
‘मृत्युशैय्यामा गीता होइन, गीत’
अशोक सिलवाल
आज १९ मंसिर २०७७ ।
तर, त्यो अप्रिय १९ मंसिर २०४७ । त्यही दिन गुमाएका थियौं, हामीले हाम्रा प्रिय स्वरसम्राटलाई । र, आज यत्तिका बर्ष बिते । र, पनि प्रिय नारायणगोपाल हामीसँगै छन् । हाम्रा वेदनाहरुमा छन् । खुशीहरुमा छन् । र, रहिरहनेछन् ।
प्रिय ! तिमीलाई हामी हाम्रो प्रेम र पवित्रता अर्पण गर्छौं । र, सुनिरहनेछौं, ‘यति चोखो यति मीठो’ सधैं सधैं तिम्रा सबै सबै गीत । र, यहाँ म सम्झिरहेको छु हाम्री प्रिय गायिका ज्ञानु राणासँगको त्यो एक दिनको भेट र तिम्राबारेका ती कुरा ।
एक दिन रेडियो नेपालबाट मोटरसाइकलमा बाहिरिदै थिए नारायणगोपाल । उनीसँग सिंहदरबारमा भेट भयो ज्ञानु राणाको ।
‘तिम्रो आवाज मलाई धेरै मनपर्छ । ज्ञानु ! तिमीसँग म एउटा लोकगीत गाउँछु । तिमीले मलाई सिकाउनु पर्छ है’, मोटरसाइकल रोकेर नारायणले भने रे ।
‘दाई ! तपाईंले के कुरा गर्नु भएको ? यस्तो कुरा गरेर मलाई किन लज्जित बनाउनु भएको ? दाईसँग गीत गाउन पाउनु त मेरो भाग्य हो । म बुवा (जनकविकेशरी धर्मराज थापा)लाई भनेर गीत माग्छु’, त्यति भनेर उनी आफ्नो बाटो लागिन् । नारायणगोपाल पनि आफ्नो बाटो लागे । त्यसरी उनी नारायणगोपालसँग मिसिइन् । र, जन्म्यो एउटा सर्वाधिक सदाबहार गीत,
‘सिरीमा सिरी नि कान्छी बतासै चल्यो ।’
गीत खुबै राम्रो भयो । त्यो गीत यति चल्यो कि दिनका दिन रेडियो नेपालबाट बज्न थाल्यो । र, देशैभरि जनजनमा मुखमा झुन्डियो ।
त्यसैताकाका जल्दाबल्दा गीतकार राममान तृषितले ज्ञानुलाई एक भेटमा भनेछन्, ‘तिमीले गाएको सिरीमा सिरी एकदमै मनप-यो । ज्ञानु ! तिमीले मेरो पनि एउटा गीत गाइदिनुप¥यो ।’
‘हुन्छ दाई’, उनले भनिन् ।
‘मान्छेको माया यहाँ खोलाको पानीजस्तो
किनारलाई छोई भाग्ने लहरको बानीजस्तो ।’
शिवशंकरले सात दिन लगाएर भरेको संगीतमा नारायणगोपाल र ज्ञानुले स्वर भरे । त्यो गीत फेरि उत्तिकै चल्यो ।
‘ती र त्यस्ता गीत गाउँदा झ्वाट्टै मर्न पाए त्यो कति बेस्ट हुन्थ्यो होला ?’, मैले सोधें, ‘तपाईलाई के लाग्छ ?’
