गगन-रविलाई एकजना ‘पिएचडी’ नागरिकको ११ बुँदे चिठ्ठी

जयप्रसाद लम्साल (पिएच.डी.)

यस २०७९ सालको आम निर्वाचनमा देश र जनताका लागि केही गरेर देखाउँछु भन्ने अठोट गरेका उम्मेदवारहरूलाई विस्वास गरेर नेपाली नागरिकले अमूल्य मत दिए र यहाँहरूलाई आफ्नो प्रतिनिधि छाने । यहाँहरू हाम्रो जनप्रतिनिधि छानिनु भएकोमा हार्दिक वधाइ तथा शुभकामना ।

यस सन्दर्भमा गगन कुमार थापा, रवि लामिछाने र सोविता गौतमलाई विशेष वधाइ तथा शुभकामना । म आफू गगन थापाले निर्वाचन लड्ने काठमाडौ क्षेत्र नं। ४ को बासिन्दा भएको र उहाँले “अब म देशको कार्यकारी नेतृत्व सम्हाल्छु र देशका लागि केही गर्छु” भनेर प्रस्तुत हुनुभएकोले हामीले उहाँको यस अठोटको सफलताको कामना गर्नैपर्ने हुन्छ । गगन थापा युवा भए पनि नेपालको राजननितमा नयाँ भने होइन । थापाको जस्तै अठोटकासाथ माननीय रवि लामिछाने पनि प्रस्तुत हुनुभएको छ । एक जना युवा पत्राकारले एक्कासी “अब म देशको कार्यकारी नेतृत्व सम्हाल्छु र देशका लागि केही गर्छु” भन्दै आफूले गरिरहेको पेशालाई चटक्कै छोडेर राजनीति नामको भुमरीमा झ्वाम्मै हाम फालेर तुरुन्तै एक हदको सफलतासमेत पाउँछ भने उहाँको अदम्य आँट र कुसलताको प्रशंसा गर्दै शुभकामना दिनुपर्ने हुन्छ । सोविता गौतमले देशको कार्यकारी नेतृत्वको दाबी त गरिहाल्नु भएको छैन तर कलिलै उमेरमा उहाँमा आएको सोचाइको परिपक्वता, साधापन, वाक कला र अनेकन कुराको ज्ञान तथा विद्वताले उहाँ पनि आउँदा दिनमा यस देशको कार्यकारी नेतृत्वको लायक हुनुहुन्छ जस्तो लाग्छ । यसका लागि उहाँलाई पनि विशेष वधाइ र शुभकामना ।

यस मुलुकमा कार्यकारी पद पाउन र टिकाउन भने त्यति सहज भने छैन । उछिनाउछिन गर्ने र भाँडभैलो मच्चाउनेहरूको खाँचो छैन । तर पुरानो पात झर्छ र नयाँ पात पलाउँछ । अब पक्कै पनि देश हाक्ने ड्राइभिङ सिटमा बस्ने यहाँहरू नै हो । अब देशका लागि केही गर्ने पनि यहाँहरूले नै हो । यस सन्दर्भमा एक सचेत नेपाली नागरिकको हैसियतले यहाँहरू जस्ता होनहार जनप्रतिनिधिहरूबाट देश र जनताको भलो हुने निम्नअनुसारका काम होउन् भन्ने सुझाव राख्न चाहान्छुः

