प्रोफेसर
कविता
तेज गुरुङ ‘पाखे’
सदा झैं आज पनि प्रोफेसर
कुनै प्राणहीन मानिस जस्तै !
अदृश्य शक्तिले
टपक्क टिपेर
थचक्क थचारिदिएजस्तै
अझ भनौं
हल्लिनै नसकिने गरी
खम्बा गडाइदिए जस्तै
अकस्मात प्रकट हुन्छ
कक्षा कोठाभित्र
अनि एक प्रथम दृष्टि फ्याक्छ
आआफ्नै संगीतमा
चल्मलाइरहेका शिष्यहरुतिर ।
महान प्रोफेसरले महान डायरी
सान्दारपूर्वक निकाल्छ
कालो झोलाबाट
शब्दबृष्टि हुन्छ
घोकन्ते शैलीबाट
बीचैमा अकमकाए पनि के भो र ?
छँदैछ मेमोरी कार्ड त
प्रोफेसर अघिअघि जप्छ
मन्त्रजपेजस्तै पटापट् पटापट्
आज्ञाकारी बालक झैं शिष्यहरू
टिप्छन् ती दिव्य वाणीहरु फटाफट् फटाफट्
यसरी नै जन्मन्छन्
नव प्रोफेसरहरु भटाभट् भटाभट् ।
(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)