आमा म अचेल हरेक दिन तिम्रै यादमा रुने गर्छु

कविता
विनायक पन्त

तिम्रो त्यो काखको मुल्य कति पर्छ आमा ?
मलाई फेरि पनि त्यही काखमा निदाउन मन छ आमा ।
जसरी म सानोमा लुटुपुटु गरेर निदाउने गर्थे ।

त्यो तिम्रो स्नेही हातको स्पर्श कहाँ पाईन्छ आमा ?
मलाई फेरि तिनै हातको स्पर्शमा लठ्ठ हुन मन छ
जुन हातमा म मेरि आमानै हुन भनेर चिनिने एक छुट्टै सुवास हुने गर्थ्यो ।

आमा म अचेल हरेक दिन तिम्रै यादमा रुने गर्छु आमा ।
त्यो घर अगाडिको रुखमा धोबिनी चरिले
आफ्ना बचेरालाई चारा खुवाउँदा होस्
या, गोठबाट गाईले बाँ गरेर बाछालाई बोलाउँदा
म तिम्रै यादमा रुने गर्छु आमा ।

आमा- आमा त्यो तिम्रो बोली अब कहाँ सुनिन्छ ?
मलाई फेरि त्यही बोली सुन्न मन छ,
तिम्ले मसँग रिसाउँदा गर्ने गाली नै सहि
तर फेरि त्यो गाली तिम्रै मुखबाट सुन्न मन छ
जसरी मैले सानोमा गल्ती गर्दा हरेक पटक सुन्ने गरेको थ्ये ।

आमा म अझै सम्झने गर्छु
राती अबेर मेलाबाट फर्केपछि पनि झरिले चिस्याएको त्यो अगेनामा
तिम्ले फु-फु गर्दै पकाएको त्यो तातो जाउलोलाई,
अझै सम्झने गर्छु-
मेलाबाट फर्कदा आफ्नो पटुकाको फेर भरी
ल्याईदिनु भएको फुलैफुल मकैलाई ।

आमा- आमा त्यो तिम्रो न्यानो छाती अब कहाँ पाइन्छ आमा ?
मलाइ फेरि त्यो तिम्रो छातीमा
गाला टाँसेर निदाउन मन छ आमा
जसरी म सानोमा तिमीलाई बेस्सरी अङ्गालोले च्यापेर ठिक त्यसरी नै गाला टास्दै निदाउने गर्थें ।

आमा तिम्ले मेरो साना हात समातेर
पहिलोपल्ट कपुरी-कु लेख्न सिकाएको अझै याद छ ।
अझै याद छ ‘ज्ञ’ लेख्न नजानेर
तिम्रो अगाडि कहिलै ज्ञानि बन्न नजानेका ती बालापनहरु
आमा मलाई अब पनि त्यसरी नै सिक्न मन छ,
अब फेरि त्यसरी नै हात समाएर लेख्न मन छ,
तिम्रा ममताहरु,
तिम्रा ती स्नेहहरु सुनौला अक्षरमा
कहिलै नमेटिने गरी कहिलै नपखालिने गरी
जसरी मेटिदैन शताब्दी अगाडि लेखेका ती शिलालेखहरु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button