एन एच 21 ! आइ लभ यु

कोलाज

हजुर !
एन एच 21 एउटा सडक
अति ब्यस्त सडक
साझ बिहान मसँगै गुड्ने राष्ट्रिय राजमार्ग
म यहि सडक भएर गुड्छु
राज्यपथ परिवहन होस्
या
निजी परिवहन ।

आँखाको निमेषमा
बदलिने पहाडहरु
नयाँ नयाँ उम्रिएर बढे झैं भान हुन्छ
वसन्तमा जवान भएर शिशिरमा बुढा हुने
अमर पहाडको कहानी छुट्टै छ !

पहाडको छाती भरी कोरिएका नागबेली सडकहरु
रबर जस्तो तन्किएर बिलाउछ्न् पहाडभित्रै मेरो आखामा
तर
मेरो सोच बिलाउँदैन ।
टिल्पिलाउँछ आँखाभरी
फ्ल्यासब्याक भएर
दृश्यमा आउँछ्न्
ढाका टोपी ओढेका
कर्मठ नेपाली, बहादुर र कान्छीहरु ।

साँच्चै नेपालीले भारत बनाए
पहाड खने
पहाड बोके
यहाँको माटो नुनिलो बनाए
तर
नेपाल बनाउन खै कहाँ पाए ?

आफ्नो आगनको तितेपाती घारी
छानोको वनमारा
गारोमा उम्रिएको पिपलको बोट
हटाउन जान नि हम्मे छ
भारतका पुल बनाउँछन्
आफ्नो देशमा तुइन तर्छन्
भाग्य भए बाँच्छन्
नभए नदीसँगै बिलाउँछ्न् ।

हजारौं पहाडभित्रै बिलाएका कथाहरु सम्झिँदा
साझ बिहान पालिन यहाँ बाध्यताले थन्किएका
मेरा दाजु दिदीहरुको मन भएर महसुस गर्दा
मोती टप्किन्छ्न् आफै
अनि
यहाँका हर सडक अँगालेर भन्न मन लाग्छ
तिमी हाम्रो पसिना हौ
तिमी हाम्रो योगदान हौ
एन एच 21 आइ लभ यु ।

हालः हिमाचल, कुल्लु, भारत ।

(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button