नयाँ बर्षमा ‘ऊ र म’
कविता
गौरी देवकोटा
काठमाडौ-१६, बनस्थली
उसलाई उसैसित मतलब छ
मलाई मैसित
उसलाई उसकै सत्तासित मोह छ
मलाई मेरै साँधसित
ऊ आफ्नो वैभवसँग
साटिदिन पनि सक्छ जम्मै माटो
म मेरो अस्तित्वको लागि
सक्दिन एक चिम्टि छोड्न
किनकि, म ज्युँदो छु
र, मसँगै ज्युँदै छ मेरो दायित्व
फरक छ ऊ र ममा ।
उसको मात्र सत्तासित सम्बन्ध छ
मेरो माटोसित ।
ऊ आफ्नो क्षणिकतामा
सारिदिन पनि सक्छ सीमा स्तम्भ
म आफ्नो स्थायित्वको लागि
गडिदिन सक्छु सीमामै
किनकि, उसको लागि
माटोको गाथा
मात्र भर्याङ हो
मेरो निम्ति
ज्युँदो हुनुको जीवन्त प्रमाण
फरक छ ऊ र ममा ।
उसको मात्र सत्तासित सम्बन्ध छ
मेरो माटोसित
ऊ आफ्नो शानको निम्ति
बगाई दिनसक्छ
हज्जारौको रगत
म आफ्नो साँधको निम्ति
चढाउन सक्छु आफैँलाई
किनकि, ऊ मेरो ढाडमा टेक्छ
म माटोमा
र, त माटोमा खन्ती चल्दा
दुख्छ मेरो छाती
ऊ आरामले घुरिरहेछ
दरबारमा झ्यालढोका थुनेर
उस्को निद्रा ब्युँझाउन
चिच्याइरहेछु म बारम्बार
दुनियाँले सुन्ने गरी
फरक छ ऊ र ममा
उसको मात्र सत्तासित सम्बन्ध छ
मेरो साँधसित
उसको मात्र सत्तासित सम्बन्ध
मेरो माटोसित ।