१. पुराना राजनैतिक दल र नेताको भोट र सत्ता राजनीतिका कारण देशको अर्थतन्त्र अत्यन्त वितरण मुखी भएको छ । हचुवा तरिकाले अनेक प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको छ जसको कारण देशको एक खर्ब जति दुर्लभ राजस्व खर्च हुन्छ । विश्वका धेरैजसो सम्पन्न मुलुकहरूमा पनि आधारभूत तहसम्मको शिक्षा मात्र निशुल्क र अनिवार्य गरेको देखिन्छ । तर हाम्रो मुलुकमा भोट बढ्छ कि भन्ने अपेक्षामा गरिएका हचुवा तरिकाको १२ कक्षासम्मको निशुल्क साधारण शिक्षा, १२ कक्षासम्मको हचुवा तरिकाको निशुल्क पाठ्यपुस्तक वितरण, हचुवा तरिकाको छात्रवृत्ति वितरण, हचुवा तरिकाको स्यानिटरी प्याड वितरण, हचुवा तरिकाको दिवा खाजा कार्यक्रम, हचुवा तरिकाको कृषि अनुदान, जागिरका लागि खोलिएका र खोलिने विद्यालयदेखि विश्वविद्यालयहरू, बढाउँदै लगिने निशुल्क बिजुली युनिट, प्रदेशमा चाहे जतिलाई मन्त्री बनाएर गरिने खर्च आदि इत्यादिले पनि देशको फजुल खर्च चुलिएको छ । हाम्रो जस्तो बिपन्न मुलुकको अर्थतन्त्रले यस प्रकार मनमोजी तरिकाले गरिने राजस्वको खर्च धान्दैन । देशको सिमित राजश्व सकेसम्म देशको समृद्धिका लागि उत्पादनका काममा उपयोग गर्नुपर्ने भएकाले वितरण हुने सामाजिक सुरक्षा भत्ता विपन्न वर्गमा मात्र सिमित हुनुपर्छ र देशमा हुने अनेकन फजुल खर्चमा कडाइका साथ नियन्त्रण गरिनु पर्छ। देशको राजश्व मनमोजी तरिकाले उडाउने र विदेशीले ऋण र अनुदान दिए मात्र विकास निर्माणका काम गर्ने दरिद्र सोच हुनुहुँदैन । अरूले दिएको दानले देश सम्पन्न हुँदैन आफ्नै स्रोत र सोच चाहिन्छ। यहाँहरूले देशमा भएको स्रोतलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने पहल गरिदिनुपर्यो ।

२. देशको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन यहाँको जमिन र जलको अधिकतम उपयोग, जनशक्तिको प्रभावकारी उपयोगका लागि शिक्षामा सुधार र सिपमुलुक तथा प्राविधिक शिक्षा, पर्यटन व्यवसायको उन्नति, व्यवस्थित शहरिकरण, शुशासन आदि कुरा आवश्यक हुने भएकाले यी विषयमा उपयुक्त नीति तय गरी त्यसको प्रभावकारी कार्यान्वय गरिनु आवश्यक छ । देशको उत्पादन बढाउन र जनताको मन जित्न शुशासन र भ्रष्टाचार नियन्त्रण अनिवार्य छ ।

३. जमिनको उपयोगमा कृषि उन्नति र वनको आधुनिकिकरणका काम गरिनु पर्छ । कृषि उन्नतिका लागि स्थानीय स्तरमा कृषि भूमिको वर्गिकरण, भूमि बैङ्क स्थापना, भूमि बैङ्क मार्फत बाँजिदै गएका कृषि भूमिको उपयोग र कृषि फार्मिङ, चक्लाबन्दी र सहकारी खेति, बगर खेति आदि गरिनु पर्छ । कृषिको व्यावसायिकरणका लागि कृषि बाली छनौट गर्दा कृषि उत्पादनको बजार र तुलनात्मक लागत तथा फाइदा हेरेर छनौट गरिनु पर्छ । उदाहरणका लागि महाभारत क्षेत्रको तल्ला भागमा तरकारी र फलफूल खेति हुनसक्यो भने त्यहाँको तरकारी र फलफूलले भारत सिमासम्मको बजार पाउँने हुँदा काम गरेअनुसार फाइदा पाउन सकिन्छ । सिचाइका लागि जमिनभन्दा धेरै तल रहेका खोलाको पानीको उपयोग सहज नहुने भएकाले वर्षाको पानीको सञ्चिति र उपयोग, सम्भव भएका स्थानमा लिफ्ट सिचाइ र थोपा सिचाइ आवश्यक छन् । कृषिको दिगो विकासका लागि प्राङ्गारिक खेति प्रणालीले महत्व पाउनु पर्छ । यसका लागि पशुपालन र कृषि बालिलाई साथैसाथ अगाडि बढाउने र कृषि भूमिमा भलको उपयोग गर्नुपर्छ । कृषि उन्नतिका सन्दर्भमा कृषि सहकारीको मजबुतिकरण र यस मार्फत कृषि अनुदान, कृषि बजारिकरणमा सरकारको हस्तक्षेप, कृषि शिक्षाको व्यापकता, कृषि अनुसन्धान, जङ्गली जीव जन्तुको नियन्त्रण, कृषक प्रोत्साहनका कामलाई पनि प्रभावकारी बनाइनु पर्छ ।

