किताबः …जस्ट किडिङ
नेपालनाम्चाको नियमित स्तम्भ किताबमा पेरिस्कानोमाथि निरु त्रिपाठीलाई दश प्रश्न ।
नयाँ किताब पेरिस्कानो का लागि तपाईलाई बधाई । तर, के साँच्चै तपाईंको पुस्तक बधाई दिन लायक छ ?
धन्यवाद अशोक जी । ढुक्क हुनुस् बधाई र पढ्न दुवै लायक छ । कितावले तपाइँलाई त्यति धेरै निराशा नगर्ला ।
यो किताबमा के छ र यो विशेष छ ? अर्थात किन पढ्ने यो किताब ?
यो किताब लेख्ने मान्छे नै विशेष छ अनि विशेष मान्छेले लेखेको कितावको हरेक पाना, हरेक शब्दहरु विशेष नै विशेष छ । त्यसैले यो विशेषता थाहा पाउन पनि पढ्नुपर्छ हाहाहा… जस्ट किडिङ्ग । वास्तवमा उपन्यासले एउटा नारीको जीवनमा आएको अप्रत्यासिलो परिस्थितीले उनलाई कतिसम्म बोल्ड र आत्माविश्वासी बनाउँछ भनेर उपन्यासले देखाएको छ । मान्छेहरु लड्छन् तर उठ्न छोड्नु हुँदैन । जीवन एकनासको हुँदैन तर पनि आशावादी हुनुपर्छ । प्रेम र आकर्षण भनेको भिन्न भिन्नै कुराहरु हुन् । प्रेमको मृत्यु कहिल्यै हुँदैन, यदि दुईबीचको आत्मा जोडिएको छ भने । सोलमेट जीवनको जुन कालखण्डमा भेटिन सक्छ र पहिलो पटक गरेको माया र भेटेको मान्छे नै पहिलो प्रेम र सोलमेट नहुन सक्छ । प्रवासको जीवन रेखा छलङ्ग पारेको छ । पन्ध्र वर्ष स्वदेश फर्कने वातावरण नहुँदा मानसिक रुपमा कति आघात हुन्छ भन्ने कुरा देखाइएको छ । यस्ता धेरै जीवनहरु बोलेको छ उपन्यासले, एउटा मनुको चरित्रबाट । त्यसैले पनि यी सबै कुरा थाहा पाउन किताब पढ्नुपर्छ ।
यो किताब जन्मनुको कुनै परिवेश, कारण र अर्थ के हो ?
पत्रकारितासँगसँगै म काउन्सिलर पनि हुँ । म जहाँ काम गर्छु विगत ६ वर्षदेखि मैले धेरै सामाजिक विषयवस्तुमा रहेर धेरै मानिसहरुलाई काउन्सिरल सर्भिस दिएको छु । म मान्छेहरुलाई बुझ्न सक्छु, अझ भनौँ उनीहरुलाई मनन गर्छु । हामी आमनेसामने हुँदा मेरो प्रयास यही हुनेछ कि मैले आफूले आफूलाई भन्दा पनि उनीहरुलाई बढी बुझुँ । यस्ता घरायसी भनौ वा, घरेलु वा यस्ता निजि समस्याहरु नेपालमा मात्रै हुन्छ होला जस्तो लाग्थ्यो तर यहाँ आएपछि लाग्यो यस्तो समस्याहरु त झन् यहाँ बढी रहेछ । मान्छेहरु त झन् यहाँ बढी एक्लिदो रहेछन् । नेपालमा भन्दा नेपालीहरुको परिस्थिती यहाँ मैले भिन्न पाएँ । अझ उहाँहरुको जीवन उलझेको पाए । धेरै समस्याहरु केलाउँदै गर्दा एक दिन सोच आयो, यी कुराहरुको बारेमा मैले केही लेख्नुपर्छ । तिनै कथा व्यथाहरुलाई अलि ट्वीस्ट गरेर विभिन्न पात्रहरुबाट प्रेरित भएर किताब जन्माएँ ।
प्रारम्भिक प्रतिकृयाहरु के कस्ता आइरहेका छन् ?
सन्तोषजनक नै छ भन्नु पर्र्यो । प्रवासमा बस्ने मान्छेहरु धेरैले उपन्यासको कथा र पात्रहरुलाई आत्मासाथ गर्न सक्छन् ।
किताबको नाम कसरी रहन गयो ? नाममा के छ ?
