मदिरामा मस्त भएको बेला
कविता
अभिषेक दर्नाल ‘विश्व’
त्यो बेला ऊ
संसारको सबैभन्दा
शक्तिशाली
बुद्धिमानी
अनि धर्मज्ञानी हुन्छ
मानौ, संसार ऊद्वारा नै
सृष्टि गरिएको हो ।
उसलाई न चाहिन्छ कुनै सुर
न त कुनै ताल
ऊ आफ्नै धुनमा गुनगुनाइरहन्छ
बारम्बार …
कुन दिन, कुन रात
को बुवा, को आमा
को आफनो, को पराई
के राम्रो, के नराम्रो
उसलाई केही वास्ता हुँदैन
बस् ऊ एक्लै बरबराइरहन्छ
जे जे आयो मुखमा त्यही ।
हठात्
ऊ विद्रोही बन्छ
देशको सत्ताको
धार्मिक असहिष्णुताको
जातीय असमानताको
अनि
अमेरिकामा चलिरहेको
रङ्ग विभेदताको
मानौं उसको चेत खुलिसकेको छ
उसले अधिकारको आन्दोलन थालिसकेको छ ।
जब
अलि… अलि… अलि गर्दै
धेरै पिइसक्छ
तब, ऊ गरीब हुँदैन
सबैभन्दा धनी हुन्छ
संसारका ठुलाठुला बिजिनेसम्यानभन्दा पनि ध…नी
पिएर… पिएर… पिएर
जब पुरै बोतल रित्याउँछ
तब ऊ
नाली र घरको न्यानो ओछ्यानमा
कुनै फरक देख्दैन
मानौं उसले समानताको परिभाषा
दुनियाँलाई बताइरहेको छ ।
पिउँछ, गफ गर्छ
पिउँछ, गफ गर्छ
अनि
फेरि पिउँछ
पिउँदा… पिउँदै
जब बोतलले उसलाई नै पिउन थाल्छ
तब
ऊ घरलाई नै पिउन खोज्छ
अनि यसरी
पिउँदा… पिउँदै
स्वास्नी
छोरा-छोरी सबैलाई पिउन खोज्छ
अनि
पिएर… पिएर… पिएर
अन्तमा समयले नै उसलाई पिउँछ ।
अनि
फेरि त्यसरी नै
अर्कै मान्छे
कहिले अस्तित्वको
कहिले असमानताको
कहिले विभेदताको
अनि
कहिले राजनैतिक थिचोमिचोको विद्रोह गर्न
धरखरिइँदै निस्कन्छ, बिस्तारै भट्टीबाट ।
(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
मदिरा लाई हामीले होइन तर हामीलाई मदिरा ले पी रहेको छ भन्ने एकदमै राम्री कविता द्वारा प्रस्तुति
धन्यवाद साथी भाष्कर