४. वनको आधुनिकिकरणका लागि पुरानो वनलाई क्रमसः मासेर पौलानियाँ, रबर, साल, सिसौ लगायत आधुनिक र पुराना रैथाने रूख विरुवा लगाउन आवश्यक छ । नयाँ विरुवा लगाइएको वनमा विरुवा नहुर्कदासम्म विभिन्न बाली लगाउन सकिन्छ । वनलाई पशुको चरण बनाइयो भने वनले भने जस्तो फाइदा दिदैन । वनको खाली जमिनमा डाले घाँस र भूइँ घाँस लगाएर पशु फार्मिङ गरिनु पर्छ । वन भित्रको खाली जमिनमा जडिबुटीस सजिवन, निगुरो, कर्कलो, सिस्नु जस्ता तरकारीस तरुल जस्ता विभिन्न कन्दमुल र अदुवा, बेसार, खोर्सानी, टिम्मुर अलैची जस्ता मसला बालीको खेति गर्न सकिन्छ । राष्ट्रिय निकुञ्जहरू भित्र ताल पोखरी बनाउने र सिरिस, असारे, गुराँस जस्ता फूलका रुख बिरुवा लगाएर तिनलाई साँच्चिकै निकुञ्ज बनाइनु पर्छ ।

५. देशमा उपलव्ध जलस्रोतलाई जल विद्युत उत्पादन, सिचाइ, शुद्ध पिउने पानीको व्यवस्था, पशुपालन, ताल पोखरी निर्माण र हरियाली प्रवर्धनमा उपयोगको प्रयास हुनुपर्छ । साना, मझौला र ठुला जल विद्युत निर्माणका लागि लगानी जुटाउने, योजना सञ्चालन गर्ने, जल विद्युतको उपभोग बढाउने र निकासी गर्ने लगायतका कुरामा सबै दल र विज्ञले उपयुक्त नीति तय गरेर त्यही अनुसार काम अगाडि बढाउन आवश्यक छ । सकेसम्म वर्षाको पानीलाई बगेर खेर जान दिनु हुँदैन । त्यो पानीलाई डोबिल्का, आहाल, कुण्ड, पोखरी र तालमा थुनेर सुख्खा समयमा उपयोग गरिनु पर्छ । वर्षाको पानी सम्भव ठाउँमा आहाल र पोखरी बनाएर थुनेर राख्न सकियो भने त्यसले चिस्यान बढाउन ठुलो सहयोग हुन्छ र देशमा हरियाली प्रवर्धन पनि हुन्छ । पानी थुन्ने काम प्रभावकारी हुनसक्यो भने बाढी, कटान र डुबानका समस्या पनि नियन्त्रण गर्न सकिन्छ । सहरमा रहेका खोलामा प्रदुषण बढेकाले तिनमा ठाउँ ठाउँ बाँध बनाएर पानी थुन्ने र खोल्ने गरिनु पर्छ । यसले ती खोलाको फोहोर बगेर जाने र पानी पनि धेरै र सङ्लो देखिने हुन्छ ।

