हाम्रा राजकुमार र राजकुमारीहरू

कविता

मञ्जु मञ्जुभाषिणी

हाम्रो सानो झुपडी नै
हाम्रो दरबार थियो
म रानी तिमी राजा
अनि स-साना हाम्रा सन्तान थिए
राजकुमार र राजकुमारीहरू ।

तिम्रा पाउहरू निरन्तर दौडिरहे
सन्तानको सुन्दर भविश्यका दैला उघार्न
कहिल्यै अडिएनौ
कहिल्यै झुकेनौ
मीठो थियो गुन्द्रुककै झोल
तर
सुनका टुक्रासॅग
स्वाभिमान भजाएनौ ।

राजकुमार र राजकुमारीहरूको
खुशीका निम्ति म
टेकेर हिॅडिरहेॅ दुःखका
अनगिन्ती काॅडाहरू
र,
पटक्कै आँशु झारिनॅ मैले
बरु
खडा गरिरहेॅ
स्वप्निल महलहरू ।

एक दिन राजकुमार
एक राजकुमारी लिएर आए
राजकुमारीसॅगै अष्ट्रेलियाको भिसा
अनि
राजकुमारीले पनि
राजकुमार लिएर आइन्
अमेरिकाको भिसासहित ।

अब
बादलको देश छ
म रानी नै हुॅ, तिमी राजा नै हौ
बादलको देशमा
ठूलो दरबार छ हाम्रो
मिष्ठान्न भोजन छ
तर खै घाॅटीबाट उॅधो गएको ?
आँशुका घुट्काहरू
घुटुघुटु निलिन्छन्
तर अ‍ॅह,
निलिन्न मिनरल वाटर ।

ती स्वाभिमानी आँखाहरू
निरीह छन् आज
र,
टुलुटुलु हेरिरहेछन्
बादलको देशबाट
एक पछि अर्का गर्दै
राजकुमार र राजकुमारीहरू
अकासे तालमा उडिरहेका !
टुलुटुलु हेरिरहेछन्
सबका सब दरबारहरू
राजकुमार र राजकुमारविहीन भएका !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button