गुरुङ ‘पाखे’को ‘नउदाएको चन्द्रमा’

कविता

तेज गुरुङ ‘पाखे’

एक अध्याँरो साँझ
वेनामी कालो मूर्ति झैँ
प्रतिक्षामा ठिङ्ग उभेर कुरिरहेछ
चन्द्रमा उदाउने पर्खाई र उत्सुकतामा
तर पूर्वाभाषलालि छर्दाछर्दै
एक्कासी अस्ताए पलमै
न्यानो प्रेमस्पर्शका किरणहरु
त्यसै विलाए कतै क्षितिजमा ।

मेरो खुशी र आशामाथि
एकैचोटी वज्रपात गरे निराशाले
तिरमिराए मेरा आँखाहरु
छाए अन्धकारहरू
गुमाएझैँ लाग्यो सब प्राप्तिहरु
खोसिएझैँ लाग्यो मेरा अधिकारहरू
झ्वाट्टै मबाट ।

विलिन भएछु अन्धकारभित्र
सब लुटिएर रित्तो म
चिनिन मैले आफैलाई
किनकी
नउदाउँदै अस्ताएको कालो चन्द्रमाको
चिसो सिरेटो ओढेर
हाँस्नु न रुनुको मुद्रामा थिएँ म ।

के हुन्थ्यो होला ?
के हुन्थ्यो होला
यदि मेरो आकाशमा पनि चन्द्रमा उदाए
कति मौलाउथ्यो होला?
मभित्रका कुण्ठित प्रेमका प्यासहरू
मर्दैनथे होला मेरा इच्छा र भावहरू ।

शायद….साकार बन्थ्यो होला
रोमियो शाहजहाँ र मदनजस्तै
प्रेमभक्त बन्ने मेरा चाहनाहरू
तर… तर…
एकै चिहान भए यी सब
जब कोरिन् चन्द्रमाले प्रेमरेखा
र, नउदाउदै अस्ताइन् मेरो आकाशबाट ।

तिमी कतै उदाउन
यहाँ अस्ताएको हुनुपर्छ
तिमी र्म्ने दूनियाँ
शायद अर्कै हुनुपर्छ
तिम्रो मिठो र न्यानो किरण पाउने
भाग्यमानी प्रेमपुरुष
शायद अर्कै हुनुपर्छ ।।

त्यसैले… त्यसैले…
जाउ चन्द्रमा तिमी आफ्नै
आकाश खोजेर जाउ
कहिल्यै नअस्ताउने आकाश रोजेर जाउ
पुर्णिमाको रात लिएर जाउ
फेरि पनि भुलेर
यहाँ नउदाउँदै अस्ताउन नआउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button