
चुनाव आइसक्यो, गाउँ जाने सुरसारै छैन
लघुकथाः अनाकर्षण
मित्र उराठी गौतम
अमरपुर गुल्मी, हालः तिलोत्तमा न.पा. २, रुपन्देही
कफी सपमा पत्रिका हेर्दै कफी पिइरहेको थिएँ । अर्को टेवलका दुई युवाहरुको सम्वादले अचानक ध्यान खिच्यो । हेर्दा पच्चीस-छब्वीस वर्षे देखिने एउटा अलि मोटोघाटोले फ्रेन्च कट दाह्री बनाएको थियो । अर्को पातलो जीउडालेले क्याप लगाएको थियो ।
‘हैन, चुनाव त आइसक्यो त, गाउँ जाने सुरसारै छैन ? के हो यस्तो पारा ?’, फ्रेन्च कटले प्रश्न गर्यो ।
‘अब पनि लाजै नमानी चुनावमा गाउँ जाने भन्दैछौ । कति छिटो बिर्सन्छौ आफ्नो वचनवद्धता ? केही दिन अघिसम्म त उर्लिउर्ली विरोध गर्दै थियौ त नेताहरुको । जुन जोगी आए पनि कानै चिरेको भने झैँ जुन दल, जुन नेताको पनि उस्तै व्यवहार उस्तै आचरण भन्थ्यौ त ?’, क्यापवालाले निकट विगत स्मरण गराउन खोज्यो फ्रेन्च कटलाई ।
‘छोड ती कुरा । त्यतिबेला त साँच्चै अब यी दल, यी नेतालाई भोटै हाल्दिन भन्ने लाग्थ्यो । तर के गर्नु विकल्पमा भरोसायोग्य न कुनै नयाँ दल जन्मियो, न कुनै आदर्श नेता ? अनि त फेरि उही आफ्नो आस्थाको पार्टी छोडेर कहाँ जानु ? आखिरमा हामी नतात्तिए अर्को पार्टीले बाजी मारिहाल्छ । उनीहरुको अगाडि आफ्नो पार्टीले हार्दा झन पीडा वोध हुन्छ, हेपिएको महसुस हुन्छ’, फ्रेन्च कटले आफ्नो विवशता पोख्यो ।
‘म त मरिकाटे आफ्नो विचार छोड्न सक्दिनँ । निर्वाचन आयोगले ुनो भोटकोु विकल्प पनि दिएन । त्यसैले अब हाम्रो समूहले शान्तिपूर्ण बहिष्कारको अभियान चलाउँछ । सामाजिक सञ्जालको हाम्रो समूहमा देशभरिबाटै जोडिने युवाहरुको सङ्ख्या बढिरहेको छ । उपयुक्त दल, उपयुक्त पात्र नहुँदा पनि पुनः उनीहरुलाई नै मतदान किन गर्नु ? आफ्नो मतको दुरुपयोग मात्र । कुल मतदाताको ठूलो हिस्सा हाम्रो समूहमा आवद्ध भएर मतदान वहिष्कार गरे चुनावको वैधता के हुन्छ ? यो प्रवृति र पद्धतिप्रति आम मानिसमा अनाकर्षण त बढिरहेकै छ’, क्यापवाला दृढतापूर्वक बोल्यो ।
उनीहरुको सम्वादले मेरो मथिङ्गल हल्लियो । कुरा सुन्दासुन्दै कफी पिउनै बिर्सेछु । चिसो भइसकेको कफी घुटुक्क पारेर म बाहिरिएँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



