कविता: भन्ज्याङको बूढो रूखमा चट्याङ परेपछि हराएछ इन्द्रेणीको आधी फक्लेटो


ध्रुव लम्साल ।

मलामी पाइन छाडेपछि गाउँमा
अरब जान्छु भन्दै
यमराजले पनि निवेदन हालेको छ
एमआरपीका लागि

भन्ज्याङको बूढो रूखमा
चट्याङ परेपछि
हराएछ इन्द्रेणीको आधी फक्लेटो
रातभरि रोई रानीचरी
गीत गाउन पाइनँ भनेर

नारायणहिटीको पश्चिम गेटमा
लाइन बसेको सपना देख्ने तन्नेरीहरू
एमआरपीसँगै मृत्युपत्रमा सहीछाप गर्न
तँछाड्–मछाड् गरिरहेका छन् सहरमा
र दिउँसै चकमन्न छ गाउँ

बूढा घरहरूले गाउँ कुर्छु भनेको
चित्त बुझेको छैन माकुरोलाई
शुक्र नउदाउँदै जाल बुनी भ्याएछन्
ढोका छेक्ने गरी

आफैं जेलिन सक्ने
जाल बुन्न मरिहत्ते गरेका
माकुराहरूको भीड देखेकी गौंथलीले
सुरक्षा खतरा होला कि भनेर
गुँड बनाउने आँट गरिन दलिनमा
घोप्टेभीरमै चल्ला कोरलेकी उसले
खुसुक्क भनी काशी जानुअघि—
कहिल्यै नजानू मान्छे नभएको घरमा
फेरि बम पड्किन सक्छ

बारुदको गन्ध ठ्वास्स आउँछ
चित्रेडाँडामा जात्रा लाग्दैन अचेल
उहिल्यै पड्केको बमको कर्कश आवाजले
बेलाबेला अत्याइरहन्छ
गोठालाहरूलाई

युद्धमा बाउ–आमा गुमाएका केटोकेटीहरू
ढुक्क छैनन् नयाँ संविधान बन्नेमा
फेरि युद्ध नगरी हुन्न पो भन्छन्
हरेक रात सपनामा बर्बराउँछन्
सरकारी राहतका लागि
दस वर्षदेखि लाइन बसेका घाइते योद्धाहरू
र, भन्दै छन्
सन्चो भइसकेको छैन गाउँलाई

कृपया ! अहिल्यै नआउनू
यमराजको भिसा लागिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button