कविता: भेटियो भने सरकार

विजय घिमिरे
धरान, सुनसरी

०५७ सालमा जारी नागरिकता
हातमा बोकेर भेटियो भने सरकार
पाउमा दाम होइन, त्यहि नागरिकता राखेर
ढोग गर्ने तीब्र अभिलाषा मनभरी गुम्साएर
एम्बुलेन्स जस्तो शरिर
रास्ट्रियताको चोटले
घाइते मुटु लिएर दिनभर
एकतमास दौडिरहेछ

संविधानमा लेखिएको
तीन तहको सरकार खोज्न
भेटियो भने सरकार
ए साथी खबर गर है मलाई
१४८४० मा

विकट कर्णालीको साथी भन्दै थियो
तिम्रो सरकार शव मोटर चढ्ने शहरमा
केन्द्रित होला, होली वाइनले पवित्र हुन
विकट दुर्गममा सुत्केरी र बिरामी
डोको चढ्ने गाउँमा के खोज्छौ सरकार

मादकता छताछुल्ल हुने शहरमा
वाइन र होली वाइनको भिडको बीचबाट
अर्को साथी चिच्याउँदै थियो
सरकार डोजर किनेर
ठेक्कापट्टामा मस्त छ
गाउँका कुन कुनामा
बाटोको ट्र्याक खोल्न व्यस्त छ
दुधको साक्षी बिरालो बनेर
बाटो चिल्लो बनाउने योजनाले
बाटो कम
आफ्नो घर गाडी चिल्लो बनाउँदै छ सरकार

केन्द्र र स्थानिय तहमा
मैले नभेटेको सरकार खोज्न आज
प्रदेशको राजधानी आएको छु
तर यहिका साथीहरु भन्दैछन्
उदघाटने र शिलान्यासे सरकार
राजधानीमा कम, गाउँहरुमै बढी भेटिन्छन्
जनतालाई माछा माछा भन्दै भ्यागुता थमाउन
हातमा कैची, कोदालो वा कर्नी बोकेर
कतै उदघाटन वा शिलान्यासमा ब्यस्त होला
तिम्ले खोजेको सरकार

ए साथी फेरि पनि
भेटियो भने सरकार
खबर गर है मलाइ १४८४० मा
म हातमा ०५७ सालमा जारी नागरिकता बोकेर
सरकारको गोडामा राखेर ढोग गर्ने
तीब्र अभिलाषा मनभरी साँचेर
एम्बुलेन्स जस्तो शरिर
रास्ट्रियताको चोटले घाइते मुटु लिएर
एक तमास दौडाइरहेछु
एक तमास दौडैरहेछु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button