अजंगको भारी बिसाउने चौतारी त योग, प्राणायाम र ध्यान साधना रहेछ

दुर्गा शर्मा

आमाको गर्भमा गरेको दिव्य वाचा याद गरौं । परमब्रह्म परमात्मा भगवानसँग गरेको त्यो मीठो संकल्प एकपटक सम्झिऔं ।

म यो मानव धरामा अवतरण गर्नुको ठोस कारण आफ्नो साथै सारा जगतको भलाइ मात्र गर्नेछु । भगवान हजुरको नाम स्मरण संकृर्तन पलपलमा याद गरिरहनेछु । मलाई तत्काल यो गन्ध आउने वन्द जेलरूपी कहालीलाग्दो नारकीय भवसागरबामट पार लगाइदिनुहोस प्रभु, म हजुरलाई अन्तह्रदयदेखि कोटीकोटी नमन गर्दछु ।

जब हामी जन्मेर यो सुन्दर संसारमा आयौं, अघि गरेका सबै प्रतिवद्धता सजिलै भुल्न थाल्यौं । दिन गन्दै हुर्किदै बढ्दै बालक भयौं, त्यो वालापन मरेर पुन तन्नेरी बन्यौं, त्यसपछि युवा या प्रौढ भयौं । विस्तारै वृद्ध भयौं । आजसम्म बोकेका यी सारा बोझरुपी सांसारिक भारी सब दिन दुइ गुना रात चौगुना बढिरहेका छन् तापनि यो गर्हौ भारी बिसाउने गतिलो बिसौनी भेट्न पाएका छैनौं ।

जीवनकालमा भागदौड गरी नखाई नलाई जोड जम्मा गरेका जति पनि भौतिक जायजेथा, धन सम्पति, जग्गा जमीन, गाडी घोडा, अलिसान बंगला इत्यादी कुनै पनि भौतिक बस्तुले मलाई रतिभर पनि सुख सयल र आनन्दित बनाउन सकेनन् । जीवनको अन्तिम घडीमा आएर विस्तारै यो रहस्य थाहा पाएँ प्रभु । यो अजंगको भारी बिसाउने चौतारी त योग, प्राणायाम र ध्यान साधना नै रहेछ ।

अब त मेरा न त हात गोडा बराबर चल्छन्, न त शरिर चल्छ, मात्र यो मन हरपल भागदौड गरिरहन्छ । जवानीमा यो शरिर अनि धन दौलतबाहेक अन्यत्र पनि सुख आनन्द हुन्छ भन्ने कुनै अत्तो पत्तो पाइन । जब अन्तिम पलमा आनन्द आँँसुसँगै अन्तरआत्मामा हुने रहेछ भन्ने चुरो कुरा थाहा पाएँ, तब पछुताउनुबाहेक अरू के नै बाँकी रह्यो र अब मसँग ।

छोराछोरी, नातेदार, इष्टमित्र, दाजुभाइ, दिदीबैनी इत्यादी सब आफन्तजन टाढा–टाढा भइरहँदा यो मुटुमा भक्कानो फुटेर एक्कासी भक्कानिन पुग्छु, कहिले छट्पटी भएर रुन्छु । कहिले बेचैनी र जलन हुन्छ । आजकल न दिनमा भोक न रातमा निद्रा, यो प्रत्येक पल मेरा लागि निकै बोझिला, कष्टदायी या नारकीय बनिरहेका छन् ।

भनिन्छ नि, वैंश छँदै जागिर, उमेर छँदैमा लाहुर । उमेर छँदैमा साथी, भाइ, सखी, आफन्त कसैले योग ध्यान गरौं भन्दा म पनि उनीहरुलाइ मेख मार्नेगरी मेरो त बेला नै आएको छैन, ध्यान त बुढेसकालमा हात गोडा नचल्ने भएपछि गर्ने हो, उमेरमा त कमाइधमाइ गरी चैन गर्नु पर्छ भन्ने गर्दथें । अब यो क्षणमा आएर योग, प्राणायाम र ध्यान गर्नु भनेको फलामका चिउरा चपाउनु सरह हो रहेछ।

छोरा–बुहारीले अस्पताल लैजान्छन्, डाक्टर सावलगायत छोरी, बुहारी, नाति, नातिनाहरुले हजुरआमा दैनिकरुपमा ध्यान गर्नु त शरिर मन भावनाका सव रोग निको हुन्छ भन्दछन् तर म जवानीमा चाख्दै नचाखेको फल अहिले कसरी खाउ वरै, कहाँबाट कसरी चपाउनु म थोते बुढीले ।

ध्यानबाटै आफुभित्रको आनन्दमा पुग्न सकिने रहेछ । जन्मजन्मका सारा कलुषित कर्मवन्धनका भावनाहरू एक छिनको गहिरो ध्यानबाट पुराका पुरा बाहिरिने रहेछन् । उफ्, उमेरमा यति महत्वपूर्ण मार्गको न त पहिचान नै गर्न सकियो न त अनुभुती नै गर्न सकियो ।

हामी कोही पनि जीवनको उत्तरार्धमा यसै गरी पछुताउनु नपरोस् । उमेरमै योगाभ्यास, प्राणायाम र ध्यान गरौं जीवनको सारा खुसी र आनन्दको राम रस जीवन छँदैमा पाइरहौँ । यही जीवन नै स्वर्ग बनाऔं, मरेपछि को जानेर बुझेर आएको छ र । सबै–सबैमा योग, प्राणायाम, ध्यानको महत्व र यसका राम्रा फाइदाहरु शेयर गरौं । आफुले जानेको बुझेको अनुभव सबैमा बाडौं।

हाम्रा सात उर्जाकेन्द्रहरु सक्रिय भए भने जीवनमा अरोग्यता, सुख शान्ति र संवृद्धीले हामीलाई पछ्याउन थाल्नेछन् । बाहिरबाट संवृद्धी भित्रबाट शान्तपना बढ्दै जीवनका गरिएका सारा मेहेनत जति सफलताको उच्चतम विन्दुमा पाइला टेक्न सक्नेछन् । राम्रो सबथोक हाम्रो पोल्टामा पर्नेछ । हामीले सबैलाई प्रेम, सेवा, सहयोग गर्न सक्ने विराट विवेकशील करुणाले भरिपूर्ण सद्गुणी मानव बन्नेछौं । हामी प्रत्येक आफु लगायत सारा प्राणीहरुको खुसीको कारक बन्न सक्नेछौं । तब मात्र जन्मिँदा परमात्मासग गरेको दृढ प्रतिज्ञाले सार्थकता पाउनेछ ।

सबैको जय होस्, सबैको कल्याण होस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. अत्यन्त सुन्दर रचना , हार्दिक आभार हजुरलाई, फेरि फेरि पनि यस्तो सुन्दर लेख पढ्न पाइयोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button