रोहिंग्याको पीडाले एकदिन तिमीलाई गलाउनेछ, सपनाले सराप्नेछ
कविता
साशा शर्मिला
उनीहरुसँग आस्था छ
दया छ
भक्तिभाव छ
भगवान छ ।
तिम्रोजस्तो बारुद, बम बनाउने बुद्धि नहोला,
फरक यत्ति हो
तर मातृभूमिप्रति निष्कपट ममता छ ।
हेर, भौतारिएका छन् यहाँवहाँ
छानोमानो र देश छैन ।
शरणार्थी शिविरको निस्तो भातले आँत अघाउँदैन
घरमै भोको बस्दा बरु खुशी थिए रोहिंग्याहरु ।
आस्थाका नामका एक्लिएकाहरुको कुरा गर्छु आज
तिम्ले झैँ अस्तित्व मेटाउने मन्त्र जप्दैनन् होला
फरक यत्ति हो
तर उनीहरुसँग अटल विश्वास छ
सत्य चिच्याउने आँखा छन् ।
तिमी हौ घरबारबिहीन बनाउने
आफन्तमाथि गोली ठोक्ने
अनि धर्मका नाममा दियो जलाउने
यता मूर्तिमा धुप बाली
उता अर्काको छाप्रो डढाउने
ज्यूँदाको सर्वस्व अनि मरेकाको आत्मा डढाउने
यत्रो अभिमान ?
यत्रो अधिकार कस्ले दियो तिमीलाई ?
आफूलाई बुद्ध सिद्ध गर्न अर्काको जीवन नाश गर्ने ?
कहाँ सिक्यौ यो अपराध ?
आफ्नो जस्तै अर्काको पनि पीडा हो, बाँच्न देऊ ।
फरक होला देश परिवेश, तर मानवता उही हो ।
धर्म बेग्लै होला तर आस्था उही हो ।
जीवन एउटै हो,
भोगाई फरक होला,
तर सिकाई उही हो ।
रोहिंग्याहरुको पीडाले एकदिन तिमीलाई गलाउनेछ
सपनाले सराप्नेछ, उनीहरुको ।
गिज्याउनेछ, तर्साउनेछ, तिम्रो निर्लज्ज सिंहासनलाई,
मानिसको आस्थामाथिको प्रहार जब भारी पर्नेछ तिम्रो सत्तालाई,
त्यतिबेला कस्को शरणमा पर्छौ होला ?
मलाई लाग्छ तिम्रा आफ्नै चरण, तिमीलाई शरण दिन हिचकिचाउनेछन् ।