कविताः कहाँ गन्न सकिदो रहेछ र ! एक जुनीमा नौ लाख ताराहरू ?

छातीभरिएको पुरुषार्थको तक्माले किन जोड्न सकेन मेरो खुट्टा ?


गोवर्धन पूजा

भरिएको हावाको चिसो रेलले
मेरो यौवनलाई काउकुती लगाउदै भन्यो
अर्को खालि रेल आउदै छ टिकेट काटेर बस्नु

पातको भित्तोमा आड लगाउदै बसेका
जोडी युवा-फूलहरूले शीतको चुम्बन पिएर
खुशीको जून देखाउदै भने
आँखाको कठघरामा
कहिल्यै काँडाको डाँडा नबन्नु

टेलिफोनको एन्सरिंङ मेसिनजस्तै
बटुवाको गन्तव्य बताउन बसेको
बृद्ध-रोड मानचित्र हेर्दै
मनको गुम्बा भित्र मैले सम्झनाको माने घुमाउन थाले
यो मेरो घरदेश होइन

कुनै कलाकारले अन्तिम रुप दिन बिर्सिएको
क्यानभासको अमूर्त मुहारचित्र
सडकको पेटीमा चिसोको च्यादर ओढेर
कसैको हस्तरेखा हेरेर भविष्य बताउदै छ

आफुलाई आफ्नो भाग्य विधाता ठान्ने
दोश्रो विश्वयुद्धको बूढो सिपाही
काटिएको एउटा खुट्टा बोकेर सूदुरमा बिश्राम लिन पुग्छ
छातीभरिएको पुरुषार्थको तक्माले किन जोड्न सकेन मेरो खुट्टा ?

पहेलिएका एक बथान चेरिका पातहरू
आफन्त गुमाएर शोकधूनको पछिलाग्दै
कुनै गिर्जाघरतिर उन्मूख शवयात्रामा सरिक छन्

आफ्नै समर्थनका कारण विजयी भएका
खेलाडीको विजयोत्सवमा सरिक खेल प्रेमीसंगै
यो साँझ केवल तिम्रो नाममा समर्पित गरे मैले
देश छोड्नु अघिल्लो साँझ शुभचिन्तकले दिएको
मायाको रुमालमा पोको पारेर राखेको तारा
सपनाहरूसंग साट्दै देशको माया

कहाँ गन्न सकिदो रहेछ र
एक जुनीमा नौ लाख ताराहरू ?

(हालः बोस्टन अमेरिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button