‘ओहो ! त्यस्तो भयो भने त सिधै स्वर्ग पुगिन्छ । सिधै भगवानको पासमा पुगिन्छ’, दश औला जोडेर सिलिङतिर हेर्दै उच्च स्वरमा उनले भनिन् ।

‘दुइचारओटा गीतमा त्यस्तो भयो भन्नुभयो । ती कुन कुन गीत थिए’, मैले सोधें ।
‘नारायणगोपालसँग बुवाको गीत सिरीमा सिरीमा गाउँदा पनि मलाई त्यस्तै भएको थियो । नारायणगोपालसँगै राममान तृषितको मान्छेको माया खोलाको पानीजस्तो गाउँदा पनि मलाई त्यस्तै भएको थियो’, उनले भनिन् ।
‘सिरीमा सिरी गाउँदाको क्षण सम्झन सक्नु हुन्छ ?’, म जिज्ञाशु भएँ ।
‘किन नसक्नु ? मजाले सम्झन सक्छु’, उनले आत्मविश्वास पोखिन् ।
‘त्यो दिन तपाई कुन पहिरनमा हुनुहुन्थ्यो ?’, झट्ट सुन्दा बेप्रसंगको लाग्ने प्रश्नमा उनले भनिन्, ‘रेडियो नेपालको स्टुडियोमा त्यो गीत रेकर्ड गरेका थियौं । त्यो दिन म कुर्तासुरुवालमा गएको थिइनँ । त्यसताका म साडी लाउँथे । कुर्ता सुरुवाल त पछि लगाउन थालेको हो । त्यो दिन पनि साडी नै लगाएर गएकी थिएँ ।’
‘अनि ?’, म सुन्न आतुर थिएँ ।
‘नारायणगोपाल दाईसँग गाउने भनेपछि अति उत्साहले सात दिनदेखि मैले घरव्यवहार र अरु सब काम नै बिर्सेको थिएँ’, उनले सम्झिन्, ‘ओहो ! म त नारायणगोपालसँग पो गाउँदैछु । मलाई त नारायणगोपालसँग पो गाउनु छ । त्यस्तो भावनाले भरिएकी थिएँ ।’
‘त्यति बेलै नारायणगोपाल दाई उचाईको एक्सट्रिममा पुगेका गायक हुनुहुन्थ्यो’, भनिन्, ‘हामी चाहिँ भर्खरभर्खर आइरहेका थियौं । त्यस्तो बेला उहाँसँग गाउनु भन्या चानचुने कुरा थिएन, मैले धेरै ठुलो अवसर पाएको छु भनेर सात दिनदेखि त्यही फिलिङ मात्र आइरहेको थियो ।’
‘अवसर र प्रेसर दुवै थियो तपाईंलाई’, मैले भनें ।
‘हो । मलाई त्यही कुरा आइरहेको थियो । अरु कुनै कुरामा ध्यान गइरहेको थिएन । खाना पकाइरहँदा पनि गीतैमा ध्यान जाने । यताउति केही काम गर्न लागेको छ भने पनि गीतमै मात्र ध्यान जाने । नारायण दाईसँग गाउनु छ भन्ने कुरा मात्र मनमा आइरहने’, उनले सुनाइन् ।
त्यसो गर्दागर्दै त्यो दिन आयो, नारायणगोपालसँग गीत गाउने दिन । स्टुडियोमा म्युजिक बज्यो । नातिकाजी र तारादेवीहरू अगाडिको सीसाअगाडि बसिरहेका थिए । दुईटा माइकअगाडि राखेर उनीहरू दुवैले गाउन थाले ।
‘गाउँदागाउँदै म त कहाँ पुगेँ पुगेँ’, सम्झदै उनले भनिन्, ‘मलाई त नारायण दाईसँग गाएको बुवाको त्यो गीतले पोखरा पु¥यायो । मेरो थाँत बाटुलेचौर पु-यायो । त्यहाँको डाँडाकाँडा, खेत र गाउँघर पु-यायो । गाउँभन्दा अलि माथि कोइली र अरु चराहरूको गीतले जीवन्त भएको जंगल र डाँडाकाँडालाई नै रन्काएर गीत गाउँदै गरेको फिलिङ्स्मा पो पुगेछु म ।’
उनी बाटुलेचौरकी निरमाया भइन् ।
‘बाटुलेचौरमाथिको जंगलमा घाँसदाउरा गर्न जाने खेताल्नीजस्तो एउटी निरमाया भएर पो गाएछु । म त त्यहाँ पो पुगेछु । मेरो आत्मा त त्यहाँ पो पुगेछ । मलाई अरु केही याद थिएन । मैले त जंगलमा कोइलीहरू कराएको मात्र सुनें । डाँडामा गएर गाएको मात्र सम्झें । त्यताको प्रकृतिमा गुञ्जेको आवाज आफ्नो स्वरमा आइरहेको मात्र अनुभव गरें । मेरो आत्मा हिमालमा पुग्यो । उत्तरतिरको हिमालमा पुग्यो । आँखाभरि हिमाल आयो’, उनले भनिन्, ‘बाटुलेचौरको हाम्रो घरको आँगनअगाडि जति बेला पनि हिमाल छर्लङ्ग देखिन्छ ।’
