काँग्रेस नेता गुरुराजको मुटु नै हल्लाउने कविता: विवश पिता
गुरुराज घिमिरे
एकाबिहानै
भोकले हप्तौं थलिएका
नावालक दुवै छोरीहरुलाई
आँशुले टलपल आँखाले
पलभर नियालेर
थोरै, पिठ्युमा सुम्सुम्याएर
अनि निधारमा म्वाँईं खाएर
जब गरीब, बेरोजगार र लाचार बाबु
पस्यो चिसो भान्सामा ।
चुल्होमा छरिएको पुरानो खरानी
कटकटिएका आल्मुनियमका वर्तन
एउटा खाली थाल
अनायासै उसले देख्यो
केही बर्षअघि निमोनियाले बितेकी
आफ्नी पत्नीको प्रतिबिम्ब
आँखाको इशाराले
उसैलाई बोलाइरहेकी!
विचित्रको अनुभूति !
एकप्रकारको सम्बोधी झैं
थोरै खरानी पन्छाएर
दाउरा जोर्यो र आगो सल्कायो ।
थैलामा बाँकी अलिकति पिठो
खन्याएर कुच्चिएको दिउरेमा
निकै दिनपछि ओडाल्यो ढिंडो
चुल्हो मुस्कुरायो अलिकति व्यंग्यसहित
नुनको ढिक्को फोरेर
राख्यो छेउमा
अनि दुवै हातमा ताता बटुका बोकेर
छोरीहरुका समिपमा पुग्यो
लोलाएका आँखाहरु जब
बटुकामा ठोक्किए
झिलिक्क बले अनायास
बर्सिइन् गंगा पिताको अनुहारै भरि
भोकले इन्तु न चिन्तु
छोरीहरुका अनुहार
धप्प बलेझैं लाग्यो उसलाई
उठाएर मैलो ओछ्यानबाट
खुवायो ढिंडो मुटुका टुक्राहरुलाई
जीवनदेखि थाकेको दरिद्र पिता !
हठात् मुखबाट निस्कियो उसको
नानु ! लुगा लगाउन उठ
अब हामी मर्न जानु पर्छ!!
ठूलीले सोधी, बाबा !
मरेपछि सधैं खान पाइन्छ हो ?
उसले भन्यो, हो नानु
मरेपछि सधैं अघाइन्छ
नाइलनको डोरी कम्मरमा बेरेर
मर्न हिंडे बाबुछोरी तिनैजना
त्यही रुखको जामुन
कति खुवाउँथ्यो उ छोरीहरुलाइ
आज जामुन झैं फल्न
तम्सिए सपरिवार !
आकाशतर्फ फर्किएर
दिवंगत श्रीमति समक्ष
आर्तनाद पुकारा गर्यो उसले
हामी आउँदैछौं प्यारी सबैजना
तिमीलाई भेट्न
पवन रोकियो
सुर्य लुके बादलभित्र
कोमल घाँटीमा
कसियो नाइलनको मृत्यु पासो
हिक्क हिक्क गर्दै
ढिंडो उकेल्दै
हिंडे बाबु छोरी
सधैंलाइ अघाउन
सपरिवार सँगसँगै रमाउन !!!