आत्मदाह गर्ने प्रेमको चिट्ठी पढ्दै गर्दा परिवारका सबै सामु भक्कानिएर रुन पुगें
प्रेमको आत्मदाहले दिएको सन्देश
दुर्योधन वस्नेत
प्रेम आचार्यले खुल्ला सडकमा गरेको अत्यन्तै दर्दनाक, कारुणिक आत्मदाहको प्रयास यतिबेला चर्चा परिचर्चाको बिषय बनेको छ । चिया चौतारी, अफिस, दोकान र घरघरमा समेत चासोको विषय बनिरहेको र घटनाका सन्दर्भमा सबैले आफ्नै किसिमले तर्क, वितर्क र व्याख्या बिश्लेषण गरिरहेको पाईन्छ । घटनालाई कसैले बाध्यता ठानेका छन् भने कसैले गलत र नामर्दपन ठानेका छन् । जसले जे ठाने पनि घटनाको पात्रलाई जे ठिक लाग्यो त्यही गर्यो । समुन्द्रको गहिराई थाहा पाउनका लागि समुन्द्रको पिंधमा पुग्नुपर्छ। सतहमाथिबाट गरिने आंकलन गलत ठहरिन्छ ।
हो, वास्तवमै प्रेम आचार्यको आत्मदाहको निर्णय कुनै ख्यालठट्टामा भएको थिएन । लहडमा भएको थिएन । अत्यन्तै दर्दनाक, असह्य पिडाबोधको परिणाम थियो हो त्यो । भनिन्छ नि, खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ । यो कुराको पुष्टि सामाजिक सन्जालमा उनले लेखेको, सार्वजनिक गरेको अत्यन्तै मार्मिक चिट्ठि वा लेखले गर्दछ । उनको त्यो चिट्ठी पढ्दै गर्दा सबै परिवारको सामु भक्कानिएर रुन पुगें म । राज्यको ब्यथिती, राज्यको अकर्मन्यता र पद्धतिहिन अवस्थाको राम्रो चित्रण गरेका छन् उनले । पिडाबोध गर्ने एउटा प्रतिनिधि पात्र मात्र हुन उनी त । उनीजस्ता कैयौं प्रेमहरु छन्, जसले उनले जस्तै पीडा भोग गरिरहेका छन । आफुलाई सम्हाल्न नसकेर आत्महत्या गरिरहेका छन् । आत्मदाह गरिरहेका छन् ।
उनको यो आत्मदाहको घटनालाई केवल उनको बहुलापन, बहुलट्ठिपन ठानेर बेवास्ता गरियो भने उनलाई विभिन्न किसिमले दुःख दिएर यो अवस्थामा पुर्याउन बाध्य पार्ने उनको पत्रमा उल्लेखित पात्र, संघ संस्था र निकायहरुप्रति चासो र निगरानी गरिएन भने यस्ता थुप्रै प्रेमहरुले आत्मदाह, आत्महत्या गर्नेछन् । यसको जिम्मेवार राज्य हुनुपर्ने छ र यस्ता घट्नाबाट हुने दुष्परिणामको भागिदार राज्य हुने छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)