आमा ! तपाईंलाई हेरिरहँदा एउटा उज्यालो बल्दै गएको छ मभित्र

आमा/कविता ‘

भीष्म उप्रेती

पढ्दापढ्दा किताब
नभेटेर जीवनको अर्थ आपूmले खोजेजस्तो
म आइपुगेको हुँ यो गाउँमा
तपाईंसम्म ।

आमा !
बल्न दिनुस् त्यो कुपीलाई त्यसरी नै
सकिए तेल फेरि थपौँला
फेरि किनौँला
तर तपाईं त्यहीँ बसिरहनुस् त्यसरी नै
कुपीको अगाडि
कुपीको उज्यालोको अगाडि ।

म आज
ढुङ्गाजस्ता दुःखहरूले चिथोरेका
बाढीजसरी आउने गरेका
अतृप्त रहरहरूले पटकपटक कोतरेका
काँडाजस्ता तीखा भोकहरूले
रक्ताम्य घोचेका
र आफ्नाहरूबाटै पाएका अकल्पनीय चोटहरूको प्रहारले बनेका
तपाईंका अनुहारका एक–एक धर्सालाई नियाल्छु
र पढ्छु तपाईंका चाउरीका एक–एक अक्षरलाई ।

पढ्दापढ्दा किताब
नभेटेर जीवनको अर्थ आफुले खोजेजस्तो
म आइपुगेको हुँ यो गाउँमा
तपाईंसम्म ।

आमा !
तपाईंलाई हेरिरहँदा
एउटा उज्यालो बल्दै गएको छ मभित्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button