महेन्द्रले दिएको १ सय


अशोक सिलवाल

२०२१ सालतिर दीपक जंगम र उनका केही साथीहरू बालकृष्ण समको सम्पर्कमा पुगे ।

समले प्रल्हाद नाटक मञ्चन गर्न केटाकेटीहरू, विशेष गरी स–साना केटाहरू खोजिरहेका रहेछन् । दीपकलाई साथीहरूले त्यो कुरा भने । उनी पनि समलाई भेट्न भनेर गए । तर, उनी नाटकको लागि भनेर गएका थिएनन् । त्यहाँ संगीतसम्बन्धी केही कार्यक्रम पनि हुन्छ होला भन्ने सोचेर गएका थिए ।

उनी पुग्दा सम आइपुगेका रहेनछन् । उनीहरू एउटा कोठामा बसेर समलाई कुरिरहेका थिए । त्यहाँ उनीहरू सात–आठ जना थिए । तिनै मध्ये कसैले किन यत्तिकै बस्नु भन्दै गीत गाउन भन्यो ।

उनले गीत गाउन थाले । कन्ठ खोलेर ठूलो स्वरले गाउँथे उनी । त्यहाँ पनि त्यसै गरी मजाले गाउँदै थिए । उनले गाउँदागाउँदै ‘ओहो ! कसले गीत गाउँदै छ ?’ भन्दै सम ढोकाबाट भित्र छिरे ।

गाली गर्ने हो कि भन्ने लागेर उनीहरू सबै डराए । बरु साथीहरूलाई त समको बानी थाहा थियो होला । उनलाई त बिना अनुमति ठूल्ठलो स्वरमा हल्लै हुने गरी गीत गाएकोले अब समजीले हप्काउने होला भनेर निकै डर लागेको थियो ।

तर, समले त्यस्तो केही भनेनन् । बरु निकै नरम तर जिज्ञाशु भए झैं गरी फेरि सोधे रे ‘ओहो ! अघि कसले गाएको ?’

‘मैले गाएको’, दीपकले निर्भिक भएर भने ।

त्यसपछि बडो आश्चर्यको भावमा उनले दीपकलाई तलदेखि माथिसम्म निकै गहिरो गरी हेर्दै भने रे, ‘फेरि गाउनोस्त् ।’

उनले फेरि गाइदिए ।

‘ओहो ! स्वर त राम्रो रहेछ’, भन्दै समले हौसला दिएको शैलीमा सोधे रे, ‘अर्को आउँछ ?’

दीपकलाई लाग्यो, ‘सायद समजीले मेरो भ्वाइस टेस्ट लिन लाग्नु भयो ।’

‘आउँछ’, मुसुक्क हाँसेर दीपकले उत्तर दिए ।

‘ल, सुनाउनुस्’, समले आदेश र आग्रह मिसाएर भने ।

‘आफ्नै रचना र संगीतको सुनाऊँ’, हौसिँदै दीपकले भने ।

‘ओहो ! तपाई आफै रचना गर्न सक्नु हुन्छ ?’, समले आश्चर्य माने ।

‘गर्न सक्छु । गरेको छु’, दीपकले आत्मविश्वासी भएर भने ।

‘संगीत पनि आफै गर्न सक्नु हुन्छ ?’, सम अझ आश्चर्यचकित भए ।

‘गर्छु । सुनाऊँ ?’, विनम्र भएर दीपकले भने ।

‘ल सुनाउनुस्’, समले खुशी भएर बोले ।

‘रागमा आधारित एउटा गीत सुनाऊँ’, गाउनुअघि दीपकले समलाई सोधे ।

सम अझ आश्चर्यमा परे, ‘तपाईंलाई रागमा पनि गीत गाउन आउँछ ?’

‘मैले कोशिस गरेको छु’, उनले उस्तै विनम्र भएर भने ।

‘ल गाउनोस् । गाउनोस्’, सम गीत सुन्न हतारिए ।

उनले गीत गाए । उनले समजीको अगाडि गीत गाए । गीत सुनिसकेपछि दीपकलाई समले दीपककै शब्दमा ‘बडो खुबसित’ हेदै सोधे रे, ‘तपाईले कहिल्यै नाटक गर्नु भएको छ ?’

