यो जन्म हैन, हजारौं जन्म म तिम्रो ऋणी छु
लक्ष्मी मैनाली पाठक
ममता खन्याई वास्यल्यताको भकारी मोरेर
घाम र पानी नभनी तिम्ले चिचिला गोडेर
फुटेको नग्न पाउहरु थाकेर विश्राम खोज्दा
भुलेर स्वयं कवच बनी रहन्छौ सदा खडा
फाटेको चोली टालटुल पारी बेरेर न्यानो माया
सत्मार्गको गोरेटो भरी शितल तिम्रो छाँया
पहाड सरी अडिग भै आँधीलाई रोक्दछ्यौ
हिमाल सरी उचाई भरी स्वाभिमान राख्दछ्यौ
संस्कारको माला गाँसेर तिम्ले एकता फैलायौ
मलजल गरी सन्तानको कर्म सुगन्ध फैलायौ
एक बार हैन हजार बार म तिम्रो चरण पाउँ
दुधको भारा तिर्नलाई आमा म फेरि जन्म पाउँ
तिमी र तिम्रो संस्कारको साथ राखेर शिरैमा
बाटोको काँडा बुद्ध झै बनुन सत्यको मार्गमा
यो जन्म हैन, हजारौं जन्म म तिम्रो ऋणी छु
चौरासीलाख यो जुनि भित्र म तिम्रै हुनेछु
जन्म र मरण चराचर सृष्टि रोकिन्न केही गरी
आमाको स्थान ओगट्ने वस्तु पाइन्न केहि गरी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)