बिचरी ! नभन मलाई

कविता

क्रान्ति पराजुली

आंशिक अनुहार तेजावले जलाउँछ नरपिचास
साहसले मुस्कुराउन छोड्दिनन् मुस्कान यहाँ
आत्मसम्मान र पवित्रतामा प्रश्न गरिरहन्छ समाज
स्वाभिमानको सपना देख्न छोड्दिनन् सपना यहाँ
म पनि यही देशकी एक छोरी हुँ
म पनि यही देशकी एक नारी हुँ
म पनि यही देशकी एक आमा हुँ ।

कोमलताको उदाहरण हुँ
अबला नभन मलाई
आफ्नै सक्षमताले सवल छु
कायर नभन मलाई
कृताक्षी, उर्वसी र मेनकाहरुको सुन्दरतामा मात्र नखोज
कालीको क्रोध र शक्तिमा तुलना गर मलाई
हे, यौन पिपासु, तेजाव आक्रमणकारीहरु हो
नारीहरुमाथि कुनै पनि हिंसा गर्नु पहिले
सम्झनु
महिषासुरलाई वध गर्न सक्ने त्यो शक्ति, साहस र हिम्मतलाई
अनि सलाम गर त्यो अदम्य साहसलाई ।

नारी सुन्दरतामा लठ्ठिएर आफ्नो धरातल बिर्सने
विश्वामित्रहरु हो,
शारदाको बीणाको धुनमा खोज नारीलाई
अनुसियाले तीनै लोकमा छर्ने प्रकाशमा खोज नारीलाई
सहनशीलताको आकाशमा पहिचानको दृष्टिले हेर नारीलाई
मदर टेरेसाको दया, माया र सद्भावमा
बाआमाको दुःख बेदना र पीडाहरुमा
अवश्य पाउने छौ छोरीलाई
कोमलताको उदाहरण हुँ
अवला नभन मलाई
आफ्नै सक्षमताले सवल छु
बिचरी नभन मलाई ।


(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । लेख्नुस् कविता, कथा वा निबन्ध र पठाउनुस् नेपालनाम्चाको इमेल 
nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button