सर्वप्रिय स्वरसाथी सत्यराजको कविताः आवाज
सत्यराज आचार्य
म
र
उनी
अर्थात
हामी
एउटै कोठाभित्र छौं
उनी बेडमा अडेस लगाई रहेकी छिन्
म लोबेडमा पल्टिरहेको छु
उनी माथी
म तल
उनी उत्तरतर्फ फर्केकी छिन्
म दक्षिणतिर मोडिएको छु
हामी बिचको दूरी पनि
मुश्किलले
मात्र
तीन फिट होला
तर
उनी चुपचाप
म पनि मौन
न उनका आँखाहरु म सँग संवाद गर्न तयार छन्
न मेरा आँखाँहरु उनीसँग प्रतिवाद गर्न इच्छुक छन्
न उनी मेरो बोली सुन्छिन्
न म उनको बोली सुन्छु
न उनले फेरेको श्वासको आवाज मेरो कानसम्मै आईपुग्छ
न मेरो श्वासको आवाज उनको कानसम्म पुग्छ
न उनको भित्री मनको आवाज सुनिन्छ न मेरै अन्तर मनको आवाज सुनाउँछु
हामी दुवै सुन्दैछौं त
केवल
कोठामा निरन्तर घुमिरहेको
पंखाको आवाज ।
२०७७ साउन ३०, शुक्रबार
समय : बिहान सवा ९ बजे
स्थान : आफ्नै कोठा
कबिताको प्रस्तुति अति नै मन पर्यो ।सस्पेन्समा राखेर अन्तमा कलात्मक ढंगबाट बिटो मार्नु भएको राम्रो लाग्यो! हार्दिक बधाई !!!यो यात्रा पनि अभिनय यात्रा जस्तै सफल होस!!