खोप केन्द्रकी फूलमायालाई ५ बजे ५ प्रश्न

ब्राम्हणपुत्रको लकडाउन डायरी – १८
भरत शर्मा

कोरोना महामारीको दोस्रो भेरियन्ट चलिरहँदा आइतबार दोस्रो डोज खोप लगाउने तालिका थियो । दोस्रो चरणको महामारी आउनुभन्दा अघि चैत २५ गते बीर अस्पतालमा गएर चिनियाँ कम्पनीको ‘भेरोसेल’ खोप लगाएपछिको दोस्रो चरणको खोप अभियानको पहिलो दिन आज नै पालो गरेको थियो ।

बिहानैदेखि आज खोप लगाउने र खोपका बारेमा लकडाउन डायरीको १८ औं दिनको वृतान्तबारे लेख्ने योजना तय भएको थियो । खोप लगाउन कहाँ जाने होला ? पहिलो दिन भएकाले सबै खोप केन्द्रमा भीड हुन्छ कि भन्ने लागेको थियो । साथमा खोप लगाएका नेपालनाम्चाका सम्पादक मित्र अशोक सिलवालसँग काठमाडौंको नयाँ बजार भेट गर्ने र त्यसपछि खोप लगाउने योजना बन्यो । त्यहाँ नजिकै रहेको खोप केन्द्रमा सयौंको लाइन देखेपछि कता जाने भनेर रनभुल्ल भयो । त्यसपछि मैले पुष्पलाप स्मृति पार्क केन्द्रमा लाइन कम छ भनेपछि हामी पार्कतिर गयौं । लाइन बस्यौं, लाइन दुई वटा थिए । एउटा लाइन फटाफट, अर्को अलि लोसे । फटाफट चल्ने लाइनमा बसेका मित्र अशोकले मैले भन्दा ३० मिनेट अगाडि नै खोप लगाए । एक घण्टामा मेरो पनि पालो आयो । मित्र अशोकले खोप लगाउन लाग्दा म लाइन छोडेर फोटो खिच्न हिँडें । उनले विभिन्न पोजमा फोटो खिच्नु भन्ने आदेश दिए, मैले पनि पालना गर्दै फोटो खिचेँ । खोप लगाइदिने स्वास्थ्यकर्मी हसिँली मिजासकी रहिछिन् । मित्र अशोकले खोप लगाएपछि ती खोपकर्मीलाई सोधे, ‘केही समय आराम गर्नुपर्छ ?’

‘३० मिनेट जति आराम गर्नुस्’, उनले भनिन् ।

पार्कका रुखहरुबाट हावा चलेको थियो, शीतल क्षेत्र भएकाले उनी अलि पर पार्कका उनका अर्का मित्रसँग गफ हाक्न हिँडे । सम्पादक अशोक मित्रहरुसँग गफको लयमा रमाउने पात्र हुन् । म भने लाइनमा थिएँ, बल्ल मेरो खोप लगाउने पालो आयो । मेरो पनि फोटो खिच्नु पर्छ भनेर मित्रलाई बोलाएँ । जब खोप लगाउने बेला भयो, अशोकले स्वास्थ्यकर्मीको नामको बखान गरे, ‘उहाँको नाम फूलमाया हो, फूलमायाले खोप लगाउँदै हुनुहुन्छ, तपाईले मेरो राम्रो फोटो खिच्नु भएन होला तर तपाईको राम्रो आउँछ ।

त्यति नै बेला फूलमाया फुत्त बोलिन, ‘राम्रो मान्छेको राम्रो फोटो आउँछ नि ।’

‘पाखुरा हलुको बनाउनुस् ताकि खोप लगाउँदा दुखेको अनुभव हुँदैन’, फूलमायाले भनि ।

‘हुन्छ हजुर !’, भन्दै थिएँ, उनले त खोप लगाइदिइसकिछन् । खोप लगाउँदा दुखेको एकरत्ति अनुभव भएन । मित्र अशोकले खोप लगाइरहँदाको मेरो फोटो चिच्न त खिचे तर फोटो मैले उनकै राम्रो खिचेछु । पछि मात्र थाहा भयो । हा हा हा ।

