नुहाईधुवाइ घसिदिने तेलै हरायो रे, हो र ?
गजल
एक्लो प्रितम खड्का
रुपन्देही ।
बढ्यो उमेर बालापनको खेलै हरायो रे, हो र ?
भाँडाकुटी लुकामारीको बेलै हरायो रे, हो र ?
उनी हुन्थिन् आमा, मचाहिँ लाहुरे बाबा हुन्थेँ
छुट्टी सकाइ लाहुर जाने रेलै हरायो रे, हो र ?
ससाना भन्ट्याङभुन्टुङ बच्चा हुन्थे कपडाकै
नुहाईधुवाइ घसिदिने तेलै हरायो रे, हो र ?
छोराछोरी पाल्ने भनी मेलापात नि गरेको है
लेक बेसी खेत बारी मेलै हरायो रे, हो र ?
ठुला भइयो आफ्नै बाटो भइयो छुट्टाछुट्टै
हातभरी उठेका ती ठेलै हरायो रे, हो र ?
(तपाईं पनि आफ्ना कविता, रचना, लेख, दैनिकी, संस्मरण आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)