महोदय ! म अपराधी हुँ

कविता

किशन सार्की
दार्जिलिङ, भारत ।

हजुर अपराध सोध्नु हुन्छ
मैले सपनाको निर्मम हत्या गरेर
यथार्थको भित्ता सजाएको हुँ
हजुर यो शरीरमा चोट खोज्नु हुन्छ
हेर्नुहोस पीड़ा खप्न नसकेर
सान्त्वनाको ताली बजाएको हुँ ।

पागलहरुको वस्तीमा सज्जन हुने जस्तो अपराध
हजुर सोच्नसम्म सक्नु हुन्न
म सजायँबाट बाँच्न
पागलको अभिनयसम्म गर्न सकिरहेको छैन ।

महोदय ! मलाई यति ठूलो सजायँ दिनुहोस्
उप्रान्त कुनै पागलले सज्जन बन्ने धृष्टता नगरोस्
निमुखाहरूको निम्ति निस्कने आवाजमा
सरकारी बन्धिसको ताल्चा लगायोस्
गरीबको निम्ति उठ्ने हातहरूमा
कानुनी सांग्लोको प्रतिबन्ध कसियोस् ।

महोदय ! म अपराधी हुँ
मैले पागलहरूको वस्तीमा सज्जन बन्ने धृष्टता गरेँ
निमुखाहरूको वस्तीमा बोल्ने पाप गरेँ
भीडभन्दा छुटै बस्ने अपराध गरेँ ।

तमासा हेर्नेहरूलाई त
विपनाको बजार पनि रंगीन छ
मैले रंगीन विपनालाइ धितो राखेर
वेरंग सपना किन्ने चाहेँ
हजूर अपराध सोध्नु हुन्छ ?
पागलहरुको वस्तीमा सज्जन हुने जस्तो ठूलो
अपराध के नै हुन सक्छ र ?


(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । लेख्नुस् कविता, कथा वा निबन्ध र पठाउनुस् नेपालनाम्चाको इमेल 
nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button