गोरखा भूकम्प, बारपाक र वेह्युल
श्याम रिमालका ३ कविता
गोरखा भूकम्प
कान्तिपुर विजेता गोरखा आज फैलाउँछ भूकम्प
बारपाक, लाप्राक, सिमजङ भएर
काभ्र्रे, सिन्धुपाल्चोक, दोलखा सर्वत्र
गजे घलेले सरापेको होइन
कोटदेवी रिसाएको होइन
यहाँ प्रकृति बौलाहेको मात्र हो तिब्बती र भारतीय भूखण्ड भएर
यहाँ कुनै लमजुङे राजा फर्कन्नन्
न गोरखाली, न कान्तिपुरे
यहाँ भैँचालो बिहानीको खाजा मात्र हो गोेरखालीको
पर्यटकको ताँती यहाँ फेरि आउने छ
क्यामेरा भिर्दै, लौरो टेक्दै, सन्तानहरु बोक्दै
धरहरा भएर फेरि उभिन्छ गोरखा
यहाँ पृथ्वीनारायणका सन्तानहरु ज्युँदै छन्
गोरखा बनाउन, नेपाल हाँक्न, संसार जित्न ।
२०७२।०२।०६
बारपाक
बुद्ध हिमाल कहाँबाट उदाउँछ फेरि
कसले हिँड्छ यो ढुङ्गेनी बाटो
कसले खेल्छ भुरुङ र टोपी झिक्ने खेल
कसले गाउँछ ठाडो भाका र लिङ्गेमई गीत
कसले नाच्छ घाँटु, मारुनी र लाहुरे नाच
कहाँ होला लाटोकोसेरा र हुचिलको बास
कहाँ होला खच्चरको भारी र मालताल
भिसी गजे घलेको तक्मा कहाँ पुरियो होला
वीरबहादुर घलेको बत्ती कहाँ अँध्यारियो होला
चिरिएको पहरो,
धाँजा फाटेको खेत र
खण्डहर बस्तीमा
कुन घले र गुरुङले ओढाल्नान् ढिंडो
र सहरदेखि कुन पर्यटक आउलान्
सात दिदीबहिनीले पोलेको भेंडाको मासु र पकाएको सिस्नुको तरकारी खान
ढुङ्गै ढुङ्गाको घर कसले छाउने होला फेरि
बारीमा मकै कसले छर्ने होला, सुनै सुन कसले फलाउला
भैँचालोलाई बिर्सेर बाह्र बाघ बाँधे जस्तै को बारपाकी अघि सर्ला ?
२०७२।०२।२३
वेह्युल
भुइँचालोबाट उठेको हाम्रो हिमाल
भैँचालोबाटै चोइटिन्छ र
पहिराले भगवान्ले लुकाएको गाउँ पनि लैजान्छ
यहाँ भगवान्सँग आर्तनादको कुनै अर्थ हुन्न
महागुरु पद्मसंभवसँगको पुकारा काम लाग्दैन
मान्छेभित्रको भगवान् नै पुरिन्छ, बगाउँछ र लासै लास पार्छ
भेंडा, घोडा, चौंरी र याक सम्झन पनि कसैलाई समय हुन्न
गोठ गएका नुर्पु घर फर्कँदा छोरा, बुहारी र नातिनातिना भेट्दैनन्
फापर रोप्न गएकी ङिमा घरमा खसम पाउँदिनन्
पर्यटकलाई करुको ढिंडो ख्वाउन व्यस्त छिरिङ
होटेलमै चेपिन्छिन् बिदाइको हात नहल्लाउँदै
लौरो टेक्दै क्यामरा बोकेका पाहुनाहरु बगेका छन्
दूरदेशलाई नै रुवाएर माटो मिसिएको हिउँ, मानव कङ्काल
र दलदले हिलो मात्र छ पवित्रभूमिमा
हेर्दा हेर्दै बजार नै बगर हुँदो रैछ
हेलिकप्टर चढ्दै आइपुगेको याम्बुरीको पहेंलो गुम्बा–
लाङटाङ अट्न सक्दैन
आफ्ना गोठ, खर्क र चौंरी, घोडाबिनाको तातो शिविर
तिर्खा मेट्ने गरी पानी पियाउन पनि सक्दैन
हिउँ खाएको जिउ सहरको गर्मीले भत्भती पोल्छ
गाउँ सम्झेर निद्रा लाग्दैन हिमालका सन्ततिलाई
मान्छेबिनाको स्वर्गभूमि पनि रोइरहेको छ हिमालमा
हुरुरु उकालो चढेर घर उठाउनु छ, छाप्रो हाल्नु छ
गोठ बाँध्नु छ र चौंरी पालेर गाउँलाई पुरानै लयमा फर्काउनु छ
पाहुनाको स्वागत गर्नु छ, देश सम्हाल्नु छ र संसार चियाउनु छ ।
(वेह्युल–तिब्बती भाषामा भगवान्ले लुकाएको गाउँ)
२०७२।०२।२७