किरणको क्यान्टोमेन्ट

किताब टिप्पणी

कल्पना खरेल

चिटिक्क परेको रातो मिठो रङ्गको पुस्तक । क्यानटोमेन्ट नामले नै कुतूहलता । पढौँ पढौँ लाग्यो । यस सङ्ग्रहमा बीसवटा कथा छन् । सबै कथा आआफ्नो ठाउँमा सबल र पृथक छन् ।

पहिलो विभ्रम कथा पढ्न थालेँ । सलल बगेको । छोटो वाक्यमा प्रस्तुति । अति मिठासपूर्ण । सहजै बुझिन सकिने सरल भाषा । कथाको पात्र र परिवेशले तान्दै गयो । म कथाभित्र डुब्दै गएँ । विभ्रम कथाले अविवाहित महिलाको यौनमनोविज्ञानलाई राम्रोसँग स्पष्ट पारेको छ । अविवाहित रहँदाका यौनकुण्ठा र एक्लोपनलाई राम्रोसँग छर्लंग पार्नुभएको छ कथाकारले । अविवाहित महिला परपुरुषसँग आकर्षित भएको देखिन्छ । समय आउँछ पर्खिंदैन भने जस्तै उमेरमा विवाह नगरेपछि बुढीकन्या बस्नुपरेको यथार्थ चित्रण हो विभ्रम । मन परेको केटासँग सम्बन्ध राख्न पनि समाजको डर मान्छिन् पात्रले । मनको लड्डु घिउसँग खाएकी अविवाहित महिलाले । धेरै वर्षपश्चात उही मन लोभिएको पुरुष पात्रसँग भेट हुँदा उनको उमेर ढल्किसकेको थियो । अनुहार चाउरी परिसकेको थियो । उनको मनको हिरोले आफैँसँग रहेकी तरुनी युवतीलाई स्वीकार गरेर दिव्यदृष्टि फाल्यो । उनलाई चाहिँ तिरस्कार गर्यो । त्यसपश्चात् अविवाहित शिक्षिका छाँगाबाट झरिन् । व्याकुलताले उनका आँसु झरे ।

कथा योगमायाको सन्दर्भ : श्रीमतीको प्रगतिसँग जलन भएको छ श्रीमान । बैंकको प्रबन्धक पदमा श्रीमतीको प्रमोसन हुँदा श्रीमानका मनमा आगो बलेको देखिन्छ । विदेश गएर आएकी श्रीमतीलाई रामले सीतालाई अग्निपरीक्षा लिएको जस्तै यो कथाको पात्रले श्रीमतीलाई मानसिक पीडा दिएको छ । योगमाया कथा पितृसत्तात्मक सोचको पराकाष्ठा हो । पुरुषप्रधान समाजको दयनीय कालो दृष्टिकोण हो । कथा पारिजातको सन्दर्भ स् कुनै व्यक्तिले कुनै कुराको हृदयदेखिको नै स्वीकार गर्छ । उसलाई उचनीचको विभेद हुँदैन । त्यसैमा रम्छ । त्यही कुरो क्षणिक भए पनि आदर्श बन्छ । अन्य कुरा गौण बन्दछन् । यहाँसम्म कि मूल्य र मान्यता धमिरा लाग्न थाल्छन् । पारिजात कथाले प्रस्टै पारेको छ । जस्तै मानिसलाई जुन कुराको लत बस्छ त्यही अति उत्तम र मिठासपूर्ण रहन्छ । कुलत पनि राम्रो लाग्दै जान्छ । कथा अनुसन्धानमा सपना देखेको आधारमा विज्ञानको आविष्कार गरेर वैज्ञानिक भएको प्रस्ट हुन्छ ।

कथा संन्यासको सन्दर्भ : कथाका पात्र धनाढ्य घरका दीनानाथ सधैँ मधुशाला धाउँथे । उनी अत्यधिक मदिराको लतमा थिए । घरमा श्रीमतीले परिवारको जिम्मेवारीको कुरा गरेपछि ठाकठुक झगडा परेर उनी घरबाट निस्किए । कहाँ बेपत्ता भए । कुनै मठ मन्दिरमा पुगे ! संन्यास लिए । मठमन्दिर तीर्थस्थलमा पनि विकृतिले गाँजेको देखेपछि पुनः कपडा फेरेर भागे । आफ्नै गृहथजीवनमा फर्किए ।

कथा क्यान्टोनमेन्टको सन्दर्भ : सशस्त्र द्वन्द्वकालदेखि बाह्रबुँदे सहमतिलाई यथार्थ चित्रण गरेको छ । बाह्रबुँदे सहमतिपश्चात विद्रोही पक्षका सेनाहरुलाई व्यवस्थापन गरियो । क्यान्टोनमेन्ट खाली भयो । त्यसपश्चात प्रहरी प्रशासन राखियो । त्यो एकान्त क्यान्टोनमेन्टमा गोठाली घाँसदाउरा गर्ने केटीहरुलाई विवाह गर्ने प्रलोभनमा हप्काएर दप्काएर प्रेमको नाटक गरेर फौजीहरुले यौनशोषण गरे ! पछिपछि आफैँ पनि केटीहरु धाउन लागे । विद्रोही पक्षका घाइते कति दिनदेखि भोकै लडिरहेका रहेछन् । क्यान्टोंमेन्टमा राखेर खानपिन गराएर प्रहरीले नै रेखदेख गरे । ती बेहोस लडाकु घाइते होसमा आए । सहमतिपश्चात धेरै सरकार र सिंहासनमा पुगे । ती घाइते मूर्च्छा परेर लडिरहे ।

क्यान्टोनमेन्टकी लेखिका किरण आचार्य आफैँ पनि शिक्षाक्षेत्रको चम्किलो तारा हुनुहुन्छ । उहाँले कैयौँको जीवनमा परिवर्तन ल्याउनुभयो । उहाँको शिक्षाक्षेत्रको योगदान अतुलनीय छ । उहाँको पूर्वीय दर्शनको अध्ययन र अनुसन्धानमा राम्रो दख्खल छ । यस्तै समाज परिवर्तन गर्ने खालका अरु कृतिहरु पढ्न पाइयोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button