लेख्न छोड्नु मेरो गल्ती
‘लेखक बोल्छ‘ स्तम्भमा नेपालनाम्चा प्रस्तुत गर्छ डा. संगीता स्वेच्छा ।
सुरुमा स्वेच्छाबारे …
साहित्यमा सानैदेखि रूची राख्ने डा. संगीता स्वेच्छाको ‘गुलाफसंगको प्रेम’ कथासंग्रह, ‘पखालिएको सिउँदो’ उपन्यास र ‘असहमतिका पाइलाहरू’ संयुक्त कथासंग्रह प्रकाशित छन् । स्वेच्छाको दोस्रो उपन्यास प्रकाशोन्मुख छ ।
विभिन्न नेपाली तथा अन्तराष्ट्रिय पत्रिका, किताब, जर्नल तथा बेबसाइटमा स्वेच्छाका कथा, कविता तथा गजल प्रकाशित छन् । स्वेच्छाका उपन्यास तथा कथाहरू क्यापिटल एफ। एम। मा प्रसारित छन् तथा कविताहरू रेडियो नेपाल तथा नेपाल टेलिभिजनका साहित्यिक कार्यक्रमहरूमा समेत प्रसारित छन् ।
बेलायतको सर्रे युनिभर्सिटीबाट वातावरण संचारमा विद्यावारिधि स्वेच्छाले त्रिभूवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नाकोत्तर र अष्ट्रलियाको होमस्ग्लेन इन्सटिच्युट अफ टेफबाट सफ्टवेयर डेभलपमेन्टमा डिप्लोमा गरेकी हुन् ।
‘नेपाल विद्याभूषण – २०१४’ तथा ‘महेन्द्र विद्याभूषण – २०००’ बाट विभूषित स्वेच्छा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा आजीवन सदस्य र नेपाली साहित्य विकास परिषद यूकेमा सह-उपमहासचिव को रुपमा आबद्ध छिन् ।
अब अन्तर्वार्ता …
कुन घटना, कारण वा प्रेरणाले तपाईं कहिलेदेखि लेखन आउनु भयो ?
खासै कुनै घटना त याद छैन तर म सानैदेखि अलि अन्तर्मुखी स्वभावकी थिएँ । घर वरिपरि निकै हरियाली थियो । प्रकृतिप्रेमले पनि केही हदसम्म सायद साथ दियो किनकि म घर अगाडिका ती रुखहरु हेरेर निकै बेर सोचेर बसिरहन्थे । कम बोल्थें र कतिपय बोल्नुपर्ने कुराहरु लेखेर व्यक्त गर्थे जुन आफैमा सीमित हुन्थे र बेला बेला च्यात्दै फाल्दै पनि गर्ने गर्थें । मलाई याद भएसम्म म सात आठ कक्षादेखि लेख्थें । यसरी र म दश कक्षामा पढ्दा सिद्धार्थ बनस्थली विद्यालयलाई प्रतिनिधित्व गर्दै कथा प्रतियोगिता र कविता वाचन कार्यक्रममा भाग लिन पुगेकी थिएँ । समग्रमा भन्नुपर्दा मेरो लेखनको प्रेरणाको स्रोत प्रकृति नै हुन् ।
लेख्दा के हुन्छ ? र, नलेख्दैमा के हुन्छ ?
लेख्दा मनमा एक प्रकारको शान्ति मिल्छ । हुनत धेरै वर्ष साहित्य लेखनमा संलग्न थिइन । तर, संचार क्षेत्रसंग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धित भइरहेकी हुँदा लेखनको अनुभव सँधै काम लागिरह्यो । र, पछिल्लो समयमा भने यही कामसम्बन्धिको लेखनले सायद साहित्य लेखनमा सहयोग भयो । त्यसैले लेखन मेरो जीवनको अभिन्न अंग बनिरह्यो ।
तपाईंले लेखेकै कारण के भएको छ ? केही त्यस्ता घटना सम्झनु हुन्छ, जसको जगमा तपाईंको लेखन थियो ?
मेरो पहिलो उपन्यासको जग भन्नु पर्दा चाहिँ सेन्ट जेभियर्स क्याम्पसमा आइ।एस।सी। सकेर फुर्सदको समयमा कथा लेख्न बसेकी थिएँ । लेख्दै जाँदा लामो भयो र उपन्यास बनाउन सक्ने हिम्मत आयो । २६५ पृष्ठको उपन्यासको जग त्यसरी नै बसेको थियो ।
यो उपन्यास म अठार वर्षकी हुँदा प्रकाशन भयो र उपन्यास प्रकाशन भए लगतै धेरै सञ्चार माध्यममा देखिएँ । यसैबाट कान्तिपुर दैनिकमा केही समय लेख्ने मौका पाएँ । त्यसको लगतै विभिन्न पत्रपत्रिका र म्यागजिनमा लेख्ने र काम गर्ने मौका पाएँ । यही अनुभवले सानै उमेरमा सहसम्पादकको रुपमा न्यु एरा नामक गैरसरकारी संस्थामा समेत काम गर्ने अवसर पाएँ । गैरसरकारी संस्थासंगको संलग्नता पनि यसैबाट शुरु भयो । सायद लेखनको जग नबसेको भए म आज जे गर्दैछु र जहाँ छु, त्यहाँ हुन्नथें होला ।
तपाईं यदि लेखक नभएको भए समाज र संसारलाई केही फरक पथ्र्यो ?
