श्रमको मूल्य
कविता सन्दर्भः अन्तरास्ट्रिय श्रमिक दिवस
सुशीला शर्मा
संसारको प्रविधिमा
वस्तुमात्रै बिक्छन् यहाँ
श्रम गर्ने मजदुर किसान
ओइलाएर सुक्छन् यहाँ ।
हामीमा नै खोट छ कि
श्रमिकलाई होच्याउने
श्रमको मूल्य थाहा नपाइै
आवरणलाई गिज्याउने ।
नीति नियम प्रस्ट छैन
मह काढ्ने, हात चाट्ने
कहिले आउने होला त्यो दिन
श्रमको उचित मूल्य साट्ने ।
काम गर्ने कालु यहाँ
मकै खाने अर्कै हुन्छ
ठूला ठालु पल्टिनेको
जमात अनि लर्कै हुन्छ ।
भाषणमा भन्छन् नेता
श्रमको मूल्य चुकाउँछौ
कुर्सी पाए बिर्से सबै
आफ्नै दुनो सोझ्याउँछन् ।
श्रमले सिर्जित संसारमा
खुसीसाथ रम्न पाए,
मेहनत र परिश्रमको
उचित मूल्य सबले पाए
बस्ती हराभरा हुन्थ्यो
नदी कलकल स्वच्छ हुन्थ्यो
गरी खाने मजदुरको नि
अनुहारमा कान्ति छाउँथ्यो ।