जे होस्, फूलमाया नाम र उनको स्वाथ्यकर्म कलाको बखान गदैं हामी फेरि ३० मिनेट पार्कमा कोरोना महामारी र खोप अभियानबारे समीक्षा गर्दै दुई भाइको खोप वार्ता गरेर बस्यौं ।

फूलमाया

नेपालका संस्थापक कम्युनिष्ट नेता पुष्पलालको नाममा नरदेवीको छेउमा बनेको पार्कमा समाजवादी कम्युनिष्ट देश चीन सरकारबाट उपहारमा आएको कोरोना महामारी विरुद्वको खोप लगाउनु हाम्रो लागि संयोग नै बन्यो । आजदेखि शुरु भएको कोरोना खोपको दोस्रो चरण जेठ १५ गतेसम्म जारी रहने छ । पहिलो चरणमा भेरोसेल लगाएकाहरुले मात्र दोस्रो चरणको यो खोप अभियानमा सहभागी हुन पाउँछन् ।

देशमा कम्युनिष्टको राज छ । सरकारले जनताको स्वास्थ्यमा ध्यान नदिएको भनेर जनता सरकारको खिल्ली उडाइरहेका छन् । धन्न ! छिमेकी चीनले उपहार दिएको खोप लगाएर कोरोना विरुद्धको आत्मबल प्राप्त गर्ने अवसर पाइयो । मनमनैै खुसी हुँदै हामी दुईभाइ पार्कमा बहकिरहेका थियौं ।

सम्पादक सिलवाल भन्दै थिए, ‘हामीले ठूला कुरा र ठूला मान्छेका कुरा होइन, भूँई मानिसका बारेमा लेख्नुपर्छ । आज हामीले खोप लगायौं । खोप लगाइदिने फूलमायाको अनुभव लेख्नु पर्छ । देशभर यो महामारीमा यस्तै हजारौं फूलमायाहरु आफू र आफ्नो परिवारको भन्दा पनि जनताको सेवामा खटिएका छन् । हामीले महामारीमा खटिने सबै फूलमाया जस्तै स्वास्थ्यकर्मीलाई सलाम गर्दै उनीहरुको विचार लेख्नु पर्छ । उनीहरुका मनका कुरा लेख्दा हाम्रा खोप लगाएका हात र मन पनि शान्त हुन्छ ।’ सम्पादक सिलवालको यही आर्दशवाणी सुनेपछि म फूलमायाको नम्बर लिन जाने भएँ ।

‘तपाई जानुस् । उहाँको फोन नम्बर मागेर बेलुका कुरा गरेर उहाँको अनुभव लेख्नुस्’, उनले आदेश दिए ।

‘सम्पादकको जो आदेश ! हजुर’ भन्दै फूलमायाको नम्बर लिनका लागि म प्रेस लेखेको ज्याकेट भिरेर गएँ । उनी त्यति बेला पनि खोप लगाउन ब्यस्त थिइन् । तर, उनले केही प्रतिक्रिया नदिई मोवाइल नम्बर दिइन् । नम्बर दुईपटक दो-याएर लिएँ ।

खोप लगाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि मित्रहरुका टेलिफोन आए । खोप लगाएको दिन आराम गर्नुपर्छ भन्ने सोच बनाएर बसेको थिएँ । चीनबाट प्रा.डा वाङचुङले फोन गरे । एक घण्टा संवाद भयो, नेपालमा कोरोनाको अवस्था, खोप लगाएको अनुभव, राजनीति र भारतमा कोरोनाको अवस्थाको समीक्षा भयो । उनले अन्तमा खोप लगाउनुभएकोमा धन्यवाद दिए । अब तपाईंलाई हामी चीनमा स्वागत गर्न सक्छौं भनेपछि खोप लगाएका जतिकै आत्मबल थप भयो ।

