रक्सी खानु ठीक होइन तर के गर्नु मुस्कानले लोभ्याउँछ, उसका कुराले लठ्याउँछन्

लघुकथा/रुष्टता
मञ्जु मञ्जुभाषिणी

‘कति चाहिन्छ सर ?’, ऊ मेचमा बसेको केही बेरपछि होटेलसाहुनीको छोरोले सोध्छ ।

‘माताश्री खै त ?’, सधैँ झैँ उसको मुस्कानका बदला ऊसँग नजर जुधाएर मुसुक्क हाँस्ने मुहार नदेखिएपछि ऊ सोध्छ ।

‘ममी काठमाडौं जानुभएको छ’, साहुनीको छोरोले जवाफ दिन्छ ।

‘काठमाडौँ ! कहिले ?र’, झस्केर सोध्छ ऊ ।

‘आज बिहानै’, जवाफ आउँछ ।

एउटा रिक्तता अघिदेखि महसुस भएको छ तर अब ऊभित्र विचारको ठूलो हुन्डरी चल्न थाल्छ- ‘म कलेज पढाउने प्रोफेसर । होटेल साहुनीको छोरो मेरो विद्यार्थी । मलाई यो पनि थाहा छ कि मैले यो होटेलमा आएर यसरी रक्सी खानु ठीक होइन तर के गर्नु उसको मुस्कानले मलाई लोभ्याउँछ, उसका कुराले मलाई लठ्याउँछन् ।’

विचारका तानाबानाका साथै अन्त्यमा प्रश्न उठ्छ मनमा, ‘घर, लोग्ने र छोराछोरीका सम्बन्धमा सानोभन्दा सानो कुरा ऊ मसँग सुनाउँथी तर काठमाडौँ जाने कुरा किन सुनाइन ?’

उसका मनमा कता कता क्रोध पनि पलाएर आउँछ मानौँ काठमाडौँ जाने कुरा उसलाई नसुनाउनु होटेलसाहुनीको अपराध थियो । उसलाई त्यहाँ बस्न पटक्कै मन लाग्दैन । रक्सीको एउटा क्वाटर लिएर घर पुग्छ ।

घरमा मटन बनाएकी छ श्रीमतीचाहिंले । ऊ क्वाटर गिलासमा खन्याउँछ ।

‘भयो भयो । यति चीज तीन दिनलाई पुर्याउनुभयो भने शरीरलाई हानी गर्दैन राख्नू अब’, श्रीमतीचाहिँ भन्छे ।

ऊ साहुनीलाई सम्झिन्छ । उसले यो लोकल,यो स्याउको,यो आँपको गर्दै सक्दो थपिदिन्छे तर श्रीमतीले सक्दो बन्देज गर्छे ।

तत्काल उसको मन भन्छ, ‘ऊ साहुनी हो उसलाई पैसा कमाउनु छ । श्रीमती त श्रीमती न हो, उसलाई घर चलाउनु छ । लोग्नेलाई सही बाटो देखाउनु छ ।’

उसलाई श्रीमतीको औधी माया लाग्छ आज, हिजोआजका अरू दिनभन्दा बढी ।

उसलाई आज नशाले छोएको छैन पटक्कै । मनमा नानाभाँति कुरा खेल्छन् । रात छिप्पिन लाग्छ । निदाउन असहज भएपछि श्रीमतीलाई आफूतिर तान्छ बेसरी । छातीमा टाँस्छ ।

एकै छिनपछि ऊभित्रै हराएझैं त्यो नारी शरीरसँग रुष्टतापूर्वक बर्बराउँछ, ‘काठमाडौँ जाने कुरा मलाई किन नसुनाएकी ?’

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, रचना, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button