फर्किहालेमा आमालाई देखाउने आँसुबाहेक अरू कसैलाई दिने जवाफ छैन

लघुकथा
हरिप्रसाद गौतम

घर फर्कन मन नलागेर कहाँ हो र, घर फर्केपछिका सम्भाव्य दिनहरू र अप्ठेराहरूलाई सम्झेपछि फेरि रोकिन्थे नरेका पाइला । नरे मिहिनेती थियो पहिलेदेखि । बल लगाउनुपर्ने काममा बालाई सघाउँथ्यो भने अलि मानसम्मान र आदर गर्ने अनि सेवाभावका काममा आमालाई । हरेक काममा दिदीलाई सघाएर पढ्ने वातावरण बनाइदिन्थ्यो सधैं उसले । हरेक सदस्यको सहयोगी हुँदाहुँदै पनि सरस्वती माताको साथ र आशीर्वाद नपाउनाले निहुरिएको थियो उसको शिर ।

पढ्न नसकेपछि साथीको लहलहैमा लागेर बिदेसियो नरे । दुईचारपटक गाउँ पनि फर्क्यो । पछिल्लोपालि चाहिँ बाबाले पाखुरै समातेर गरिदिए उसको बिहे । सुरूमा त मानेकै थिएन । दिदीको बिहेपछि हामीले घर धान्न सक्दैनौँ भनेपछि मान्यो । वर्षदिन घरमा बसेपछि एउटा अर्को खाने मुख थपियो । आम्दानीको स्रोत नभएपछि बाबाका वचन पनि कडा हुन थाले । सन्तानका इच्छा बढ्न थाले । सन्तानलाई राम्रो स्कुलमा पढाउने बहानामा श्रीमती सहरमा बस्ने किचकिच सुरू भएपछि हिँडेको थियो फेरि ऊ । वर्षहरू धेरै बिते । चिठीहरू पातलिए । फोन पनि औपचारिकतामा सीमित भयो र बिस्तारै बिछोडियो ऊ घरबाट । अलिकति कमाउँछु र ठाँटका साथ फर्कन्छु भन्ने इख लिँदालिँदै थाक्यो र थँचारियो । न बाबाका हातमा हालिदिने पैसा छ न यतिका वर्षपछि श्रीमतीलाई देखाउने भरोसा छ न सन्तानको भविष्यलाई सुझाउने तर्कना छ । यिनै भावनाले निद्रा हराउँथ्यो उसको । गाउँबाट आउनेले ल्याएका खबरले रूवाउँथे र पनि कहिल्यै फर्कने आँट पलाउँदैनथ्यो । कुन मुख लिएर फर्कने यतिका वर्षमा ।

घर जानेआउनेले जति कर गरे पनि हिम्मत आउँदैन कहिल्यै उसमा । फर्किहालेमा आमालाई देखाउने आँसुबाहेक अरू कसैलाई दिने जवाफ छैन ऊसँग । फोन नं बदलेर बसेको भए पनि दिदीले फेसबुकमा हालेका तस्वीरहरू हेर्थ्यो । सबैका अनुहारले उसलाई गिज्याउँथेँ । आमाको मलिन फोटोमा चाहिँ धेरै बेर अडिन्थ्यो ऊ । यसपालि भने थामिएनन् आँसु । कहिल्यै केही नमाग्ने आमाको अनुहार सम्झिरह्यो । बाबाले कराउँदा बचाउने आमा, आफ्ना कान बुच्चै पारेर बुहारीलाई फकाउने तिनै आमा अनि पोल्टाबाट केही निकालेर नाति भुलाउने तिनै आमा । दया र क्षमाकी साक्षात् प्रतिमूर्ति १ ह्या, जसले जेसुकै भनून् , गरीखान माटो छ, रूनलाई आमाको काख त छ भन्ने हिम्मत बटुल्यो । एकाएक कोठाका सबै सामान छिमेकी साथीलाई बेची बाटाखर्च पुग्ने नगद भेला पारी एकोहोरियो घर फर्कन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button