‘कहिले भन्ने कुरा छैन तर अब तपाईं चीन आउनसक्नु हुन्छ’, उनले भने ।

चार बज्न लागेको थियो । चार बजेदेखि ५ बजेसम्मको अध्यात्म दर्शनको नियमित अनलाइन कक्षा सकेँ ।

सम्पादक सिलवालसँग दिउँसो सल्लाह भए अनुसार दिउँसो हाम्रो पाखुरामा खोप लगाइदिने फूलमायासँग टेलिफोनमा पाँच बजे पाँच प्रश्न राखेँ ।

फूलमायालाई पाँच बजे पाँच प्रश्न

शुरुमा कुरा गर्न लजाएको आवाज आए पनि मेरो प्रश्न सुनेपछि फूलमाया खुल्न थालिन र भनिन्, ‘स्वास्थ्यकर्मी भएपछि खटिनु त परिहाल्यो नि, सेवा गर्नु नै मेरो पेशा हो, सेवा गर्न पाएकोमा निकै खुसी छु ।’

१) कोभिडविरुद्धको महायुद्धमा फ्रन्ट लाइनमा बसेर सेवा गर्नु पाउनु भएको छ, कस्तो लाग्दै छ ?
स्वास्थ्यकर्मी भएपछि हामी जनताको स्वास्थ्य सेवा दिनलाई पछि हटनु हुँदैन । सेवा गर्नु नै हाम्रो जिम्मेवारी हो, मलाई त खोप अभियानमा खटिन पाएकोमा निकै खुसी छ । मलाई यो कुनै कठिन काम लाग्दैन ।

२) के खोप लगाउनुमात्र पर्याप्त हो ?
आत्मबल द¥हो बनाउनुस् । खोप लगाएपछि कोरोनाबाट बच्न सकिन्छ । तर, खोप लगाएपछि पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको सुरक्षा मापदण्ड पालना गर्नुस् ।

३) खोप अभियानमा खटिनु भएको छ, कतिको डर लाग्छ ?
हामी स्वास्थ्यकर्मीहरुले किन डराउनु ? हामीले त विरामीको सेवा गर्ने हो, मलाई त डर लाग्दैन । मजस्ता हजारौं स्वास्थ्यकर्मी फिल्डमा छन् । हामीले आफू सुरक्षित भएको महसुस गर्दै काम गर्ने हो ।

४) खोप लगाउने आउने मानिसको मनोविज्ञान कस्तो पाउनु भएको छ ?
खोप लगाउन आउनेहरु खोप लगाएपछि आफू सुरक्षित भएको अनुभव गर्दै खुसी भएको पाएको छु । सबै मानिसहरु महामारीको बेला खोप लगाउन पाएकोमा खुसी हुन्छन् ।

५) खोप लगाउन आउनेलाई केही सन्देश दिनु हुन्छ ?
पहिले डोज लगाएको कार्ड लिएर, मास्क लगाएर, खोप केन्द्रको नियम पालना गरेर सरकारले तोकेको मिति अनुसार खोप लगाउन तपाईंको लोकप्रिय मिडिया नेपालनाम्चामार्फत सबैमा अनुरोध गर्छु ।

‘हामी जस्तो मान्छेको बारेमा पनि लेख्न खोज्नु भएकोमा धन्यवाद । म तारकेश्वर नगरपालिका वडा न. २ को स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी हुँ । मेरो पुरा नाम फूलमाया तामाङ हो । देशमा महामारीको समयमा जनताको सेवा गर्ने काममा खटिन पाएकोमा आफू र आफ्नो पेशाप्रति गर्व गर्छु’, अन्तमा फूलमायाले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button