कोरोना कविता
गोपीकृष्ण भट्ट
कोरोना किन विश्वमा भय भरी फैलेर आयो यसै
मान्छेका मनभित्र यो सलहझैं संत्रास फैल्यो उसै
दृश्यादृश्य विचित्र संक्रमणको अस्तित्व केहो भनी
सारा मानव त्रस्त छन् जगतमा संकित् बनायो पनि ।
रोगी रोग लुकाइ बस्दछ कहाँ फैलन्छ आगोसरी
बेलैमा सुविचार गर्न नसके मास्नेछ आडम्बरी
भोग्दैछौं विकराल संकटहरु संसारका हे जन
बाँच्ने हो कसरी बचाउनु अरु जान्नेहरु हो भन ।
लाखौं लाख मरे कयौं विपतमा भोग्दैछ पीडाहरु
सक्नेले घरभित्रनै नजरमा बन्दी बसौं है बरु
कोरोना कति क्रूर यो फगतमा जन्म्यो कि वा निर्मित
शंकै भो किन गर्छ दुष्ट जनले जीवाणुको सिर्जित ।
सेवा भाव मरेर मानवहरु स्वार्थी बने बेसुरा
सारा मानव एक हौं तर यहाँ को बुझ्छ यस्ता कुरा
मार्दै नैतिकता सबै सजगता आस्था र निष्ठाहरु
हाम्रो चिन्तनमा सधैं विविधता चिन्ता कयौं छन् अरु ।
आयुर्वेद बुझेन ज्ञानगुनका विज्ञानका वाधक
फोस्रा स्वाद नआउने जीवनका सिक्दै गयौं साधक
सोच्दैनन् समभावले सजगभै अज्ञानले मस्त छ
कोरोना अति क्लिष्ट यो जगतमा आक्रान्त भै ग्रस्त छ ।
छन्दः शार्दूलविक्रीडित
रचनाकालः २३ वैशाख २०७८ बिहीबार ।
(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)