‘काँचो कागज’बारे पाकेको कुरा

उनी मुलतः कविता र नाटक लेख्ने मान्छे । उपन्यास लेखुँलाजस्तो उनलाई लागेको थिएन । हिडिरहेको बाटो भन्दा अलि फरक बाटो हिंड्न मन लाग्दा ‘काँचो कागज’ जन्मियो । झट्ट हेर्दा ‘काँचो कागज’प्रेम र आशक्तिको कथा देखिन्छ । ‘गहिरिएर हेर्दा भित्र आध्यात्म र जीवन दर्शन’, उनले भने ।
उपन्यास बजारमा छ । उपन्यासबारे राम्रा प्रतिक्रियाहरु आइरहेकोले उनी खुशी छन् । उनै ‘खुश’ कवि, नाटककार र पछिल्लो समय उपन्यासकार भएका लेखक गोपी सापकोटासँग नेपालनाम्चाको काँचो कागजकेन्द्रीत कुरा ।

किन र केका लागि ‘काँचो कागज’ लेख्नु भयो ?

म मुलतः कविता र नाटक लेख्ने मान्छे हुँ । उपन्यास लेखुँलाजस्तो लागेको थिएन । तर कहिलेकाहीं आफू हिडिरहेको बाटो भन्दा अलि फरक बाटो हिंड्न मन लाग्दो रहेछ । त्यही फरक बाटो हिंड्ने क्रममा ‘काँचो कागज’ जन्मिएको हो । फरक बाटो हिंड्दा दृश्य पनि फरक देखिंदो रहेछ । नयाँ कुरा देखिंदो रहेछ । तिनै नयाँ कुराहरुलाई उपन्यासमा प्रस्तुत गर्न मन लागेकोले ‘काँचो कागज’ लेखेको हुँ ।

‘काँचो कागज’मा के छ ?

जसरी हामी हिडिंसकेको बाटो फर्केर हेर्दा रमाइलो लाग्छ, त्यसरी नै कहिलेकाहीं आफैले लेखेको कुरा फर्केर हेर्दा रमाइलो लाग्दो रहेछ । ‘काँचो कागज’लाई फर्केर हेर्दा पनि रमाइलो लागेको छ । बाहिरबाट हेर्दा यो प्रेम र आशक्तिको कथा देखिन्छ, गहिरिएर हेर्दा भने यो भित्र आध्यात्म र जीवन दर्शन छ ।

कवि भएर चिनिनुमा मजा छ कि उपन्यासकार ?

त्यसो त म पहिलेदेखि नै कवि हुँ । उपन्यासकार त भरखरै बनेको हुँ । म लेखक बनेर चिनिएँ भने मेरा कवि, नाटककार र उपन्यासकारका परिचयहरु सबै एकै ठाउँमा मिसिन्छन् होला ।

लेखकहरु आममानिसभन्दा फरक हुन्छन् वा उनीहरु पनि आम मानिसजस्तै हुन् ?

लेखकहरु आम मानिसजस्तै हुन् तर केही कुरा उनीहरुले आम मानिसले भन्दा अलि फरक तरिकाले सोच्छन् । त्यही फरक तरिकाको सोचले नै उनीहरुलाई लेखक बनाउँछ ।

उपन्यासको संसार कस्तो हुन्छ ?

वास्तविक संसार र उपन्यासको संसार उस्तै देखिए पनि तिनीहरु फरक हुन्छन् । उपन्यासको संसार काल्पनिक संसार हो । त्यहाँ वास्तविक संसारमा घट्ने र घट्न सक्ने कथाहरु समेटिएका हुन्छन् । कहिलेकांही वास्तविक संसारमा हुन नसक्ने कुराहरु पनि उपन्यासको संसारमा देख्न सकिन्छ, लेख्न सकिन्छ । वास्तविक संसारमा धेरै कुराहरु मिलेका हुँदैनन् तर उपन्यासमा तिनै नमिलेका कुरालाई मिलाएर लेख्नु पर्ने हुन्छ ।

अन्त्यमा थप केही ?

उपन्यास बजारमा छ । उपन्यासको बारेमा राम्रा प्रतिक्रियाहरु आइरहेका छन् । खुशी छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button