कमल कार्कीको ‘मन’

कविता

रोक्न सक्दोरहनेछ कोशीको भेलले
सक्दोरहेनछ छेक्न महाभारतको छातीले
उफ्रीन्छ, दौडिन्छ र नाघ्छ सीमा जुनसुकै
नागबेली सडकमा घुम्न चाहन्न यो
लाग्दैन रिँगटा यसलाई जति घुमे पनि
अनेकौं घुम्ती र कुइनेटाको कुनै प्रवाह छैन यसलाई ।

ध्वनिमा तरङ्गित हुन सक्ने यो मन
करोडौंमध्ये पनि आफ्नैसँग जोडीने यो मन
लुक्नुपर्दैन, छ्ल्नुपर्दैन अनि प्रपन्च पनि गर्नुपर्दैन यसलाई
यो त सुटुक्क मनको तहमा स्वतः मिल्न जान्छ
ढोकाको खापाजस्तो आफै मिल्छन् यी दुई मन ।

कुनै विद्युतीय तरङ्गको सहायता चाहिन्न
कुनै सामाजिक सन्जालको सहयोग चाहिन्न
जलमार्ग थलमार्गको जरुरत छैन
बरु आकाशमार्गबाट विचरण गर्न चाहन्छ
ज्ञानेन्द्रीयको वैशाखी टेकेर पुग्छ यो मन
केवल अनुभूतिमा रमाउन खोज्छ यो मन
भौतिकतामा रत्तिभर विश्वास छैन यसलाई
छ त विश्वास र सम्मान आफूजस्तै अर्को मनसँग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button