेको हुन्छ । जीवनलाई कसरी बुझ्ने र आफ्नो कस्तो जीवन दर्शन बनाउने भन्ने विषय व्यक्तिगत सोचाइ र लगाबमा पनि भर पर्दछ । वास्तवमा जीवन यापनको आआफ्नै तरिकाहरू छन् ।

माथि उल्लेखित झमक, जस्टिन र एनीको जीवन भोगाई पीडादायक थियो नै तर के कति थियो कस्तो थियो होला भनेर ठोकुवा साथ भन्न मिल्दैन, सकिँदैन । किनभने एकातर्फ ती पीडाहरु, सङ्घर्षहरू फरक फरक थिए भने अर्कोतर्फ स्वयं व्यक्तिले कसरी अनुभव गरे होलान्, अर्को व्यक्तिबाट अनुमान गरिनु गलत पनि हुन सक्छ । त्यसैले म आफ्नो सन्दर्भमा भन्नुपर्दा सङ्घर्षको छायाँ बनेर सुमसुम्याउने सपना र आशा भने जीवन बाँच्ने बलिया आधारहरु थिए । तसर्थ, मेरो लागि जीवन सङ्घर्ष पनि हो र सहज पनि ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button