ए हजुर ! हामीबीच मायाको महसुस कम हुन थालेको हो र ?

कल्याणी तिमल्सिना

खै के भनू ! शब्द खोजिरहेकी छु । हजुरसँग बढ्दै गएको दुरी कहाँसम्म पुग्ने हो कुन्नी !? घोत्लिरहेकी छु । अनि, आफूसँग नभएको खुशी खोज्न अहोरात्र यत्रतत्र भड्किनु भएको मेरो हजुरको दिनचर्याले मलाई पनि दु:खाइरहेकै छ । यसले घरमा जे जति बाँकी रहेको खुशी हो त्यो पनि बिस्तारैबिस्तारै ओरालिन आतुर छ । जिन्दगीलाई त्राण दिइरहेको यही बाँकी खुशी समेत सकियो भने ; म, हजुर अनि सबैसबैको प्रयत्‍नले पनि त्यो त्यान्द्रो खुशीबाट सदासदाका लागी हात धुनुपर्नेभयो भने के होला हाम्रो जिन्दगीको हालत !? त्यसैले समयले नेटो नकाट्दै यो खुशीलाई रोक्नु न हजुर !

एउटा आँकुरा बढ्ने क्रममा मजेरी वरीपरी खेलिरहेको छ । ऊ आफ्नु बाबाको हातको सहारा लिएर हिड्न अनि दौडन आतुर छ । अनि काखमा निदाउन खोजिरहेको छ । र, प्रत्येक साँझ र सोध्ने गर्छ । “मामु बाबा किन आउनु भएन ? मलाई कथा सुन्न मन छ ! बाबाको हातमा सुत्न मन छ !” यतिवेला उसका आँखा जलासय भैसकेका हुन्छन् । म पनि उसको नजिक त छु नै तर भित्रभित्रै उसिन्निएर आँखाहरूबाट बर्षदै हजुरलाई भन्दैगरेकी छु “ए हजुर ! छोराको आँसु पुछ्न आउनु न ल समयले ननिल्दै !”

म पनि लड्दा लड्दै थाक्नसक्ने अवस्थाको नजिक छु । छोरालाई फकाउने शब्दहरू पनि सायद अब बाँकी छैनन् । घर फर्किनु न अवेर नगरी ल ! श्रृणधन सबैको हुन्छ । यसलाई समस्या बनाएर टाढा नबस्नु ल ! टाढाटाढा रहँदा बचेखुचेको थोरै खुशी पनि सकिदैसकिदै छ नि याद रहोस नि समय छँदै ! यसलाई बचाएर हुर्काउन टाढा दौडिएर होइन नि हजुर ! समिपमा भएर साथसाथै लडेर सकिन्छ भन्ने हजुर कै भनाइ दोधारेको छु नि ल ।

नियति यस्तो हो कि मलाई थाहा छैन । हजुरलाई ए मेरो हजुर ! भनेर आँखाभरी अटाउन पाएको छैन ! खै कसरी समालु जीवन अब ढल्कने क्रममा छ । म थाकेथाके जस्तै भएकी छु ; हजुको घर आउने बाटो हेरेर ल !

ए हजुर ! बरु हरेक जरुरतहरूलाई कम गरौंला । छोराका आवश्यकताहरूलाई पनि बिस्तारबिस्तार पूरा गर्दै जाउँला। तर उसको सँगै बाबाको काखमा निदाउने र निदाउनु अगाडी कथा सुन्ने रहर त पूरा गर्नै पर्ने छ । त्यसैले घर फर्किनु न हजुर ! हामी ममी छोरा हजुरको बाटो हेर्दै छौं ल । प्रत्येक साँझ आउनु न ल !

ए हजुर ! हामीबीच मायाको महसुस कम हुन थालेको हो र ?! कमी हुन म दिन्न नि ल ! जिन्दगी र माया परिपूरक हुन् यसलाई दुबै मिलेर भरिभराउ गरौ न ल ! तसर्थ, मेरो हजुर! घर फर्किनु ल ।

ए हजुर ! समयले नेटो भेट्टाउने गरी दौडिरहेको छ नि हजुर याद गरिदिनु न ल ! त्यसैले घर फर्किनु न ल ! किन कि परिवार बनाउँ अनि जीवन जिउने बलियो आधार बनाउँ न सँगैमिलेर ल !

सुन्नु न हजुर ! मबाट हामी भएको दशकौं भैसकेको छ नि; यादै होला । तर हामी हौं भन्ने अनुभूत नभएको पनि उतिनै समय भयो नि त । यो दुरत्वलाई परिपूरण गर्न घर आउनु न ल । मलाई हामी भएर जीवनको छितिज भेट्ने रहर बिहान जस्तै उदाइरहेछ ल । अनि, हजुरको हात समातेर ऊ उताउतासम्म जहाँसम्म जानसकिन्छ त्यहीँसम्म निस्फिक्री बिनारोकतोक सबार हुने रहर बाँचिबसेकै छ, पूरा गरिदिनु न ल !

चाडपर्वहरू आउँछन् र मलाई आँखाहरूबाट निचोरेर जान्छन् । अहिले पनि, अगाडी आउँदै गरेको होली छ । रहर यसरी पलाएको छ कि हजुर रङ्गहरू भएर मेरो जिन्दगीका रहरहरूलाई रङ्गिन बनाइदिनु ल !

म हजुरको हातमा मेरो हात बिसाउन पाउँ न हजुर ! दुरत्व कम गर्न नपाएर मन आत्तिदै छ । जिन्दगीको यो अत्यासलाई मेटाइदिनु न ल ! अनि एक्लोएक्लो जिन्दगीलाई पूर्णतामा लगिदिनु न ल !

मनभित्र अटेसमटेस समालेर राखेकी त्यो मीठो मायाको अथाह समुन्द्र आँखाहरूका डिलसम्म पुग्नपुग्न आँटेका छन् ; बिन्ती छ आँखाबाट बग्न नदिनु ल ! त्यसैले घर आउनु ल । बग्नु भन्दा पहिले ए हजुर ! आइसक्नु ल ! सँगसँगै एकैहल भएर सकेजति सबैसबै सपनाहरू पूरा गरौँला नि ल ! आजलाई जिन्दगीको मूल्य दिएर एक भएर बाँचौँला नि हजुर ! सम्बन्धको कसिलो फेरी कसुला न ल अब ढिला नगरी घर आउनु है हजुर !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button