मिलन समीर त्यस्तो केही पनि हुँदै होइन !
कविता
मिलन समीर
करादीखोला, स्याङ्जा ।
तिमीले भनिरहेका छौ-
चुप लागेर दुवै हातमा दही जमाउदै बसिरहेको छैन
उसले पनि अहिलेसम्म केही न केही त गरिरहेको छ
त्यसैले, ईश्वरवल्लवले आगोका फुलहरु हुन् भनेजस्तै
मिलन समीर पनि केही न केही त जरुर हो … !
तर पनि फेरि मैले भनिरहेको छु-
नढाँटिकन अनि कुरा नचपाइकन
कुनै भूमिका नबाँधिकन अनि कुरा नघुमाइकन
मध्येदिनको घाम जस्तै छर्लङ्ग देखिनेगरी
तीतो तर सत्य कुरा इतिहासमा लेखिनेरी
जे हो त्यही वास्तविक कुरा केही पनि नलुकाइकन
साक्षी राखेर आफ्नै अन्तरात्मालाई
दूधको दूध, पानीको पानी छुट्याएर
जस्ताको तस्तै भन्ने नै हो भनेदेखि
खासमा मैले अहिलेसम्म केही पनि गर्नै सकिरहेको छैन
त्यसैले, ईश्वरवल्लवले आगोका फुलहरु होइनन् भनेजस्तै
मिलन समीर त्यस्तो विशेष केही पनि हुँदै होइन … !
दिन ढलेर साँझ परेसँगै
रात परिरहेको छ निरन्तर- अहिलेसम्म
नौलाखे तारा चम्किरहेका छन्
जूनको अगुवाइमा सदैव अगाडि लम्किरहेका छन्
भाले बासेर रात रित्तिएको घोषणा गरेसङ्गै
आगमन भएको छ निरन्तर- मिर्मिरे बिहानीको
उदाइरहेको छ- उज्यालो घाम
अस्ताइरहेको छ- अँध्यारो छाया
चर्किरहेको छ- भदौरे घाम
दर्किरहेको छ- साउने झरी
परिरहेको छ- चड्किदो चट्याङ
झरिरहेको छ- अविरल असिना
गर्जिरहेको छ- महामेघ
मुसलधारे पानी बनेर
वर्षिरहेको छ- बादल
फुलिरहेको छ- फुल
डुलिरहेको छ- भवरा
बगिरहेको छ- अविरल आधिखोला
लगिरहेको छ- भेटेजतिको सबैथोक
आइरहेको छ- हुरीबतास आधिबेहरी बनेर
गइरहेको छ- बाढीपहिरोसङ्गै भुइँचालो भनेर
जस्तोसुकै विषम समय र प्रतिकुल परिस्थितिमा पनि … !
मिलन समीर पनि विशेष केही हो भनेर
खाटा बसिसकेको निकै पुरानो घाउ
फेरि कहिल्यै निको नहुनेगरी बल्झिए जस्तै
बेकारको भ्रममा अल्झिने काम गर्दै नगर्नुहोला महाशय !
केही थान मार्मिक मुक्तक,
केही थान गजबका गजल र
केही थान कलात्मक कवितासङ्गै
केही थान उत्कृष्ट आलेखहरु
लेखिसकेको छ भन्दैमा मिलन समीर
कुनै कविको नाम हुनै सक्दैन
कुनै लेखकको नाम हुनै सक्दैन
कुनै साहित्यकारको नाम हुनै सक्दैन ।
अमलेट हुनबाट जोगिएर बाँकी रहेको
हिजोको अन्डा अनि आजको चल्लो नाथे यो मिलन समीरलाई
कवि, लेखक र साहित्यकारको रूपमा मान्नैपर्छ भन्ने कुरा
कहाँको कुन शास्त्रमा ठ्याक्कै कहाँनेर लेखिएको छ ?
यदि सक्छौ भने तिमीले देखाइदेउ मलाई पनि … !
पैदल यात्रीको नियति जेब्राक्रसमा किचिनुसम्म त हो नि
सुन्दर फुलको नियति असिनापानीले मिचिनुसम्म त हो नि
भुइँको धुलोको नियति बेकारमा उडिरहनुसम्म त हो नि
कर्णालीमाथिको तुइनको नियति चुडिरहनुसम्म त हो नि … !
खोजिपस्ने हो भने हुँदै नभएको देउता बरु देखिन सक्छ
पितृ भइसकेका पुर्खाहरुबाट
अहिलेसम्म नलेखिएको अद्वितीय कविता बरु लेखिन सक्छ
अहिलेसम्म कहिँकतै कहिल्यै पनि देखिएकै छैन
साच्चै उल्लेख गर्न लायक विशेष त्यस्तो केही पनि लेखिएकै छैन
त्यसैले त भनिरहेको छु- पितृ हुनै लागिरहेको म
मेरो एकमुट्ठी परान सजिलैसँग गइदिनकै लागि भए पनि
मेरो दिवङ्गत आत्माले चीरशान्ति लिनकै लागि भए पनि
अहिलेसम्म भुइँ छोड्नै नसकिरहेको पोथ्रो नाथे उम्रीदैको तीन पात
मिलन समीरको कुनै पनि कुरालाई ठाडै इन्कार गर्नुपर्छ
मिलन समीरको अस्तित्वलाई पनि सदैव अस्वीकार गर्नुपर्छ ।
उन्नाइसदिने जन आन्दोलनमा नभनेर चैत-वैशाखको चर्को घाम
पसिनामै पौडी खेल्दै किचिएर प्रहरीको बुटले
लाठी खादै- हरेक दिन फोरा उठाएर पैतालामा
कहिले गल्याङ हुँदै राम्दी, कहिले मिर्मी हुँदै बिर्घा,
कहिले वालिङ हुँदै स्याङ्जासम्मको
बाटो नापेको थियोे भन्दैमा नाथे भुइँको धुलो
ठेट्नो मिलन समीर कसरी हुनसक्छ
लोकतान्त्रिक गणतन्त्रको अभियन्ता ?
कुनै पनि किसिमको हैसियत हुँदै नभएको
भुइँमान्छेको नाम हो- मिलन समीर
अलिकति पनि अस्तित्व बाँकी नरहेको
अस्तित्वविहीन मान्छेको नाम हो- मिलन समीर ।
यदि केही हो भनौं भने
दोबाटोमा उम्रीएको गन्धेझार हो- मिलन समीर
त्यसैले त, देखियो भने उसलाई थुक्नुपर्छ परैदेखि
भेटियो भने कुनैदिन उसलाई उखेल्नुपर्छ जरैदेखि ।
सर्वसाधारण भुइँमान्छे जस्तै
बोकेर सिसिफसको कहिल्यै नटुङ्गिने नियति
ज्युनुको नाममा केवल ज्युदो लास बनेर
बाचिरहनुबाहेक अहिलेसम्म
अरु केही पनि गर्नै नसकिरहेको …
यो नाथे मिलन समीर त्यस्तो विशेष केही पनि हुँदै होइन …
सम्बन्धित सबैलाई समयमै चेतना भया !
(तपाईं पनि आफ्ना कविता, रचना, लेख, दैनिकी, संस्मरण आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)