‘ग-या छैन’, दीपकले उस्तै सहज भएर भने ।

‘तपाई नाटक गर्नु हुन्छ ?’, सोच्दै नसोचेको अवसरको ढोका खोल्दै समले दीपकको आँखामा सीधा हेरेर भने ।

समको प्रश्नमा फेरि दीपकले भने, ‘अहिलेसम्म त ग¥या छैन ।’

‘ल, एउटा डाइलग बोल्नोस् । बोल्न सक्नु हुन्छ ?’, बीचतिरको पाना पल्टाएर प्रल्हाद नाटकको किताब दिदै समले भने ।

प्रसंग प्रल्हाद र हिरण्यकश्यपुको थियो ।

प्रल्हादले केवल नारायण–नारायण भन्यो र गुरुकुलमा गएर पनि सबै साथीभाइलाई नारायणकै नाम लिन लगायो । यसले

नारायणबाहेक अरु केही नबोल्ने भयो भनेर हिरण्यकश्यपुले गाली गर्दै भन्छ, ‘तेरो नारायण बौलाहा हो । तेरो विष्णुभन्दा ठूलो त म हुँ ।’ आदि आदि ।

त्यसको जवाफमा प्रल्हादको डाइलग थियो, ‘मेरा विष्णु बौलाहा होइनन् । उनको दिमाग ठिक छ ।’ आदि आदि । डाइलग निकै लामो थियो । त्यो अनुष्टुप छन्दमा लेखिएको थियो तर त्यति बेला दीपकलाई छन्दको बारेमा केही पनि थाहा थिएन । पछि उनले बुझे, लगातार बोल्नुपर्ने त्यो डाइलग लामो मात्र होइन, निकै कठिन पनि थियो । पुरै एक पृष्ठकै डाइलग थियो त्यो ।

मनमनै माथिदेखि तलसम्म पढिसेकपछि दीपकलाई लाग्यो, ‘यो डाइलग त अलि इमोसनल टाइपबाट बोल्नु पर्छ ।’

‘यसलाई म एक्सनसहित गरौं ?’ उनले समजीलाई सोधे ।

समले झन् अचम्म मान्दै भने, ‘तपाई एक्सनसाथ गर्नु हुन्छ ?’

‘म कोशिस गर्छु’, उनले भने ।

‘लौ त लौ, गर्नुस्’, अन्तिम स्वीकृति दिए झैं गरी समले भने ।

त्यसपछि उनले किताबका हरफहरू हेर्दे प्रल्हादको डाइलग बोले । त्यसरी उनले पहिलोपल्ट नाटकको डाइलग बोल्दै थिए ।
त्यो पनि नेपाली नाटकका शिखर पुरुष समको अगाडि ।

त्यति बेलाको त्यो घटना इन्च–इन्च सम्झँदै भन्छन्, ‘त्यति बेला मैले मुडलाई समातेर एक्सप्रेसन दिएको रहेछु ।’

दीपकको डाइलगले समजीलाई क्लिक भयो । समले दीपकको डाइलग एकदम मन पराए ।

‘राम्रो’, उनले निष्कर्ष सुनाए, ‘तपाईंले नाटक खेल्नै पर्छ ।’

त्यसपछि समले नाटकमै खेल्ने अरु दुई–तीन जनालाई बोलाए । त्यसमध्ये एक जना सागरिका भन्ने प्रल्हादकी नायिकाको चरित्र गर्ने केटी रहिछ । ऊसँग दीपकको हाइट नाप्न लगाए । तर, दीपक उसको कानसम्म मात्र पुगे ।

त्यसपछि समजीले थकथक मान्दै भने रे, ‘म तपाईंलाई प्रल्हादको सट्टामा रोध भन्ने प्रल्हादको असाध्यै मिल्ने साथीको पावरफूल रोल दिन्छु ।’ त्यसपछि सम उनीप्रति अझ बढी आत्मीय र प्रेरक भइरहे । पछिपछि अरु साथीहरू समजीकहाँ आउन छाडे । उनी एकजना मात्र बाँकी भए त्यहाँँ ।

त्यति बेला सुन्धाराको धरहरापछाडि गणबहालमा नेपाल प्रज्ञा प्रतिष्ठान (एकेडेमी)को संगीत तथा नाट्य शाखा थियो । बेलुका फर्कन अबेला भइसकेको हुन्थ्यो । समलाई लिन एउटा रिक्सा आउँथ्यो । त्यो उनलाई लिन र पु¥याउन आउने नियमित रिक्सा थियो । समको कार पनि थियो तर उनी त्यो विशेष अवसरमा मात्र प्रयोग गर्थे रे ।

‘बडो स्लो टाइपले कार चलाउने उहाँको गजज्बको ड्राइभिङ स्टाइल थियो’, दीपक सम्झन्छन् ।

