पश्चाताप
कविता
विनायक पन्त
आफ्नै कोखसँग
मैले वर्षौंअघि गरेको थिएँ द्वन्द्व
लत्याएको थिएँ-
मातृत्वको पवित्र मन्दिर
बढाएको थिएँ-
त्यो काखदेखि आफूसम्मको दुरी
जब वर्षौंपछि पुनः दोहोरियो उस्तै द्वन्द्व आफूविरुद्ध
टाढियो आफ्नै मुटु आफूदेखि
छियाछिया भयो हृदय
रसाइरहे परेलीका डिलहरू
र, आज भने
तिनै आँसुको चिस्यानमा लम्पसार परेर
सम्झिरहेको छु त्यो दुरको न्यानो काखलाई
अनि जलिरहेछु निरन्तर
पश्चातापको आगोभित्र ।
(तपाईं पनि आफ्ना कविता, रचना, लेख, दैनिकी, संस्मरण आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
गज्जब ?