किताबः सत्यवतीपछि केही पाइप लाइनमा छन्

किताबी स्तम्भ ‘किताब’का लागि १० प्रश्नमा प्रकाशनको मुखमै रहेको सत्यवतीमाथि कमल रिजाल

नयाँ किताब सत्यवतीका लागि बधाई तर के किताब साँच्चै बधाई दिन लायक छ ?
यो पाठकहरूले भन्ने कुरा हो, यहाँहरूले भन्ने कुरा हो, अरूले भन्ने कुरा हो । आफूले आफैँलाई बधाइ दिन लायक छु, दिनुस् भन्न मिल्दैन, भनिँदैन पनि । अन्यथा मपाईँवाद हावी हुन्छ । अनि जहाँ यस्तो हुन्छ त्यहाँ पुस्तक साँच्चै वधाइ दिन लायक भए पनि वधाइको पात्र हुन सक्दैन, वधाइको कुनै अर्थ रहन्न । त्यसैले यो कुरा यहाँहरूकै साथमा सुरक्षित गर्न चाहन्छु ।

के छ त्यस्तो विशेष ? अर्थात् किन पढ्ने यो किताब ?
विशेष नै नभनौँ, होला नहोला, भएछ भने, पाठकले त्यस्तो देखेछन् त्यो पनि ठीकै छ । आफैँले भन्नुपर्दा महाभारतको कथामा आधारित दार्शनिक प्रकृतिको उपन्यास हो यो । तर, यहाँ महाभारतको कथा मात्र छैन, वेद, पुराण, उपनिषद्, गीता, रामायण, महाभारत आदि वैदिक दर्शन साहित्यले गर्न हुन्छ भनेको काम र गर्न हुन्न भनेको कामको दिग्दर्शन गर्दैै गर्न हुन्न भनेको काम गर्दाको नतीजा देखाउने प्रयाससमेत गरिएको छ ।

यो किताब जन्मनुको परिवेश, कारण र अर्थ के हो ?
धेरै पहिलेदेखि नै वैदिक सनातन धर्म, संस्कृति, दर्शन र चिन्तनको विशेषता केलाएर उपन्यास लेख्न पाए हुन्थ्यो जस्तो लाग्दै आएको थियो । यद्यपि मेरा पूर्व उपन्यास सुकर्म, पृथा र दृष्टिभ्रमको पृष्ठभूमि यस्तै किसिमका छन् तर तिनका उद्देश्य अर्कै थिए तर सत्यवतीको भने उद्देश्य नै त्यस्तै छन् । अथवा यसलाई यसरी भनौँ तिनै पूर्व सोच र चिन्तनका मूर्त रूप हो सत्यवती । यसमा पूर्वीय दर्शनको सार, गुह्य गुदी र रहश्यलाई पिँधैसम्म पुगेर उधिन्ने प्रयास गरिएको मात्र छैन त्यसैको नाममा पलाएको सामाजिक विकृति र विसङ्गतिका ऐँजेरुलाई निर्ममतापूर्वक छिमल्ने प्रयाससमेत गरिएको छ ।

प्रारम्भिक प्रतिक्रिया केकस्ता आइरहेका छन् ?
उपन्यास प्रकाशित भइसकेको छैन । चाडै नै आउँछ होला । प्रतिक्रिया वा पाठकीय धारणा आउने भनेको किताब प्रकाशित भइसकेपछि नै हो । हाललाई आउने यस्तै बधाइ र शुभकामना नै हुन्, जुन सोचेभन्दा बढी नै पाएको छु र यसप्रति आभारी पनि छु ।

किताबको नाम कसरी रहन गयो वा नाममा के छ ?
रूप पक्षको कुरा गर्दा नाममा खासै त्यस्तो केही हुँदैन । सम्बोधनमा मात्र सीमित हुने हो यो । कसैलाई चिनाउन वा बोलाउन एउटा नाम चाहियो कुनै नाम दिइयो, वश सकियो तर सारको कुरा गर्दा नाम नै सबैथोक हो, नाममा नै सबैथोक रहेको हुन्छ र सत्यवतीलाई पनि यसै अर्थमा बुझिदिन आग्रह गर्छु । उपन्यासको गर्भाधान व्यास र सत्यवतीको संवादबाट भएको छ, जो महाभारतको मूल पात्र मानिन्छन् । सत्यवतीले मूलाधारको काम गरेकी छन् व्यासजीले त्यसको प्रचार गरेका छन् । सत्यवतीले व्यासजीलाई किन विधवा बुहारी गमन गर्न वाध्य पारिन्, यस बीचमा उनीहरूबीच केकस्ता संवाद भए र नतीजा के आयो भन्ने नै उपन्यासको विषयवस्तु हुन् । यसैको आधारमा उपन्यासको नाम सत्यवती रहेको हो ।