साँझ समसँगै उनी पनि त्यही रिक्सामा घर फर्किन्थे । त्यति बेला सम ज्ञानेश्वरमा बस्थे रे । अक्सर फर्किंदा वटुको पपुलर कालुचाको रेस्टुरेन्टबाट प्याक गरेको मटन करी लिएर घर जान्थे । दीपकले भने अनुसार सम चिकेन र मटन करीका निकै सौखिन थिए । एउटै रिक्सामा घर फर्किंदा समबाट उनले बाटो मात्र काट्थेनन्, समबाट धेरै नयाँ–नयाँ कुरा सुन्ने अवसर पनि पाउँथे । जस्तो कि : ओमकारनाथले कसरी गीत गाउँथे ? फलानो उस्तादले कसरी गीत गाउँथे ? इटालीको एउटा ओपेरा सिंगर थियो, उसले कसरी गाउँथ्यो ?

समजीसँग रिक्सामा चढेर फेरि गणबहालबाट वटु हुँदै ज्ञानेश्वर फर्किदै गरेको नोस्टाल्जियमा पुगेको मुडमा दीपक भन्दै थिए, ‘अशोकजी ! ती रोचक प्रसंगहरू बडो कथाजस्तो गरेर समजी मलाई सुनाउनु हुन्थ्यो । समजीसँग अजीव किसिमको इन्टीमेसी भयो ।’ त्यो सिलसिला झन्डै दुई महिना चल्यो रे ।

त्यस बेला कारणवस् प्रल्हाद नाटक मञ्चन भएन । तर, उनले बोक्सी भन्ने एकांकी मञ्चन गरे । समजीको निर्देशनमा मञ्चित बाल मनोविज्ञानमा आधारित त्यो एकांकीमा उनले बालकलाकारको रोल गरेका थिए । २०२१ असार ९ गते त्यो एकांकी मञ्चन भएको थियो । सबैले एकांकीको प्रशंसा गरे । राजा महेन्द्र पनि त्यो एकांकी हेर्न आएका थिए । एकांकी हेरिसकेपछि उनले स्टेजमा सबैसँग बसेर फोटो पनि खिचाएका थिए रे ।

त्यसपछि समजी र राजा महेन्द्रबीच कुराकानी भएछ । तर, दीपकले उनीहरूको कुराकानीबारे कुनै अनुमान गर्न सकेनन् । राजा महेन्द्र सानो स्वरमा बोल्थे रे । उनलाई बाहिर गाडीसम्म पु¥याएर समजी फर्किएपछि निकै सुखद समाचार सुनाएछन्, ‘राजा खुशी होइबक्स्यो । उहाँले सबैको प्रशंसा गरिबक्स्यो । तर, जंगमजी, तपाईंलाई सरकारबाट इनाम बक्स भएको छ । मीठाई खुवाउन भनेर तपाईलाई सय रुपियाँ दिनु भनी बक्सेको छ । तपाईंलाई बधाई छ ।’

सम सबैलाई ‘तपाईं’ भनेर सम्बोधन गर्थे । समको सबैभन्दा ठूलो विशेषता भनेको उनले कसैलाई पनि तिमी वा तँ भन्ने शब्द प्रयोग गर्ने नगरेको दीपक सुनाउँछन् । भन्दै थिए, ‘मजस्तो सानो फुच्चेलाई पनि उहाँले तपाईं भन्नु हुन्थ्यो । पछि थाहा भयो, घरमा श्रीमतीलाई पनि उहाँले तपाई भन्नु हुँदो रहेछ । छोरालाई समेत उहाँ तपाई नै भन्नु हुँदो रहेछ । नातिनातिना सबैलाई पनि उहाँ तपाईं नै भन्नु हुँदो रहेछ ।’

सुरुमा त समले तपाईं भन्या सुनेर दीपकलाई अचम्म र असजिलो दुवै लाग्थ्यो । तर, पछि विस्तारै बानी पर्दै गयो । सम अर्थात बराबर । उनले आफ्नो नाममा त्यो टाइटल पनि त्यसैले राखेका थिए ।

राजा महेन्द्रले पुरस्कारस्वरुप दिएको सय रुपियाँ दीपकले घर लगेनन् । त्यो पैसाले किनेको थुप्रै मिठाई सबैले बाँडेर खाए । उनीहरू पच्चीस–तीस जना थिए । मीठाइले वातावरणलाई निकै मीठो बनायो ।

त्यस बेला अहिलेको संगीतकार दीपक जंगमले पहिलो पटक राजा महेन्द्रको हातबाट संगीतको सट्टा अभिनयबाट सय रुपियाँ पुरस्कार पाए । त्यो एउटा सुखद आश्चर्य थियो ।

दीपक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button