किताबः सिक्दै छु, हिँड्दै छु, गर्दै छु

नेपालनाम्चाको नियमित स्तम्भ किताबमा तनक्खाबारे युवराज नयाँघरेलाई दश प्रश्न ।

नयाँ किताब ‘तनक्खा’का लागि तपाईंलाई बधाई । तर, के साँच्चै तपाईंको पुस्तक बधाई दिन लायक छ ?
लेखकले लेखिसकेपछि नापजाँच गर्ने, परख गर्ने काम पाठकको हो । हरेक लेखकले आफूलाई कम आँकेर लेखेको हुँदैन । मैले नि तनक्खा ख्यालख्यालमा लेखेको होइन । अब स्वीकार, बहिस्कार के गर्ने- जिम्मा पाठकको ।

यो किताबमा के छ र यो विशेष छ ? अर्थात् किन पढ्ने यो किताब ?
बर्मामा रहेका नेपालीको हिजो र आजको संघर्ष, संस्कृति र समयका कथा यहाँ छन् । उनीहरूको योगदानसँगै नेपाली समाजले त्यहाँ आफ्नो सक्रियता र गम्भीर उपस्थिति के कसरी जोगाएको छ भन्ने सुक्ष्म हेराइ पाठकले भेट्ने छन् ।

यो किताबको जन्मनुको कुनै परिवेश, कारण र अर्थ के हो ?
करीब एक महिने घुमाइ, बुझाइ, हेराइ र समाज पढाइपछि यो कृति आएको छ । नेपालीहरुका गाउँ, बस्ती र घर आँगन टेकेर यो कृति मैले लेखेको छु । नेपाली समाजको तिक्खर सुवास यहाँ अनुभव गर्न पाइन्छ ।

प्रारम्भिक प्रतिकृयाहरु के कस्ता आइरहेका छन् ?
असाध्यै मन पराइएको छ । अर्को संस्करणको तयारी अलिक अघि नै भएको हो । तर कोरोना पीडाले सताएको छ ।

यो किताबको नाम कसरी रहन गयो ? नाममा के छ ?
बर्मेलीहरु आफ्नो अनुहारमा एक खालको लेपन लगाउँछन् । त्यसको नाम हो तनक्खा । सुन्दरतासँगै, उनीहरूको साँस्कृतिक, सामाजिक र धार्मिक मनस्थितिको प्रतिविम्बको रूपमा यो शीर्षक नाउँ राखेको हुँ । तनक्खाले समग्र म्यान्मा सम्बोधित हुन्छ ।

यो किताबमार्फत् तपाईं खासमा के भन्दै हुनुहुन्छ ?
बर्मा चिनाउने र त्यहाँ बसोबास गर्ने नेपाली समाजलाई नेपालसँग जोड्ने मेरो चेष्टा हो । किनभने बर्माका धेरै नेपालीमा आफ्नो पुर्खा कहाँबाट आएका थिए भन्ने कुरामा नै अन्योल भएको मैले पाएँ ।

प्रकाशित भइसकेपछि किताबमा के के छुटेछन् जस्तो लाग्यो ?
निकै कुरा छुटेको अनुभव भयो । प्रख्यात नेत्री आङ साङ सुकीको घर हेरे पनि उनीबारे एउटा गहकिलो च्याप्टर लेख्न सकिन्थ्यो । त्यो मैले ख्याल गरिनछु । किनभने सुकीसँगका निकै कुरा मैले त्यहाँ सुन्ने, थाहा पाउने र हेर्ने मौका पाएको थिएँ । उनका बाबुबारे भने लेखेको छु ।

अब अर्को के कस्तो किताब लेख्दै हुनुहुन्छ ?
गएको वर्ष म कर्णाली निकै घुमें । त्यससँगै गाँसिएका अनुभव थुप्रै छन् । त्यहाँको समाजले मन रन्थनाएको छ ।

पछिल्लो समय प्रकाशित तपाईंलाई मन परेका पाँच किताब सम्झनुस्न् ।
मैले पुराना नै बढी पढें । नयाँ किनेर मात्र राखेको छु । हेर्ने मौका मिलेको छैन । ध्रुवचन्द्र गौतमको ‘जेलिएको’, कृष्ण धरावासीको ‘वर्तमान’, डाक्टर सन्दुक रुइतको जीवनी, जीवा लामिछानेको ‘देश देशावर’ र शुभेच्छा घिमिरेको ‘क्यान्सर, करी एन्ड मी’ किनेर मात्रै राखेको छु ।

ती पाँचमध्ये आफ्नो किताबलाई कहाँनेर पाउनु हुन्छ ? नढाँटी भन्नुस्न् ।
म वनफुल हुँ । मेरो सुवासलाई कसैले अत्तर मान्लान्, कसैले नाकै खि-याउने मान्लान् । मैले फुलिदिने हो । मेरो वर्णन म आफै हजार जिब्रा भएको शेष नाग भएर गर्नु उपयुुक्त होइन कि ! सिक्दै छु, हिँड्दै छु, गर्दै छु । जुन दिन निकै जानिसक्छु लेख्न, त्यो दिन मेरो मात्रै दावा रहनेछ— यो छेउमा छु, त्यो छेउमा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button