नदी किनारमा घर

कविता

शिल्पा लोचन

मेरो आँगनमै गंगा छिन्
आउँछिन् र तानेर लैजान्छिन्
मेरो पिँडीको डिल
अनि मिसाउँछिन् आफ्नो कोखमा ।

अँगेनाको माथि रहेको भारबाट
तप्प तप्प तप्किन्छ पानीका थोपाहरु
निभाउनुअघि निभ्न पुग्छ आगो
हो, अचेल म जुन ताप्छु अँगेनाबाट
अनि छानोको धुरीबाट नियाल्छु
सिङ्गै आकाश
हो, अचेल आकाश
बेठकमै आएर अडिएपछि हो
मेरो घर नै दुनियाँ लागेको
जुन थालमा टल्किएपछि हो
भोक लाग्न छाडेको
अँगेनामा पानी परेपछि हो
प्यास लाग्न छोडेको
हो अचेल …
घाम लाग्दैन मनमा
तातो हुँदैन आँतमा ।

दश लिटरे ग्यालिन बोकेर
घण्टौ लाईनमा बसेपछि
आँत भरिने गरी पानी पिउँथिन् आमैले
आज बिस्तारामै स्विमिङ्ग ताल छ
झन तनावमा छिन् आमा
बेचेर कुखुराको चल्लाहरु
नातिनीलाई सुन हाल्दिन्छु भन्थिन् आमा
आज सुनको सपना
भान्साका नुन पग्लेर पानी भए जस्तै
मन पानी पानी भएको छ उनको ।

आँगनको डिल लैजाँदासम्म च्वाँक च्वाँक
मुख बजाउने बाबै
अतालिएका छन् तर्सेर
दुवै हात आकाशतिर
फर्काएर खाई के के बोल्दैछिन् छिमेकी भाउजु !
सायद,
साउनको झरी जस्तै निठुर
भएका छन् दैवको मन
आपत्ति गरिरहेछन मान्छेहरु १
हो, आज झरी बेइमान भएको छ
र, लुछेर लगेको छ आँगनको डिल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button