‘धरहरा’मा कम्युनिस्ट
कविता
प्रकाश दुलाल
जनता रोग र भोकले आक्रान्त हुँदा
पार्टी र सरकार खै भन्दै छन् रे !
हामी यहाँ छौं
समृद्धिको नारामा छौं
काठमाडौंको धरहरामा छौं
पार्टी फुटाउन व्यस्त छौं
सरकार बचाउन मस्त छौं ।
प्रदेश सांसदलाई भेडीगोठमा रुपान्तरण गरेर
हाम्रो ईसारामा मुख्य गोठाला
र, तिनका मुखिया फेर्न अभ्यस्त छौं ।
हामी कमिसनको मोल मोलाईमा छौं
आपसी जुधाईमा छौ ।
कर्णाली, गण्डकी र लुम्बिनीतिरको
खबर सुन्नु भएन ?
कारवाही र वाहवाहीको परिभाषा बुझ्नु भएन ?
हामीलाई अक्सिजन खै भनेर नसोध्नु
औषधी ल्याउँछन् कि भनेर बाटो नहेर्नु
टिभीमा हेर्नु, समाचारमा पढ्नु
तपाईँका गुनासा सुन्न र बुझ्न
हामीलाई फुर्सद छैन
जनताले हामी हराएको सुचना जारी नगरुन् भनेर
हामी सांसद मोलमोलाईमा छौं, किनबेचमा छौं ।
हामी कहाँ छौं भनेर
अझै पनि ठम्याउन सक्नु भएनछ ।
त्यसैले
हामी कहाँ छौं र के गर्दै छौं भनेर देखाउन
बैशाख २७ मा विश्वास/अविश्वासको
खेल आयोजना गरेका छौं ।
कोरोना त्रासबाट मुक्त हुन
हाम्रो खेल हेर्नु र सुन्नु ।
लाज लागे आफ्नै आँखा थुन्नु ।
हामीलाई लाज-घिन
धर्म-अधर्म वेपरवाह छ
किनभने,
हामी नास्तिक हौं
हामी कम्युनिस्ट हौं
भौतिकवादी हौं, अवसरवादी हौं ।
सत्ता र सम्पत्ति सत्य
र, जगत् मिथ्या ठान्छौं
र, त सार्वभौम संसदलाई पंगु बनाउन
सांसद खरिदबिक्रीमा छौं ।
हामी यहाँ छौं ।
बुधबार २२ बैशाख २०७८, काठमाडौं ।
(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)