६. देशको उन्नतिका लागि शिक्षाको ठूलो भूमिका हुन्छ । शिक्षाले नागरिकमा ज्ञान, गुण र सिप सिकाउँछ । उनीहरूलाई देशप्रेमी, इमान्दार र मिहिनेती बनाउँछ । देशप्रेमी नागरिकले देशका लागि त्याग गर्ने, देशको कानुनलाई श्रद्धाकासाथ पालन गर्ने, देशको उत्पादन उपभोग गर्ने र स्वदेशीपनमा रमाउने हुन्छन् । देशप्रेमी, इमान्दार र मिहिनेती नागरिकबाट तिब्र गतिमा देशको विकास हुन्छ । तर हालको किताबमुखी घोकन्ते शिक्षाबाट नागरिकले यी कुरा नपाउने भएकाले शिक्षामा ठुलो सुधारको खाँचो छ । यसका लागि पाठ्यक्रम र शिक्षण प्रक्रियामा आमूल सुधार हुनुपर्छ । राजनीतिक दलसँग आवद्ध शिक्षकका पेशागत सङ्गठनमाथि नियन्त्रण गरेर शिक्षण पेशालाई प्राज्ञिक र मर्यादित बनाइनु पर्छ । विद्यार्थीको असफलतामा शिक्षक जिम्मेवार हुनुपर्ने परिपाटी बसालिनु पर्छ । सञ्चालनमा रहेका विद्यालय र कलेजहरूलाई कृषि व्यवसाय, पर्यटन व्यवसाय र वन तथा जलस्रोत उपयोग र अन्य उपयुक्त सिपका तालिम केन्द्र, प्राविधिक विद्यालय र कलेजमा रुपान्तरण गरिनु पर्छ ।

७. वैदेशिक रोजगारीमा जान चाहाने युवालाई विभिन्न प्रकारको सिप तालिम दिएर दक्ष कामदारका रूपमा निश्चित अवधिका लागि मात्र विदेश जान दिने पारिपाटी बसालिनु पर्छ । त्यो अवधिपछि तिनलाई स्वदेसमै परिवारसँग रहेर तिनको रुचिको व्यवसाय गर्न आवश्यक तालिम र ऋणको व्यवस्था गरिदिनु पर्छ ।

८. देशमा पर्यटन व्यवसायको उन्नतिका लागि आवश्यक पूर्वाधार निर्माण र गुणस्तरीय तथा भरपर्दो पर्यटन सेवामा जोड दिइनु पर्छ । छिमेकी मुलुक भारतमा त्यहाँको विकाससँगै धनीमानीको सङ्ख्या पनि बढिरहेको र त्यहाँका धेरै ठाउँमा बैसाकदेखि असोजसम्म निकै गर्मी हुने भएकाले नेपालको पर्यटन व्यवसायको उन्नतिका लागि भारतीय पर्यटकलाई आकर्षण गर्न विशेष पहल गरिनु पर्छ । यसका लागि भारतका सम्भव भएका ठुला सहरमा सोझो हवाइ सम्पर्क र पर्यटक सम्पर्क कार्यालयहरू खोलिनु पर्छ ।

९. देशको सुन्दरता र पर्यटन व्यवसाय बढाउन देशका सबै सहरलाई व्यवस्थित गर्नु आवश्यक छ । यसमा सहरको फोहोर व्यवस्थापन, सरसफाइ, प्रदुषण नियन्त्रण र हरियाली निर्माणका कामलाई महत्व दिनुपर्ने हुन्छ । यी कुरा सहरी विकासका कार्यालय, स्थानीय सरकारका तल्ला एकाइ र विद्यालय मार्फत अगाडि बढाउँदा सफल भइन्छ ।