खासमा यो किताबमार्फत् तपाईँ के भन्न खोज्दै हुनुहुन्छ ?
आजको मानव समाज विकृति र विसङ्गतिले ग्रन्थ छ । धार्मिक बिकृति छ, सामाजिक विकृति छ, सांस्कृतिक विकृति छ, संस्कारगत विकृति छ, सबैभन्दा बढी राजनीतिक विकृति छ । यस्तो कुनै देवीदेवताका कारण भएका पनि होइनन्, भूतप्रेतले गराएका पनि होइनन् । मानिसकै कारण यस्तो भएको हो, मान्छेले मान्छेको कर्तव्य र दायित्वलाई बिर्सँदा नै यस्तो भएको हो । उपन्यासले तिनै विकृति, बिकार र विसङ्गति केलाएर सन्मार्गमा डो¥याउन खोजिएको छ । सम्भव हुन्छ, हुँदैन छुट्टै कुरा हो तर सक्दो प्रयास भने गर्नैपर्छ । यसलाई पनि यसै अर्थमा बुझ्नु मनासिव हुनेछ ।

किताबमा कुनै कुरा छुटेजस्ता पनि लागेका छन् कि ?
अहिले नै त त्यस्तो छैन । यसबारे जानेबुझेजति सबै खन्याएको छु, पोखेको छु । खासमा भन्नुपर्दा हाललाई रित्तो छु । बाँकी पाठक प्रतिक्रियापछि भन्न सकिने कुरा हो ।

अब अर्को केकस्तो किताब लेख्दै हुनुहुन्छ ?
केही किताब पाइप लाइनमा छन् । कहिले आउँछन् भन्न सकिन्न । किताबको नाम चाहिँ अहिले नै नभनौँ । आएपछि थाहा पाइहाल्नुहुनेछ । अहिलेलाई यति भनौँ अध्यात्मदर्शनको विद्यार्थी हुँ । यसैले जन्मायो, हुर्कायो । आउने किताब पनि यसै क्षेत्रकै हुनेछन् । पूर्र्व प्रकाशित एउटा कृति दर्शन विषयक पीएचडी पाठ्यक्रममा छनोट भएको खबर पाएको छु । यसबाट आफैँसितसमेत थप प्रतिस्पर्धा गर्नुपर्ने देखेको छु ।

हालै प्रकाशित आफूलाई मन पर्ने कुनै पाँच किताबको नाम दिन सक्नुहुन्छ ?
किताब सबै मन पर्छन् । यो, ऊ भन्ने हुँदैन, केही न केही नयाँ कुरा सबैले दिएका हुन्छन् । तथापि पाँचवटाको नाम लिनुपर्दा स्वदेशी लेखकका किताबमा हरि अधिकारीको गद्य सङ्कलन, केदार भट्टराईको नेपाल विद्या, डा. मदन भट्टराईको परराष्ट्रका प्रशासक र विदेशी लेखकका किताबमा आचार्य चतुर्सेनको वैशालीको नगरबधू र राहुल साङ्कृत्यायनको भोल्गादेखि गङ्गसम्मका किताब बढी मन परेका किताब हुन् । यद्यपि विदेशी लेखकका उक्त दुई निकै पहिले लेखिएका किताब हुन् तर नेपाली अनुवाद भने हालै प्रकाशनमा आएको हो ।

यीमध्ये आफ्नो किताबलाई कहाँ पाउनुहुन्छ न ढाँटी भन्नुस् त ?
कहाँ पाएको छु भन्ने खोइ ? यसको उत्तर पनि पाठकलाई नै छाडी दिनु उत्तम हुन्छ जस्तो लाग्छ । आफैँले भन्नुपर्दा यति नै भन्न सक्छु सबै भिन्न विधाका पुस्तक हुन् । सबै आ–आफ्ना स्थानमा विशेष छन्, सबैका आ–आफ्नै विशेषता पनि छन् । अहिलेसम्म महाभारतका कथामा आधारित सयौँ किताब लेखिसकिएका होलान्, उपन्यासकै कुरा गर्दा पनि दर्जनौँ हुन सक्छन् । तिनमा सत्यवती नितान्त फरक स्वादको हो भन्ने मेरो ठम्याइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button