
जसले पढ्नुभएको छ उहाँहरुको प्रतिकृया बेजोड छ
नेपालनाम्चाको नियमित स्तम्भ किताबमा श्रमाटनबारे बीएन जोशीलाई दश प्रश्न ।
नयाँ किताबका लागि बधाई । के साँच्चै तपाइँको किताब बधाई दिन लायकको छ ?
बधाईका लागि धन्यााद । मेरो किताब ‘श्रमाटन’ अवश्य पनि बधाईको लायक नै छ । किनकी म एउटा पाठकीय दृष्टिकोणबाट पनि हेर्नेगर्छु ।
यो किताबमा के छ र विशेष छ ? अर्थात पाठकले यो किताब किन पढ्ने ?
सर्वप्रथम यो किताब एउटा कृति हो । अर्को इतिहासको दस्ताबेज पनि । जुन जति पुरानो हुँदैजान्छ त्यति नै सम्झनयोग्य हुन्छ, र नयाँ पुस्तालाई इतिहासका पाना पढेको महशुस हुनेछ । यसभित्र सन् नब्बेको दशकमा नेपाली युवाहरुले व्योहोरेको बेरोजगारीको चरम नमुनाको प्रत्यक्ष बृत्तचित्र देख्न पाइन्छ । यो एउटा मानव तस्करीको पीडितको आफ्नै बयान हो ।
यो किताब जन्मनुको कुनै परिवेश, कारण र अर्थ के हो ?
यो किताब जन्मनुको ठोस कारण भनेकै नेपालको समाजिक र आर्थिक विचलन हो । मैले भोगेको व्यवधानहरु जस्तै अरु हज्जारौं, लाखौंले भोगे होलान् । तर उहाँहरुमा इच्छाशक्ति हुँदाहुँदैपनि कला, शिल्प, क्षमता वा अवसर नपाएको पनि हुनसक्छ । आम मानिसको सामान्य भोगाइ र यसमा निकै फरक छ । कसैको आवाजलाई अरुले मुखरित गर्दा त्यसको आत्मा आउदैन । आफैले लेख्दा भावनात्मक शैलीसंग प्रतयक्ष आत्मसात गर्दछ । यसैपनि म लेखिरहने मान्छे भएकोले सहज वातावरण बन्यो ।
प्रारम्भिक प्रतिकृयाहरु के कस्ता आइरहेका छन् ?
जसले पढ्नुभएको छ उहाँहरुको प्रतिकृया बेजोड छ । पठनको समय एकदमै सार्थक भएको अनुभव गर्नुभएको छ । अपरिचित पाठकहरु मसँग जोडिन प्रयासरत हुनुहुन्छ । यस किताबको बारेमा परिचर्चा सुन्दैगर्दा चासो राख्नेहरु समेत धेरै छन् ।
यो किताबको नामाकरण कसरी भयो । नाममा के छ ?
विशुद्ध वैदेशिक रोजगारीको बृत्तान्त भएकोले त्यस्तै किसिमको उचित नामको तलाशमा थिएँ । सिमित दायराहरु थिए । नामले समग्र किताब र विषयको प्रतिनिधित्व गर्नुपर्ने अवश्था थियो । मुगलान सम्बन्धी अरु पुस्तकहरु यस अगाडि पनि आइसकेकोले पाठकहरुमाझ नौलो नाममार्फत फरक स्वाद दिलाउने ध्येय मेरो रह्यो । नभन्दै श्रमाटन नामप्रति निकैको चासो रह्यो । धेरै समालोचकहरुले नयाँ शब्द उत्पादी प्रति बधाई पनि दिनुभएका छन् ।
यो किताबमार्फत खासमा तपाइँ के भन्दैहुनुहुन्छ ?
यो लाखौं श्रमाटनमा गएकाहरुको आवाज हो । अर्थात बृत्तचित्र हो । यो किताबमार्फत सरकारलाई स्पष्ट चुनौती पनि छ व्यवस्थापनको विषयमा । यसभित्र आम श्रमिकहरुले भोग्नेभन्दा बिलकुलै फरक परिदृष्य छन् । कल्पनाभन्दा बाहिरको यो किताब पढिसकेपछि केही न केही मात्रामा नेपाली युवाहरुलाई विदेश जानबाट रोक्न मद्धत गर्नेछ भन्नेमा म विश्वस्त छु । यस किताबमार्फत् विदेश जाने लाइनमा रहेका लाखौं नेपाली युवाशक्तिलाई सचेतनको सन्देश दिएको छु ।
प्रकाशित भइसकेपछि यो किताबमा के के छुटेछन् जस्तो लाग्यो ?
यो आफ्नै अनुभूति भएकोले गर्दा ति क्षणहरु मस्र्याङदी नदीजस्तै सलल बगेको छ । विषयगतका कारण कोरा काल्पनिक केही शब्द शिवाय अरु खासै छुटेजस्तो लाग्दैन ।
अब अर्को के कस्तो किताब लेख्दै हुनुहुन्छ ?
ठोस विषयवस्तु बेगर लेख्ने हतारो छैन । म एक स्वतन्त्र लेखक भएकोले कुनै दवाव छैन । तर जे लेख्छु समसामयिक र समाजिक परिवेश सेरोफेरोकै लेख्नेछु ।
पछिल्लो समय प्रकाशित तपाइलाई मन परेका पाँच पुस्तक ?
प्रकाशित धेरै होलान् । सबै पढिएको पनि छैन । सबै नपढी मुल्यांकन गर्नु मुर्खता हो । हरेक पुस्तकको आ—आफ्नो विशेषता हुन्छ नै । यसै पनि यहाँ राम्राको हैन हाम्राको बिगबिगि छ । नाम चलाइएका अनुहारहरुको खात छ । सिमित गुटका किताब मात्र पढ्ने । फुर्काउने । अनि पुरस्कार पनि तिनैलाई दिलाउने बिकृति जो छ । जसले नेपाली साहित्यलाई कुवाको भ्यागुता बनाएको छ । नागढुङ्गा ननाघेकालाई बाग्मती र बिष्णुमती नै भयंकर लाग्छ । त्रिशुली कत्रो छ तिनलाई के पत्तो ?
पछिल्ला समय प्रकाशित पुस्तकहरुमध्ये आफ्नो पुस्तकलाई कहाँनेर पाउनुहुन्छ ?
सबै नपढी कसरी मुल्यांकन गर्ने ? तर, यत्ति चै भन्न सक्छु । मेरो यो किताब श्रमाटन एउटा कृति हो, अर्थात लामो रेसको घोडा । नितान्त नौलो आत्मानुभूति । पचासौं लाखको सचित्र आवाज । फेरिफेरि चाहेर पनि लेख्न असम्भव सायद । कसैले कल्पनासम्म नगरेको केरोना भाइरस जस्तै ।