म यदि लेखक नभएको भए समाज र संसारलाई त हैन, मलाई चाहिँ फरक पर्दथ्यो किनकी लेखन मेरो जीवनको एक छुटाउनै नमिल्ने पाटो हो ।
तपाईका लेखनका विषय तपाईं कसरी रोज्नु हुन्छ रु खोज्नु हुन्छ ?
मेरा आँखा वरिपरि घटेका र पढेका अनि कुनै देखेका मन छुने कुराहरु अथवा कुनै भोगेका अनुभवहरु र कतिपय विषयमा केही अनुसन्धान गरेर पनि मेरा विषय तयार हुन्छन् । यही विविध कुराहरु नै प्रेरणाको श्रोत बन्न पुग्दछन् जसलाई कल्पनाको जलपसंगै लेखनमा उतार्ने गर्दछु । विषय यही भन्दा पनि समाजमा भइरहेका घटनाहरुलाई आफ्ना पात्रहरुमार्फत दर्शाउने र केही हदसम्म ती जानकारीमूलक या मनोरञ्जनात्मक होस् भन्ने मेरो प्रयास रहने गरेको छ ।
लेख्दालेख्दै विरक्त पनि लाग्दो होला है ?
लेख्दा विरक्त लाग्नु भन्दा पनि लेखनको लागि समय अभाव खट्किरह्यो जीवनका केही मोडहरुमा । लेख्दा वा लेखेपछि भने विरक्त भन्दा पनि मन शान्ति बढी मिल्ने गरेको छ । एउटा छुट्टै आनन्दको अनूभुति हन्छ लेखनमा ।
तपाईं लेख्नु हुन्छ तर त्यसको संप्रेषण संकुचित वा व्यापक हुँदा तपाईंमा आउने फेरबदल के हुन्छ ?
केही हदसम्म संप्रेषण हुनु स्वाभाविकै हो । यसले आफूलाई निखार्ने मौका दिन्छ । प्रकाशनमा पठाएका कुनै लेखन त्यस्तो अनावश्यक रुपमा संप्रेषण भएको पाएकी छैन अहिले । तर धेरै अगाडि एउटा पत्रिकामा काम गर्न छाडेकी थिएँ– सम्पादकको अक्षरहरुमाथिको हस्तक्षेप अलि बढी नै भएर । त्यो सम्पादन मेरो लेखनलाई उचाइ दिनु अथवा राम्रो प्रस्तुतिकरणका लागि भन्दा पनि सम्पादकका आफ्ना विचार त्यसैमार्फत मिसाएर पोखिनको लागि हुन्थे, जुन मलाई उचित लागेन ।
एकातिर लेखनको लोक छ, अर्कोतिर तपाईंको मन–लोक । अझ अर्कोतिर समाजलोक । यी तीन लोकलाई कसरी एक वा फरक रुपमा बुझ्नु हुन्छ ?
यी तिन लोक अलग भइकन पनि बेला बेला एक हुनजान्छ । त्यो पनि खास गरी साहित्य सिर्जनामा । सबै लोकका केही न केही जोडेरै साहित्य सिर्जना हुने हुँदा समग्रमा मलाई एकै लोक जस्तो लाग्छ, जुन लेखनको परिकल्पना र यसको सृष्टिमा छुटाउन सकिन्न ।
के लेखेरै जीवन बिताइदिने हो ?
धेरै वर्ष लेख्न छाडेर म फेरि बामे सर्दैछु । धेरै कुरा सिक्नु छ यस क्षेत्रमा । समयले साथ दिएमा अब भने निरन्तरता जारी राख्ने कोशिसमा छु । यस अर्थमा अब धेरै थोरै लेख्नु जीवनको अभिन्न अंग हुन थालेको छ फेरि एक पटक ।
नयाँ आउने लेखकहरुलाई तपाईंको अनुभवमा आधारित केही टिप्स, सल्लाह र सुझाव ?
मेरो लेखन जीवनको गल्ती नै लेख्न छोड्नु जस्तो लाग्छ मलाई । मेरो लेखक मन दुई दशक कोमामा गएर फर्केकोजस्तो अनभूति हन्छ बेला बेलामा । यस बीचमा धेरै गुमाएँ जस्तो लाग्छ । समय अभावलाई दोष दिएर म आफू आफैबाट भागिरहेकी थिएँ । जब भाग्दा भाग्दै थाकें र फर्केर हेरें, समय मलाई छोडेर धेरै टाढा पुगेको अनुभव भयो । त्यसैले मेरो सल्लाह भन्नु नै लेख्न नछोड्नु हो । समय कम भए थोरै भएपनि लेखेर निरन्तरता दिनु आवश्यक छ । म मेरो लेखन जीवनमा गुमेको समय फर्काउन त सक्दिन तर अब यो गल्ति पुनः गर्न चाहन्न ।