अब अर्को उपन्यास लेखौं भनेर सोच्दैछु

नेपालनाम्चाको नियमित स्तम्भ किताबमा सन्निपातमाथि सञ्जीब लिम्बूलाई दश प्रश्न ।

नयाँ किताब ‘सन्निपात’का लागि तपाईलाई बधाई । तर, के साँच्चै तपाईंको पुस्तक बधाई दिन लायक छ ?
सर्वप्रथम त नेपालनाम्चा परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । पुस्तकलाई बधाई दिन लायक छ कि छैन ? यो त पठकहरूले मुल्याङ्कन गर्ने कुरा हो । मैले त सकेसम्म राम्रो बनाउने कोसिस गरेको छु ।

किताबमा के छ र यो विशेष छ ? अर्थात किन पढ्ने यो किताब ?
यो किताबमा त्यस्तो विशेष नौलो कुरा त केही पनि छैन जस्तो लाग्छ मलाई । त्यस्तो समाजै परिवर्तन गर्छु भन्ने क्रान्तिकारी आवाजहरू छैनन् । वा भनौ अहिले देशमा चलिरहेको अनेक प्रकारको आन्दोलनहरू मध्ये त्यस्तो कुनै पनि आन्दोलनलाई साथ दिनेखुराकहरू पनि छैनन् । जे छ हामी वरिपरिकै समाज छ । परिवेश छ । जीवनहरू छन् । हाम्रो मानसिक भ्रान्तिहरू छन् । मानवीय चेतना त्यो भन्दा पर गएर के नै लेख्न सक्छ र ? तर पनि हाम्रौ वरिपरि रहेर पनि, हामीले नै भोगीरहेको भएर पनि, हामीले नै भन्न नचाहेका कुराहरू छन् । सुनाउन नसकेका कुराहरू छन् । मान्छेका स्वभाविक व्याक्तिगत् चाहनाहरू, जुन कुराले उसको अचेत तथा अर्ध चेतनमानलाई नै नियन्त्रण गरेर उसको चेतन मनलाई हरवखत सताई रहेको हुन्छ, त्यही कुराहरू छन् । सिधै भन्नु पर्दा यहाँ धेरै यौनका कुराहरू छन् । कति पाठकहरूलाई ‘सत्य कथा’ जस्तो पनि लाग्ला, तर ती सत्य कथाहरू पनि हाम्रौ कथाहरू हुन् । बस् हाम्रो खोक्रो सामाजिक मुल्य मान्यता, अदर्श र नैतिकताहरूले तीनलाई “सत्य कथा” बनाएका छन् । मान्छेको भोगाई र अनुभुतिहरू, जुन अमुर्त हुन्छ त्यो त सबैको लागि एकै हो । ती कुराहरू नै लेख्छु भन्दा भन्दै पनि परावर्त हुने समाज, परिवेश त आउने नै भयो । त्यसमा मैले भोगेको, देखेको लाहुरे परिवेश छ । लिम्बू समाज छ । परदेसीको जिन्दगी छ । क्रान्तिकारी हुँ भन्नेको मनस्थिती पनि छ । अब पाठकहरूले के पाउनु हुन्छ त्यो वहाँहरूको समजको कुरा हो । बिपी कोइरालाको ‘सुम्निमा’ उपन्यासमा कतिले आर्य र किंराती सभ्यता देख्छन्, म भौतिकवाद र अध्यात्मवादको भयङ्कर द्वन्द देख्छु ।

यो किताबको जन्मनुको कुनै परिवेश, कारण र अर्थ के हो ?
म किताबहरू पढ्न मन पराउने मान्छे । बिभिन्न प्रकारका किताबहरू पढ्ने गर्थें । त्यो बानीले ममा एक प्रकारको गम्भिर प्रभाव पार्दै गयो । चाहे त्यो धर्मशास्त्रका किताबहरू हुन्, चाहे दर्शनका किताबहरू हुन्, चाहे साहित्यका किताबहरू हुन् वा कसैको जीवनी नै किन नहोस् आखिर तीनले व्याख्या गर्ने भनेको त यो जीवन् र जगत्लाई नै हो । मलाई अनौठो लाग्थ्यो, हरेक लेखकले यो जीवन र जगत्लाई देख्ने नजरिया फरक फरक छ । आफूले देखेको, सोचेको भन्दा बिल्कुलै फरक । र त्यसले मलाई रोमान्चित् बनाउथ्यों । जसरी एक जना पदयात्री विभिन्न ठाउँहरू घुम्दा, त्यहाँका दृश्यहरू हरेर आनन्दित हुन्छ त्यसरी नै मलाई किताबहरू पढ्दा सारा व्रम्हाण्को यात्रा गरिरहेको जस्तो महसुस हुन्थ्यो । र त्यही यात्राले एक अस्तित्वगत् प्रश्नलाई जन्माउँदो रहेछ ‘म को हुँ ?’ भन्ने । जुन बौद्विक वर्गमा चल्ने एक ‘फेसन’को प्रश्न पनि हो । त्यसले झन् धेरै किताबहरू पढ्ने जाँगर चल्न थाल्यो । र पढ्दै जाँदा, बुझ्दै जाँदा र आफूले भोग्दै पनि जाँदा अरुले लेखेका कुराहरूमा, अरुले भनेकाकुराहरूमा चित्त नबुझ्दो रहेछ । र आफ्नै दृष्टिकोण बन्दोरहेछ । र आफूले बनाएर मात्रै पनि नहुने, अरुलाई सुनाउन पर्दो रहेछ । त्यसैको परिणाम हो यो किताब । त्यसैले मैले भयङ्कर समाज परिवर्तनको लागि वा जनचेतनाको लागि लेखेको किताब हैन यो ।

