कोरोना शहरबाट आमालाई पत्र
सुशीला शर्मा लोहनी
छन्द: शादूलबिक्रीडित
सेतो कागजमा कठोर मनले, कोर्दै छु आमा मसी
कोरोना शहरै भरी छ अहिले, पोख्दै छु पीडा बसी
जाने ठाउँ कतै रहेन अहिले, बन्दै छ नेपाल यो
खोसाखोस गरेर मानिस लिने, के रोग आयो अहो ।
खाली छैन यता बिमार भए क्यै, जाने कहाँ हो त खै
साध्यै छैन कथा सुनाउँ कसरी, चर्को छ पीडा अझै
छाडी काम सबै बसेर घरमा, चल्ला खै दैनिकी
भोको पेट अहो कसेर भरिया, बाँच्लान् र के जिन्दगी ।
प¥यो आज यहाँ डराउन सबै, मान्छे र मान्छे पनि
दूरी कायम भो भएन तर खै, यो रोग घट्ने गति
हज्जारौ मनमा छिरेर दिन कै, पार्दैछ विध्वंस झन्
पानी भन्न नपाउँदै मनुजको, जाँदै छ ज्यानै त झन् ।
खाली छैन यहाँ सुताउन कतै, ओछ्यान रोगी सबै
बाँकी छैन कतै लुकेर दिलमा, छिर्दै छ पापी अझै
यस्तै आपतमा छ देश अहिले, के लेख्नु आमा अब
नाका बन्द सबै खुलेछ त भने, फर्कन्छु आमा तब ।
samasamayik kavita