भातेहरू अझै लिगलिगकोटक‍‍ो दौडमा छन्

कविता

सरुभक्त

सन्त्रासका शिविरहरूमा बन्द
हिमालका मनहरू टेकेर
बोरा गाउँका गलैंचाप्रसादहरू कता लागे ?
चेपे र मर्स्याङदी दोभानमा
कथाब्यथाहरूलाई
चुइङगमका धागाहरूले बुन्दै
असमय झरीको रातमा रूझेपछि
एकाबिहानै
कथित सभा चौतारीका अकथित बिम्बहरू सँगालेर
म टाढा कुहिरोको देशमा हराएको छु
नजिकै प्रकृतिले खाल्ट‍ो खनेका
पहाडका तरेलीहरूमा
कतै टिनमा छाना टल्केका छन्
कतै टौवाका भित्ता चर्केका छन्
समयका आग्नेय गतिमा
के ले बले ? के ले गले ?
जिन्दगीका प्रायद्विपमा
सागर हराएका आत्मा उस्तै छन्
अवशिष्ट भजनहरूमा
हाँसहाँसे झैं
असमय फुलेका लालीगुराँस ओठहरूमा
नाचेनाचे झैं परिवेशमा
कताकतै प्राचीन आर्वाचीन ध्वनीहरू सुनिन्छन्
पैंचो मागेका विश्वासहरू झैं
सिस्नुका झ्याङमा लुकेका सपनाहरूलाई सोध
उनीहरूका हावा कता छन् ?
उनीहरूका पानी कता छन् ?
फागुको दिन
आादिम तृष्णाको यात्रामा हिड्दै गर्दा
शीत रोएका बाटाहरूमा
एउटी गाउँले आमा थालमा अवीर लिएर
‘ए बाबू !’ भन्दै भेट्न आउँछिन्
सायद परदेशिएको छ‍ोरोको प्रतिबिम्ब दुखेर
ममताको अतल गहिराइमा
देशमा सदियौदेखि आमाका सपनाहरू हराइरहेका छन्
र सहिद सपनाहरू
अनास्थाका ग‍ोली लागेर
क्षतविक्षत भइ ढलिरहेका छन्
तर भष्मासुर भातेहरू लिगलिगकोटक‍ो दौडमा छन्
भातेहरू अझै लिगलिगकोटक‍‍ो दौडमा छन् !

(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button