१०. देशका समग्र विकासका लागि शुशासन पहिलो आवश्यकता हो । जनतामा शुसानको महसुस गराउन भ्रष्टाचार नियन्त्रण, फजुल खर्च नियन्त्रण, सार्वजनिक निकायमा हुने ढिलासुस्ति नियन्त्रण, सार्वजनिक निकायमा कर्मचारी अनुशासनहिनता तथा दण्डहिनताको अन्त र शासन प्रशासनमा पारदर्षिता जस्ता कुरा आवश्यक छन् । भ्रष्टाचार नियन्त्रणका लागि सम्पूर्ण शासन प्रशासन कठोर रूपमा प्रस्तुत हुनुपर्ने देखिन्छ । प्रधानमन्त्री मन्त्रीसँग, मन्त्री सचिवसँग, सचिव महाशाखा प्रमुख र विभागीय प्रमुखसँग र विभागीय प्रमुख तथा कार्यालय प्रमुखहरू मातहतका कर्मचारीसँग कठोर भएर प्रस्तुत हुन आवश्यक छ । भ्रष्टाचार नियन्त्रणका लागि कोही पदाधिकारी र कर्मचारीले भ्रष्टाचारको कसुरमा सजाय पाउने भयो भने उसको अनुगमन गर्ने एक तह माथिको पदाधिकारी र कर्मचारीले पनि सानो सजाय पाउने प्रावधान हुनुपर्छ । भ्रष्टाचार नियन्त्रणका लागि ठेक्कापट्टाका कामलाई पारदर्सी र सहज बनाउने उपाय खोजिनु पर्छ । परराष्ट्र मन्त्रालय, यातायात व्यवस्था कार्यालय, वैदेशिक रोजगारसँग सम्बन्धी कार्यालय, मालपोत, नापी जस्ता सार्वजनिक निकायमा जनताले भोगेका सास्ति हटाउने प्रयास हुनुपर्छ । त्यसैगरी उद्यमीले उद्योग दर्ता र सञ्चालन गर्दा राजनितकर्मी, कर्मचारी, डन र स्थानीय ठालुबाट दिइने सास्तिमाथि पनि अङ्कुस लगाइनु पर्छ । देशको राजश्व चुहावटका क्षेत्र खोज्नु र टालिनु पर्छ । कर्मचारी अनुशासनका लागि तिनका राजनैतिक दलसँग नाता जोडिएका पेसागत सङ्गठनलाई बन्देज गरिनु पर्छ । फजुल खर्च नियन्त्रणका लागि अनेकन नीतिगत सुधार आवश्यक छन् भने दण्डहिनताको अन्तका लागि भने भएका नीति नियम र कानुनको पालना भए पनि पुग्छ । राजनीतिक नियुक्तिका लागि खास अधार तय गरेर पारदर्षी ढङ्गलले योग्य र इमान्दार पात्र छनौट गर्न आवश्यक छ ।

११. यहाँहरू जस्ता प्रतिभासँग पक्कै पनि देश निर्माणका कामको समग्र खाका र योजना होला । मैले सुझाएका काम त्यस खाकामा होलान नै । मैले यी काम प्राथमिकतामा परून भन्न खोजेको मात्र हो । देश निर्माणको मिसनमा अगाडि बढ्दै गर्दा बिगतमा सरकार सम्हाल्ने दल र नेतृत्वले गरेका गल्तिहरू केलाएर पनि हेर्नुहोस । तपाईँहरू ती गल्तिबाट बच्नुहोस । प्रजातान्त्रिक आन्दोलनका मूल हस्ति स्वर्गीय बी। पी।कोइरालाले भने जस्तै सत्तामा पुगेपछि सुकिलामुकिलालाई हाबी हुन नदिनुहोस । नजिक भएर फाइदा लिन चाहाने विदेशी र बिचौलिया बर्गबाट सतर्क हुनुहोस् । कुनै विदेशी राजदुतले नेकपा एमालेका तत्कालीन महासचिव तथा उदियमान बामपन्थी नेता स्वर्गीय मदन भण्डारीलाई उनको देश भ्रमणका लागि पटक पटक गरेको निम्तालाई भण्डारीले “भाषा सिक्तै छु, त्यसपछि जाउँला” भनेर टारेका थिए रे । यहाँहरू पनि विदेश सयर र रामरमितलाई त्यसैगरी टार्न सक्नुहोस् । थीति बिगारिएको अवस्थामा थीति बसाल्न र देश निर्माणका काममा खट्ता धेरै चुनौति आउलान तर आँट, अठोट, योजना र इमानका साथ अगाडि बढ्दा आएका चुनौति सहजै सेलाउँछन् ।

यहाँहरूमाथि जिम्मेवारी आएको छ वा आउँछ । देश र जनताको भविश्य यहाँहरूको काँधमा छ । सबैको साथ सहयोगमा यस देशलाई उचाल्नुहोस । आफ्नो नाममा इतिहास लेख्न यहाँहरूलाई सफलता मिलोस्, फेरि पनि वधाइ र शुभकामना ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button