‘हेर्नोस् त, मलाई कस्तो भएको होला ?’, त्यति भनेर एक छिन मौन रहिन् र आफैले त्यो मौनता तोडिन्, ‘त्यो गीत गाएको पनि ३६ बर्ष भइसक्यो । आजसम्म पनि रेडियो नेपालमा त्यो गीतको फर्माइस आउँदैछ ।’
‘सिरीमा सिरी गाउँदाका जुन गहिरा अनुभतिका कुरा गर्नुभयो’, मैले जिज्ञाशा थपें, ‘मान्छेको माया खोलाको पानीजस्तो गाउँदाको पनि सुनौं न ।’
‘छोरा ४ महिनाको थियो । त्यस्तो बेलामा पनि राममान तृषित दाइले भनिहाल्नु भयो भनेर मैले गाएँ’, उनले सम्झिइन् ‘तर, गाउन थालेपछि मलाई लाग्यो, माया भनेको त पानीजस्तै हो । बगेर गएपछि त्यो फर्किदैन । गीतका शब्दहरूले नै मलाई एकदम गहिराइमा डुबाएको थियो । मैले त्यस्तो भावनामा गएर गाएको थिएँ । तर, त्यति बेला एघार पटकसम्म रेकर्डिङ बिग्रियो ।’,
‘त्यति बेला तपाईंलाई …’, मैले प्रश्न गुरा गर्न पाएकै थिइनँ, उनले भनिन्, ‘मलाई लाग्यो, यो माया भनेको चीज त पानीजस्तै पो रहेछ कि ? कस्तो राम्रो अर्थ । त्यही सम्झेर त्यो गीत गाएकी थिएँ ।’
‘पछि त गीत यति राम्रो भएछ’, हौसिँदै सुनाइन्, ‘ज्ञानु ! तिमीले कस्तो राम्रो गाएको भन्दै नारायणगोपाल दाईले समेत खुशी भएर मलाई धाप दिनुभयो । उहाँलाई आफुले गाएको थाहा छैन । मेरो चाहिँ खुब प्रशंसा गर्नुभयो ।’
‘होइन दाई, त्यो त तपाईंको आशिर्वाद हो’, उनले भनिन् रे ।
‘दाइको स्वरमा सरस्वतीको बरदान थियो’, स्वरनायक नारायणगोपाललाई सम्झदै भनिन्, ‘उहाँको त स्वर यस्तो थियो कि ! के भनौ ? माइकले उहाँको स्वर टिप्नासाथ आनन्द आउने । उहाँको स्वर सुन्नेबित्तिकै सिधै आत्मामा पुग्ने ।’
‘दाइले मान्छेको माया सुरु गर्नुभयो’, उनले सम्झिइन्, ‘मैले पनि गीतका शब्दलाई भित्र एकदमै मनन गरेर मनमनै हे ! माता सरस्वती पुकार्दै दाईलाई पछ्याउँदै गाउन थालेँ ।’
ट्र्याजिक क्लाइमेक्स !
नारायणगोपाल सिरियस बिरामी थिए । बीर अस्पतालको आइसीयुमा थिए । उनले सम्झिइन्, ‘दाई जाने बेला भयो भनेर पेमला भाउजुले एउटा बाहुन ल्याएर छेउमा गीता पढाउन लगाउनु भयो । बाहुनले गीता पढिरहेका थिए । नारायण दाई बोल्न सकिरहनु भएको थिएन । तर, उहाँको आँखाबाट आँशु बगिरहेको थियो । उहाँ अविरल रोइरहनु भएको थियो ।’
उनको आत्माले भन्यो रे, ‘जिन्दगीभर दाईले भजन खासै गाउनु भएन दाइले । अरु गीतहरू मात्र गाउनु भयो । सायद उहाँमा के सोचाई आयो भने, मैले पनि केही भजन गाएको भए हुन्थ्यो । तर, मैले गाइनँ ।’
त्यही बेलुका नारायणगोपाल बिते ।
‘कम्तीमा मैलेचाहिँ भजन गाइन भनेर रुनुपर्ने छैन । मेरो त सबैभन्दा धेरै नै भजन छ । अहिलेसम्म म गाइरहेकै छु’, भन्दै उनले सम्झिइन्, ‘मान्छेको माया … गाउनुअघि एक पटक नारायणगोपाल दाईले मलाई सोध्नुभयो, तिमी धेरै भजन गाउँछौ है ज्ञानु ?’
‘हो दाई’, उनले भनिन् रे ।
‘कत्ति भजन गाएको ?’, फेरि पनि नारायणगोपालले भनेको उनले सम्झिइन् ।
‘उहाँले मर्नुअघि पछुतो प-यो होला । जब मैले त्यो देखें, मलाई त्यस्तो लाग्यो’, उनले भनिन्, ‘मर्ने बेलामा गीता सुनाएर केही काम लाग्यो ? त्यो बाँसुरीवाला गुन्जनलाई त हामीले उमरमै समात्नु पर्छ । जाने बेलामा सुनाएर हुन्छ ? उसलाई कति पीडा भइराछ जीउमा । प्राण जान सकस भइराछ । त्यस्तो अवस्थामा उसको मन गीतामा कहाँ कन्सन्ट्रेड हुन्छ ? हुँदैन नि ।’
‘त्यहाँ त उसलाई बरु गीत सुनाए हुन्छ’, मैले भनें ।