प्रारम्भिक प्रतिकृयाहरु के कस्ता आइरहेका छन् ?
त्यस्तो कुनै प्रकाशकले छापेर बजारमा पुगेको छैन यो किताब । मैले आफै छापेर मेरा नजिकको साथीभाइहरूलाई बाँडेको हो । ज जस्ले पढ्नु भयो, ठिकै खाले प्रतिकृयाहरू दिनुभएको छ ।

नाम कसरी रहन गयो ? नाममा के छ ?
यो किताबमा एउटा ‘सन्निपात’ भन्ने कथा छ । माओवादी जनयुद्वको कथा ।सन्निपात भन्नाले एक प्रकारको रोग हो । महामारी जस्तो । मानसिक रोग । असैय पिडाले छट्पटाई रहेको जस्तो । अङ्ग्रेजीमा ‘delirium’ भन्छ नि, त्यस्तै । हाम्रो मानवीय सभ्यता त्यस्तै एक प्रकारको मानसिक रोगले ग्रसित छ भन्ने हो । त्यसैले हामी सधैं असन्तुष्ट छौं । छट्पटाई रहन्छौं । धर्मको नाममा । राजनितीको नाममा। क्रान्तिको नाममा ।विकासको नाममा। परिवर्तनको नाममा । नत्र त यत्रा यत्रा महा युद्वहरू भए, कति जनयद्वहरू भए, कति परिवर्तनहरू भए अब त मान्छेले मुक्ति पाउनु पर्ने हो । यो निरन्तर संघर्ष केका लगि? कहिले सम्म? समस्याको जड बाहिरी ‘सिस्टम’मा हैन, भित्र अस्तित्वगत् रुपमै मान्छे असन्तुष्ट छ भन्ने हो । विकृत छ भन्ने हो । राजनितिक वा सामाजिक परिवर्तनहरूलाई बाहिरी रुपमा जसरी व्यख्या विश्लेषण गरेपनि भित्री रुपमा मान्छेको मनस्थिति मै समस्या छ भन्ने हो ।

किताबमार्फत तपाईं खासमा के भन्दै हुनुहुन्छ ?
मान्छे दुई वटा कुराहरूबाट परिचालित हुन्छ । त्यसमा एक हो सहजवृति (basic instinct) र अर्को चेतना (consciousness)। जस्तो भोक लाग्नु एक सहज वृति हो । यो स्वतह हुन्छ । यो स्भाविक हुन्छ । चेतना जटिल हुन्छ । यो हमेस भूत र भविष्यमा रुमलिरहन्छ । जस्तो कि उमेरको निश्चित अवस्थामा पुगेपछि केटा केटी एक अर्काप्रति आकर्षित हुनु सहज वृति हो । तर त्यसमा निश्चित यो केटा वा यो केटीसँग मात्रै अकर्षित हुनु है भन्ने हुदैन । यो स्भाविक हुन्छ । यसलाई व्यबस्थित गर्नलाई समाजले ‘विवाह’ जस्तो सामाजिक संस्थाको विकास गर्यो । यो चेतनागत् हो । तर कैलेकाहिँ चेतना र सहज वृतिबिच अन्तरद्वन्द चल्छ । त्यसले समाजमा विकृति र विसंगतिहरू जन्माउँछन् भन्ने हो । मान्छे बाहिरी रुपमा जति नै आदर्शवादी भएर कुरा गरेपनि उसको अन्तर मानसिक दशा त्यहि हो ।

प्रकाशित भइसकेपछि यो किताबमा के के छुटेछन् जस्तो लाग्यो ?
धेरै नै कुराहरू छुटेका छन् । मनमा भावना तथा बिचारहरू आउनु एउटा कुरा, तर त्यसलाई लेख्नु फरक कुरा रहेछ, त्यो किताब लेखिसकेपछि मात्रै महसुस गरे । त्यसको मतलब हो चाहाँदा चाहाँदै पनि धेरै कुराहरू छुटेका छन् यस किताबमा ।

अब अर्को के कस्तो किताब लेख्दै हुनुहुन्छ ?
अब अर्को उपन्यास लेखौं भनेर सोच्दैछु । तर केहि समय लाग्छ होला ।

पछिल्लो समय प्रकाशित तपाईंलाई मन परेका पाँच किताब सम्झनुस्न् ।
पछिल्लो समयको किताब भन्नु पर्दा मेरो कर्म थलो विदेश भएकोले किताबहरू प्रकाशित हुने बितिकै पढ्ने अवर मिल्दैन । त्यसमा वियस राईको ‘हिउँ माझी’ । ललित बिष्टको ‘मोहपथ’। कृष्ण धारावासीको ‘वर्तमान’ । उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ । र सुस्मा रुपाबुङ् राईको ‘लाहुरेनी फूल’ ।

ती पाँचमध्ये आफ्नो किताबलाई कहाँनेर पाउनु हुन्छ ? नढाँटी भन्नुस्न् ।
आफ्नो कृति सबैलाई राम्रै लाग्दो हो । त्यसमा मलाई चाहिं आफ्नो कृति मन नपर्ने कुरा भएन । ति मध्धेमा कति नम्बरमा भनेर नम्बर नै त नतोकौं तर ती किताबहरू माझ मेरो किताब पनि रहँदा मलाई अफ्ट्यारो पर्दैन भन्ने लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button