कितावको मुख्य पात्रहरु मनु र पेरिस हुन् । पेरिसलाई मनुले पेरिस्कानो भनेर बोलाउँछिन् । यो नामले किन बोलाउँछिन् भन्ने कुराको पनि छुट्टै एउटा कथा छ । यो कथा र रहस्य थाहा पाउन किताव नै पढ्नुपर्छ ।
यो किताबममर्फत तपाईं खासमा के भन्दै हुनुहुन्छ ?
सबैको समय एकनासको हुँदैन । दिन ढलेपछि उदय पनि हुन्छ । समयले हामीलाई विभिन्न ठाउँको परिक्रमा गराइरहेको हुन्छ । त्यो परिक्रमा सधै सुखद मात्रै नहुन सक्छ । सधै इन्जोय मात्रै नहुन सक्छ । गाह्रो साह्रो आउन सक्छ अनि यसको लागि आफू सदैव तयार हुने एउटा सकारात्मक सोच लिएर । अनि यो कितावले प्रेम गर्न पनि सिकाउँछ । व्यक्तिसँग मात्रै होइन एउटा जनावरसँगको आत्मियता र उप्रति कति प्रेम छ भनेर बताउँछ । आकर्षण र प्रेमबीचको अन्तर देखाएको छ । हिजो महत्व लागेको मान्छे आज महत्व लागेको छैन र हिजो कुनै सरोकार नै नभएको व्यक्ति आज सरोकार हुँदैन भनेर पनि देखाइरहेको छ । एउटा विशिष्ठ प्रेमको पनि कथा भन्छ उपन्यासले ।
प्रकाशित भइसकेपछि के के छुटेछन् जस्तो लाग्यो ?
लाग्यो नि । धेरै कुरामा, संवादमा र परिकल्पनामा पनि अझ काम गर्न सकिन्थ्यो कि भनेर लाग्यो ।
अब अर्को के कस्तो किताब लेख्दै हुनुहुन्छ ?
एउटा नयाँ कथाको कन्सेप्टमा काम गर्दैछु । अहिले यो कथा परिकल्पना र रिर्सचको फेजमा छ । सम्भवत यही वर्ष कपीमा लेख्न शुरु गर्छु ।
पछिल्लो समय प्रकाशित तपाईंलाई मन परेका पाँच किताब सम्झनुस्न् ।
समय र कार्यव्यस्तताले गर्दा मैले धेरै किताब पढ्न भ्याएको छैन । पढ्न मन लागेको किताब र किनेर राखेको किताबहरु टन्नै थन्किरहेका छन्, पुरानोदेखि नयाँसम्म । तर, मुश्किकले तीनवटा जति पढेँ होला । मैले सन्जीव उप्रेतीको हंस पढेँ । सरस्वती प्रतिक्षाको नथिया पढेँ । निलम निहारिकाको योगमाया पढेँ । मनदनकृष्णको महको म पढेँ । यो बीचमा अमर न्यौपानेको सेतो धर्ती दोर्याएर पढेँ । मनिषा कोइरालाको जिजीविषा पढ्ने लिस्टमा छ । पढ्न समय निकाल्नै गाह्रो भइरहेको छ र एकदिन कतै रिर्सोटटमा गएर शान्त मन लिएर यो किताब एकै दिनमा भ्याउन मन छ । अनि आजकाल म पढ्नभन्दा पनि किताब सुनेको हुन्छु अनि कितावमा आधा फिल्म पनि हेरिरहेको हुन्छु । अनि वायोपिक पनि टन्नै हेरिरहेको छु ।
यीमध्ये आफ्नो किताबलाई कहाँनेर पाउनु हुन्छ ? नढाँटी भन्नुस्न् ।
यी किताबहरु भन्दा मेरो किताब बेग्लै धारमा छ । मेरो किताबलाई म यी किताहरुसँग दाँज्दिन । मेरो किताबको आफ्नै विशेषता छ । आफ्नै पात्रहरु छन् । आफ्नै कथाहरु छन् । पाउँछु त लेखकहरुबीचमा उत्पन्न भएको त्यो भावना । कथा र पात्रहरुलाई न्याय गर्ने त्यो प्रवल इच्छा । यो समानताचाँहि पेरिस्कानोकी लेखिका र अरु लेखकहरुबीच पनि छ ।